१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भूकम्पपीडितलाई जापानकाे पाँच करोड

काठमाडौं – जापानले सिन्धुपाल्चोकका भूकम्पपीडितलाई कृषिमार्फत जीविकोपार्जनमा सहयोग पुर्‍याउन चार लाख ३४ हजार अमेरिकी डलर (करिब चार करोड ९० लाख रुपैयाँ) सहयोग गर्ने भएको छ।

नेपालका लागि जापानी राजदूत मसामिची साइगोले उक्त सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। केही दिनअघि जापानी दूतावासमा आयोजित कार्यक्रममा जापान एसियन एसोसिएसन र एसियन फ्रेन्डसिप सोसाइटी (जेएएफएस)का नेपाल प्रतिनिधि नोरीको असुता पनि उपस्थित थिइन्। उक्त सहयोग कृषि उत्पादनमार्फत भूकम्पपीडितको जीविकोपार्जनका लागि सञ्चालन हुने कार्यक्रममा खर्च गरिनेछ।

जापानले सन् २०१८ को ‘जापानी एनजिओ प्रोजेक्ट स्किम’ अन्तर्गत अनुदान सहायताको रुपमा उक्त सहयोग उपब्ध गराइएको जापानी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उक्त कार्यक्रम ओसाकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था जापान एसियन एसोसिएसनमार्फत कार्यान्वयनमा ल्याइने जानकारी दिइएको छ। जसमा स्थानीय गैरसरकारी संस्था एसियन फ्रेन्डसिप सोसाइटीले साझेदारको रुपमा काम गर्नेछ।

सिँचाइ प्रणाली निर्माण र स्थानीय कृषकलाई त्यसको प्रयोगसम्बन्धी तालिम प्रदान गर्न कार्यक्रम केन्द्रित हुने विज्ञप्तिमा उल्लेख छ। साथै, जेएएफएसले कृषि सहकारी स्थापनाका लागिसमेत सहयोग गर्नेछ। त्यसबाट स्थानीयलाई सामूहिक रुपमा काम गरी उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो कार्यक्रम कार्यान्वयनमा आएपछि करिब एक हजार घरलाई दैनिक प्रयोग र कृषिमा प्रयोग गर्न पर्याप्त पानी उपलब्ध हुने बताइएको छ। यसबाट इन्द्रावती गाउँपालिकाका करिब पाँच हजार जना स्थानीयवासी लाभान्वित हुनेछन्।

प्रकाशित: २० फाल्गुन २०७५ ०२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App