२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

नाका खोल्न पूर्वाधार निर्माण तीव्र

सिन्धुपाल्चोक - चीन जोड्ने उत्तरको मुख्य तातोपानी नाका खुलाउन सडक लगायत पूर्वाधार विकासको काम थालिएको छ । २०७२ वैशाख १२ को बिनासकारी भूकम्पपछि आयात–निर्यात व्यापारबाट वार्षिक २० अर्ब रुपैयाँ कारोबार हुने यो नाका बन्द रहँदै आएको छ ।

सन् २०१९ मेदेखि नाका सञ्चालनमा ल्याउने नेपाल–चीन सहमतिअनुसार पहिरो तथा नदी कटान नियन्त्रण, सडक स्तरोन्नति तथा पुलपुलेसा निर्माणको काम अघि बढाइएको हो । नाका खोल्न सकारात्मक चीन आफैं पूर्वाधार निर्माणमा कस्सिएको छ । नेपाल सरकारले नाका जोड्ने सडकको नदी कटान तथा पहिरो नियन्त्रणका लागि आवश्यक तयारी थालिसकेको छ ।

नाका सञ्चालनमा ल्याउन सबैभन्दा क्षतिग्रस्त अरनिको राजमार्गको २६ किलोमिटर लामो बाह्रविसे–तातोपानी खण्डमा काम भइरहेको छ । नेपाल–चीन दुवै सरकार यही खण्डमा केन्द्रित भएर काम अघि बढाइरहेका छन् । भूकम्प, भोटेकोसी बाढी र बर्खे पहिरोले यो खण्डमा क्षतविक्षत छ ।

‘चिनियाँ पक्षले नाका जोड्ने लिपिङ बजारदेखि तल र बाह्रविसेदेखि माथितिर एकसाथ काम गरिरहेका छन्,’ चिनियाँको कामको नियमित अनुगमन गरिरहेका नाकास्थित भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले नागकिरसँग भने । चिनियाँले अहिले नदी कटान र पहिरो नियन्त्रणको काम गरिरहेको उनले बताए । पौडेलका अनुसार उनीहरु नदीमै छिरेर काम गरिरहेका छन् ।

तातोपानीको लार्चामा निर्माणाधीन सुक्खा बन्दरगाह निर्माण नेतृत्व गरिरहेको चिनियाँ ठेकेदार कम्पनी सिआरसिसीले नै सडक लगायत पूर्वाधार बनाउने कामको अगुवाइ गरिरहेको छ । स्थानीयको आवतजावतलाई ध्यान दिँदै उसैले गएको तिहारअघि नाकालाई अस्थायी सडक ट्र्याकले जोडेको थियो । चीन सरकारले दुई दिनदेखि तिब्बत जोड्ने भोटेकोसीमाथिको मितेरी पुल मर्मत अघि बढाएको छ ।

पुल मर्मतमा सिआरसिसीले नै समन्वय गरिरहेको छ । आठ मिटर चौडाइ रहेको यो पुललाई १० मिटर फराकिलो बनाइने चिनियाँ प्रतिनिधिले जनाए । केही समयअघि चीन भ्रमणका क्रममा सभामुख कृष्णबहादुर महराले ल्हासामा यो पुलको शिलान्यास गरेका थिए । पछिल्लो समय चीन आफैं तातोपानी नाका सञ्चालनमा ल्याउन हतारिएको आयात व्यवसायीसमेत रहेका गाउँपालिका अध्यक्ष पौड्यालको बुझाइ छ ।

‘आगामी मेसम्म निर्माणाधीन सुक्खा बन्दरगाह, नाका जोड्ने सडक लगायत पूर्वाधारको काम सक्ने गरी चीन कस्सिएर लागेको छ,’ ठेकेदार कम्पनी सिआरसिसीका ‘साइट म्यानेजर’ हुलाई उद्धृत गर्दै पौडेलले भने । हुका अनुसार भूकम्पले क्षतिग्रस्त चीनतर्फको खासादेखि मितेरी पुलसम्म करिब सात किमी सडक मर्मत तथा पूर्वाधार विकासको काम अन्तिम चरणमा पुगेको छ ।

यो नाका खोल्न नेपालतिरको पहिरो र सडक बाधक रहेको चीनले बताउँदै आएको थियो । गत असोज २८ गते बन्द नाका र क्षतिग्रस्त राजमार्ग अवलोकन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आउँदो मे (वैशाख/जेठ) देखि नाका सञ्चालनमा ल्याउन नेपाल–चीनबीच सहमति भएको खुलासा गरेका थिए । त्यतिबेला उनले पहिरो नियन्त्रण र सडक मर्मतको काम यथासक्य थालिने बताएका थिए ।

मन्त्री महासेठले भने जस्तै डिभिजन सडक कार्यालय चरिकोटले सडकको पहिरो नियन्त्रण प्रक्रिया अघि बढाएको छ । बाह्रविसेदेखि सुक्खा बन्दरगाह बनिरहेको स्थलसम्म १९ किमि क्षेत्रको पहिरो नियन्त्रण गर्न दुई साताअघि टेन्डर आह्वान गरिएको डिभिजन प्रमुख धर्मेन्द्र झाले बताए । ‘तीन प्याकेजमा काम गर्न १२ करोड रुपैयाँ दरका टेन्डर आह्वान गरिएको छ,’ उनले भने ।

