१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

टुटल र पठाओ प्रयोगकर्ता झन् बढे

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले टुटल र पठाओले दिइरहेको मोटरसाइकलमा यात्रु बोक्ने सेवा नरोक्न आदेश दिएसँग यसका प्रयोगकर्ता झन् बढेका छन्। सर्वसाधारणबीच लोकप्रिय बनेका यी मोबाइल एप्सको डाउनलोड दर पहिलाभन्दा बढेको सम्बद्ध कम्पनीले बताएका छन्।

मोटरसाइकलमा यात्रु बोक्ने काम यातायात व्यवस्था ऐन विपरीत भएको भन्दै ट्राफिक प्रहरीले रोकेपछि यो सेवाले अघिल्लो साता व्यापक चर्चा पायो। प्रहरीले रोकेकै भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसो नगर्न आदेश दिएसँगै यो सेवा निरन्तर चलिरहेको छ। पछिल्लो घटना र चर्चापछि यो सेवामा चासो झन् बढेको र एप डाउनलोड गर्ने क्रम बढेको दुई कम्पनीले जनाएका छन्। ‘हाम्रो सेवामा आम चासो झन् बढेको छ,’ टुटलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले भने, ‘एप डाउनलोड दर पहिलेभन्दा बढी छ।’ टुटल अन्तर्गतका राइडरले सेवालाई निरन्तरता दिइरहेको पनि उनले बताए।

अर्को एप्स पठाओले पनि आफ्नो सेवामा चासो राख्नेको संख्या उल्लेख्य बढेको जनाएको छ। पठाओका क्षेत्रीय निर्देशक अशीममान सिंह बस्न्यातले राइडरहरुले पहिले जस्तै सेवा दिइरहेको बताए। ‘एप डाउनलोड दर पहिलेको तुलनामा दोब्बरभन्दा धेरै छ,’ उनले भने, ‘चासो राख्नेको संख्या व्यापक बढेको छ।’ ट्राफिक प्रहरीले यातायात व्यवस्था ऐन विपरीत भनिरहेको बेला सरकारी पक्षले यस्तो सेवालाई कानुनी दायरामा ल्याउने विषयमा छलफलै सुरु गरेको छैन। यस सेवालाई नियमन गर्ने कानुन निर्माणको लागि आफूहरुले सरकारी पहलको प्रतीक्षा गरिरहेको भट्टले बताए।

सरकारी पक्षबाट छलफल अघि नबढे पनि आफ्नो तर्फबाट विभिन्न निकायमा जानकारी गराउने तयारी गरेको पठाओका क्षेत्रीय निर्देशक बस्न्यातले बताए। ‘हामीले सरकारी पक्षलाई हाम्रो सेवाबारे जानकारी गराउने र नियमनका लागि छलफल चलाउन आग्रह गर्दैछौं,’ उनले भने, ‘यातायात व्यवस्था विभाग हाम्रो एक पक्ष मात्र हो। हाम्रो सेवा धेरै निकायसँग जोडिएका छन्।’ ट्राफिक प्रहरीकहाँ उनीहरु पुगिसकेका छन्। अब यातायात, विज्ञान प्रविधि, बिमा संस्थान लगायत ठाउँमा जानकारी गराउन लागेको उनले बताए। पठाओ सेवाबाट यातायात मात्र नभएर प्रविधिसँग जोडिएका अन्य धेरै काम हुने भएकाले विज्ञान प्रविधिसम्बन्धी मन्त्रालय र निकाय समक्ष छलफल गर्ने तयारी गरिएको उनले बताए।

यसमा यात्रु र राइडरको बिमाको पक्ष महत्वपूर्ण विषय हो। बिमा कम्पनीले यस सेवासम्बन्धी बिमा नीति नभएको जानकारी दिएको बस्न्यातले बताए। यो सेवालाई कसरी बिमा गर्न सकिन्छ भनेर छलफल गर्नु आवश्यक रहेको उनी ठान्छन्। पछिल्लो चर्चाले यस सेवासम्बन्धी नीति–नियम बनाउन सकारात्मक योगदान गरेको उनीहरुको बुझाइ छ। अहिलेसम्म सरकारी पक्षले यसबारे ध्यान नदिएको अवस्थामा यसले कानुनी विषयमा छलफल अगाडि बढाएको बस्न्यातले बताए। ‘पछिल्लो चर्चाले यस सेवालाई व्यवस्थित बनाउन र नीति नियम बनाउन सजिलो पनि बनाएको छ,’ उनले भने।

प्रहरीले यो सेवा यातायात व्यवस्था ऐन २०४९ अनुसार गैरकानुनी भएको भन्दै बन्द गराएको थियो। उक्त ऐन अनुसार निजी सवारी साधनको रुपमा दर्ता भएका सवारीले भाडामा यात्रु बोक्न नपाउने प्रावधान रहेकाले यसलाई संशोधन गर्ने वा अर्को कुनै नीति बनाउने भन्ने विषयमा छलफल अगाडि बढाएको ट्राफिक प्रहरीको भनाइ छ।  पठाओले कम्पनी रजिस्ट्रारको कार्यालय र उद्योग विभागमा दर्ता भएर सेवा सञ्चालन गरिरहेको छ। अन्य धेरै सेवा दिन सकिने भनेर ती निकायमा ‘कम्प्युटर सर्भिसेस एप्लिकेसन ओरियन्ट सर्भिस’ भनेर दर्ता भएको यो कम्पनीले मोटरसाइकलमा यात्रुलाई सेवा दिने कामबाट सुरु गरेको जनाएको छ।

टुटल र पठाओ भनेको ‘राइट सेयरिङ’ सेवा हुन्। यसमा मोटरसाइकल चालकले यात्रुलाई भाडा लिएर सेवा दिन्छन्। यसको संयोजन भने पठाओ र टुटलले गरिरहेका छन्। पछिल्लो समय यी सेवा उपत्यकामा लोकप्रिय बन्दै गएका छन्। पछिल्लो चर्चा हुनुअघिसम्म दुई वर्षअघि सेवा सुरु गरेको टुटलसँग १२ हजारभन्दा धेरै राइडर भएको र चार महिनाअघि सञ्चालनमा आएको पठाओले ३० हजार राइडर रहेको जनाएका छन्। पछिल्लो घटनाअघिसम्म पठाओको एप दुई लाख डाउनलोड भएको उसले जनाएको थियो। यो सेवा लोकप्रिय बन्दै गएपछि उपत्यकामा चल्ने ट्याक्सी सञ्चालकले विरोध सुरु गरेका थिए। नेपाल मिटर ट्याक्सी संघले टुटल र पठाओको सेवा ऐन विपरीत भएको भन्दै बन्द गराउन लबिङ गरेका थिए।

प्रकाशित: ७ माघ २०७५ ०५:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App