काठमाडौं – १० रुपैयाँ दरका पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको अभियोगमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावलसहित तीनजनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नोट छपाइ प्रकरणमा रावलसहित राष्ट्र बैंक नोट विभागका तत्कालीन प्रमुख उपेन्द्रकेशरी पौडेल र हिमालयबहादुर पाँडेविरुद्ध मुद्दा दायर गरेको हो। पाँडे नोट छाप्ने अस्टेलियन कम्पनीका नेपाल एजेन्ट हुन्।
१० रुपैयाँ दरका पाँच करोड थान पोलिमर नोट अस्ट्रेलियामा छपाइ गर्दा भ्रष्टाचार गरेको अभियोगमा आयोगले तीनजनासँग दुई अर्ब २३ करोड २९ लाख ६ हजार ६ सय ६६ रुपैयाँ ७४ पैसा बिगो दाबी गरेको छ। तत्कालीन संविधानसभाका सभासद्समेत रहेका रावल हाल नेपाली कांग्रेसमा आबद्ध छन्।
अख्तियारले रावल, पौडेल र पाँडेविरुद्ध जनही ९१ लाख नौ हजार आठ सय ८८ बिगो जरिबाना र कानुनअनुसार जेल सजाय माग गरेको छ। आयोगका अनुसार अस्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएको र नोट प्रिन्टिङ कम्पनीसँग गैरकानुनी मिलेमतो गरी आर्थिक लेनदेन गरेको लगायतका आरोपमा परेको उजुरीमाथि छानबिन गरी आवश्यक प्रमाण पुगेपछि तीनैजनाविरुद्ध मुद्दा दायर गरिएको हो।
अनुसन्धानका क्रममा बोलपत्र पूर्व नै नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अस्ट्रेलियासँग बोलपत्रको मस्यौदा लिने, सञ्चालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ हस्तान्तरण गर्न लगाउने, नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अस्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधिबीच निरन्तर पत्राचार हुने गरेको प्र्रमाण पुगेपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए।
छापिएका नोटका कमीकमजोरी मिडियामा नल्याउन पत्रकारलाई थाइल्यान्ड हुँदै अस्ट्रेलिया पठाएको, नोट छपाइका लागि बोलपत्रपूर्व नै डिजाइन गर्न लगाएको, बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजस्व छल्ने नियतले कमिसन उल्लेख नगरेको, परल मूल्य प्रतिहजार अस्ट्रेलियन डलर ६८ बाट चार डलर बढाउन लगाई सोहीबमोजिम बोलपत्र र सम्झौता गरेको दाबी अख्तियारको छ। नेपाल राष्ट्र बैंकका अधिकारी, नोट प्रिन्टिङ अस्ट्रेलियाका पदाधिकारी र त्यसका स्थानीय प्रतिनिधिले राष्ट्र बैंकलाई अस्वाभाविक मूल्य तिराएर नोक्सानी पुर्याई आफूसमेतलाई फाइदा पुग्ने कसुर गरेको प्रमाण पुष्टि हुन आएको प्रवक्ता दंगालले बताए।
सन् २००१ देखि २००५ सम्म गभर्नर रहेका रावलविरुद्ध सोही बेला भ्रष्टाचार मुद्दामा उजुरी परेपछि तत्कालीन अर्थमन्त्री महेश आचार्यले बर्खास्त गरी दीपेन्द्रपुरुष ढकाललाई गभर्नरको जिम्मेवारी दिएका थिए। रावलले सर्वोच्च अदालतको आदेशबाट पुनर्बहाली भएका थिए। गभर्नरबाट अवकाश पाएपछि उनी उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरमबाट राजनीति गर्न थाले। त्यसपछि विजयकुमार गच्छदार नेतृत्वको फोरममा प्रवेश गरेर संविधानसभा सदस्यसमेत भएका रावल पछिल्लो समय गच्छदारको पार्टी कांग्रेसमा विलय भएपछि कांग्रेसमै आबद्ध छन्।
‘भ्रष्टाचार लुकाउन पत्रकारलाई थाइल्यान्ड र अस्ट्रेलिया’
पोलिमर नोट छपाइमा भएको भ्रष्टाचार लुकाउन तत्कालीन गभर्नर रावलले पत्रकारलाई थाइल्यान्ड र अस्ट्रेलिया भ्रमण गराएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। अख्तियारले कुनकुन पत्रकारलाई थाइल्यान्ड र अस्ट्रेलिया घुमाएको हो भनेर केही खुलाएको छैन। ‘छापिएका नोटका कमीकमजोरी मिडियामा नल्याउन मिडियाकर्मीलाई थाइल्यान्ड हुँदै अस्ट्रेलिया पठाउने गरिएको रहेछ’, आरोपपत्रमा उल्लेख छ।
प्रकाशित: ५ पुस २०७५ ११:५० बिहीबार