उनका अनुसार उक्त टेन्डर प्रक्रिया पूरा हुन अझै दुई साता लाग्ने भएकाले पुसदेखि पहिरो नियन्त्रणको काम सुरु हुन्छ । काम थालेको ९० दिनभित्र सक्ने कार्ययोजना छ । ‘आगामी मेभित्र ठूला क्षमताका यातायात साधन चल्ने गरी पहिरो नियन्त्रण, सडक मर्मत र अन्य पूर्वाधार विकासका काम सक्छौं,’ डिभिजन प्रमुख इन्जिनियर झाले भने, ‘सडकमा चीनले समेत सघाउँछ ।’

२०६९ पुसबाट चीनको सहयोगमा लार्चामा अत्याधुनिक बन्दरगाह बनिरहेको छ । भूकम्पले झन्डै तीन वर्ष रोकेको बन्दरगाह निर्माणको काम गएको चैतदेखि पुनः हुँदै आएको छ । रोकिएको बन्दरगाह निर्माणलाई चीनले अघि बढाएपछि उत्तरको यो मुख्य नाका खोल्ने संकेत दिएको बुझिँदै आएको छ । पहिलो चरणमा बन्दरगाहको मुख्य संरचना र दोस्रो एउटै प्याकेजमा बन्दरगाह जोड्ने भोटेकोसी माथिको पुल र लार्चा–लिपिङ सडक स्तरोन्नति गर्ने सहमती नेपाल–चीनबीच भएको थियो ।

सोही सहमतिअनुसार बन्दरगाह संरचना अन्तिम चरणमा पुगेपछि सडक स्तरोन्नति कार्य थालिएको सिआरसिसी प्रतिनिधि हुले बताउँदै आएका छन् । उनका अनुसार सडकलाई दुई लेनमा स्तरोन्नति गरिने छ । बन्दरगाह मुख्य संरचना निर्माण कार्य झन्डै ९० प्रतिशत सकिएको जानकारी चिनियाँ पक्षले दिएको छ । तिब्बततिरको सडकको काम सक्ने बित्तिकै चीनको अध्यागमन कार्यालय नाकामा राख्ने तयारीसमेत छ । चीनले आफ्नोतर्फको संरचना, मितेरी पुल मर्मत, रोकिएको सुक्खा बन्दरगाह निर्माण हुँदै नेपालतर्फको पूर्वाधार विकासमा एकसाथ आक्रामक रुपमा काम थालेपछि स्थानीय र व्यवसायी तोकिएकै समयभित्र नाका सञ्चालनमा आउनेमा बढी नै विश्वस्त हुन थालेका छन् ।

चिनियाँ अधिकारीले मागे सुरक्षा
सिन्धुपाल्चोक –चिनियाँ अधिकारीले तातोपानी नाका सञ्चालनार्थ नेपालतिरको पूर्वाधार निर्माणमा अवरोध आउन नदिन नेपाल पक्षलाई आग्रह गरेका छन् । साथै उनीहरुले आफ्ना नागरिक मजदुरको सुरक्षासमेत मागेका छन् ।

गत साता चीनकै निमन्त्रणामा खासामा सीमा सुरक्षा बैठक बसेको थियो । उक्त बैठकमा सीमावर्ती सिन्धुपाल्चोक र चीनको नेलाम जिल्लाका अधिकारी सहभागी दिए । नेलाम जिल्लाका प्रशासकीय प्रमुखले नेतृत्व गरेको बैठकमा चिनियाँ अधिकारीले आगामी मेबाट नाका खोल्ने तयारी भइरहेको जानकारी दोहो-याएका थिए ।

‘उक्त बैठकबाट नाका खुल्ने विश्वास लिएर फर्केका छौं,’ बैठकमा नेपाली पक्षको नेतृत्व गरेका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले नागरिकसँग भने । उनका अनुसार बैठकमा चिनियाँ अधिकारीले नेपालतिरको सडक लगायत पूर्वाधारको काममा खटिने मजदुरको शान्ति सुरक्षा र आवस्थानको प्रबन्ध मिलाउन आग्रह गरेका थिए ।

‘काम भइरहँदा कुनै अवरोध र विवाद पनि नआओस् भन्ने उहाँहरुको भनाइ थियो,’ प्रजिअ अधिकारीले भने, ‘हामीले सबै प्रबन्ध मिलाउँछौं भनेर विश्वास दिलाएका छौं ।’ चिनियाँ पक्षले नाकामा काम थालिसकेकाले बैठकपछि उनीहरुको सुरक्षा, आवास लगायत प्रबन्ध मिलाइसकेको उनले जानकारी दिए । ‘सबै नाका खोलाउन आतुर रहेकाले कुनै अवरोध आउँदैन र आउन पनि दिँदैनौं,’ अधिकारीले भने ।

प्रकाशित: २० मंसिर २०७५ ०४:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App