८ वैशाख २०८१ शनिबार
अर्थ

उखु खेतीको क्षेत्रफल बढ्यो, उत्पादन घट्यो

खडेरी र काट्न ढिलाइ हुँदा पात सुकेका उखु। तस्बिरः टंक/नागरिक

सर्लाही – यो वर्ष उखु खेतीको क्षेत्रफल बढे पनि उत्पादन घट्ने भएको छ। जिल्लामा गत वर्षभन्दा उखु खेतीको क्षेत्रफल २५ प्रतिशतले बढेको छ, तर लामो समय चलेको खडेरीले उत्पादन घट्ने अनुमान गरिएको हो।

इन्दुशंकर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले गत वर्षको तुलनामा यो वर्ष उखु उत्पादन घट्ने अनुमान रहेको बताए। भदौदेखि आकाशे पानी नपरेका कारण यसवर्ष उखु उत्पादनमा निकै कमी आउने उनको भनाइ छ। ‘६ महिनादेखि पानी नपरेका कारण उखुले पर्याप्त गाँज हाल्न, अग्लो हुन सकेन र मोटाउन पनि सकेन,’ रजकले भने, ‘त्यसैले खेतीको क्षेत्रफल बढे पनि उत्पादनमा निकै कमी आउने भएको हो।’

नेपाल उखु उत्पादक महासंघका केन्द्रीय अध्यक्ष कपिलमुनी मैनालीले पनि यो वर्ष उखु उत्पादन घट्ने बताए । ‘भदौ यता पानी नपरेकाले उखु बढ्न सकेन,’ अध्यक्ष मैनालीले भने, ‘त्यसैले उखुको उत्पादन घट्ने भएको छ।’ समयमा पानी नपरेर प्रकृतिबाट ठगिएका किसान यस वर्ष सरकारको उदासीनता र उद्योगपतिको शोषणबाट पनि मारमा परेका छन्। ‘साउन–भदौतिर युरिया, डिएपी लगायत हाहाकार हुँदा किसानले मलसमेत हाल्न पाएनन्,’ अध्यक्ष मैनालीले गुनासो गरे, ‘यता सरकारले समयमै उखुको मूल्य ततोक्दा उद्योग चल्न निकै ढिलाइ भयो र उखु सुकेर तौल घट्यो।’

गत वर्ष हरिवनको इन्दुशंकर र पश्चिम धनकौलको अन्नपूर्ण उद्योग पुस पहिलो साताबाटै सञ्चालनमा आएका थिए। मूल्य किचलोका कारण मंसिरमै चल्नुपर्ने भएपनि यो वर्ष इन्दुशंकर माघ पहिलो साताबाट सञ्चालनमा आयो। अन्नपूर्ण  अहिलेसम्म चल्ने छाँटकाँट देखिदैन। जसले गर्दा उखु खेतमै सुकेर सुठ्ठा भइसकेको किसानले गुनासो गरेका छन्।

बागमती सिँचाइ आयोजना, मनुष्मारा सिँचाइ आयोजना लगायतबाट जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा सिँचाइको व्यवस्था गरिएको छ। तर, नहरको उचित मर्मत संभार नहुँदा र सिँचाइ आयोजनाले उचित समयमा पानी छाड्न नसक्दा किसानले उखुमा पानी पठाउन पाएका छैनन्। जिल्लाको पूर्वी दक्षिण क्षेत्र सिँचाइ आयोजनाविहीन छ। ‘भएको सिँचाइ आयोजनाबाट पानीको उचित प्रयोग गर्नसमेत दक्षिणी क्षेत्रका किसानले पाउँदैनन्,’ महासंघ अध्यक्ष मैनालीले भने, ‘ आकाशे पानीसमेत नपरेपछि उखु सुकेर किसानले निकै क्षति बेहोर्नुपरेको छ।’

गत वर्ष इन्दुशंकरले ३९ लाख ९९ हजार एक सय २२ क्विन्टल तथा अन्नपूर्णले १२ लाख ८४ हजार पाँच सय ६२ क्विन्टल उखु क्रसिङ गरेको थियो। यस वर्ष पनि इन्दुशंकरले ४० लाख क्विन्टल हाराहारी उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ। बगदहमा स्थापना भएको महालक्ष्मी सुगर मिलले पनि यस वर्षबाट उखु क्रसिङ सुरु गरेको छ। सर्लाही मुलुकमै सबैभन्दा बढी उखु खेती हुने जिल्ला हो। १८ देखि २० हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आइरहेको यहाँ यस वर्ष २६ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा उखु खेती भएको छ।

अनुदान माग्दै कृषिमन्त्रीको ध्यानाकर्षण
उखु किसानले सरकारबाट पाउनुपर्ने गत वर्षकै अनुदान रकम नपाएको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको ध्यानाकर्षण गराएका छन्। शनिबार सर्लाही आएका मन्त्री खनाललाई नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रमा नेपाल उखु उत्पादक महासंघले अनुदान रकम सहज रुपले उपलब्ध गराउने व्यवस्थाका लागि ज्ञापनपत्रसहित ध्यानाकर्षण गराएको हो।

गत वर्ष किसानले बेचेको उखुको प्रति क्विन्टल चिनी उद्योगबाट चार सय ७१ रुपैयाँ २८ पैसा तथा सरकारी अनुदानबापत ६५ रुपैयाँ २८ पैसा उपलब्ध गराउने निर्णय सरकारले गरेको थियो। तर, उखु खेती गरेको दुई वर्ष र बेचेको एक वर्ष बितिसक्दा पनि अनुदान नपाउँदा किसान अन्यायमा परेको महासंघ अध्यक्षका मैनालीले बताए। सर्लाहीका किसानलाई दिनुपर्ने अनुदानबापतको २६ करोड रुपैयाँभन्दा बढी रकम गत असोजमै कोष तथा लेखा नियन्त्रक कार्यालय मलंगवामा आएर थन्किएको छ।

सात दिनभित्र अनुदानको पैसा किसानलाई वितरण सुरु नगरे कडा आन्दोलनमा उत्रने चेतावनी ज्ञापनपत्रमा उल्लेख गरिएको छ। अनुदान वितरण गर्ने कार्यविधिमा झन्झटिलो मापदण्ड राखेर किसानलाई झुलाउने काम भएको महासंघले जनाएको छ। समयमै भुक्तानी नदिने उद्योगपतिलाई कारबाहीको धम्की दिने सरकार आफैंले किसानलाई झन्झटिलो मापदण्ड तेस्र्याएर उखुको अनुदान रोक्नु हाँस्यास्पद भएको किसानले बताउँदै आएका छन्।

ज्ञापनपत्र बुझ्दै कृषिमन्त्री खनालले उखु किसानको समस्याप्रति आफू जानकार रहेको बताए। उनले मन्त्रालय पुग्ने बित्तिकै समस्या समाधानका लागि छलफल गर्ने आश्वासन दिए। सर्लाही आएकै बेला मन्त्री खनालले उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुर, तेलबाली अनुसन्धान केन्द्र नवलपुर र चरण तथा घाँसे बाली बीउ वृद्धि फार्म रञ्तिजपुरको अनुगमन गरे।

प्रकाशित: १६ माघ २०७५ ०५:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App