१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

एग्रो मनाङको स्याउ बगैंचामा प्रधानमन्त्री

एग्रो मनाङ स्याउ फार्म अवलोकन गर्दै प्रधानमन्त्री ओली। तस्बिर : सिद्धराज/नागरिक

मनाङ - प्रधानमन्त्री केपी शर्मा ओली  बिहीबार निजी क्षेत्रबाट सञ्चालित नेपालकै सबैभन्दा ठूलो स्याउ फार्ममा पुगेका छन् । एग्रो मनाङको स्याउ बगैंचा उद्घाटन गर्न मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको भ्रातङ पुगेका प्रधानमन्त्री ओलीले करिब ३० मिनेट बगैंचामा बिताए । संघीय संसद्का सांसद पाल्देन छोपेन गुरुङको परिवारले ३० करोड लगानीमा सुरु गरेको एग्रो मनाङ स्याउ फार्मको प्रधानमन्त्री ओलीले उद्घाटन गरे । ओलीले भने, ‘अब मनाङलाई स्याउको राजधानी बनाउनुपर्छ । स्याउखेती सुरु गर्नुस्, सरकारले सहयोग गर्नेछ।’

प्रधानमन्त्री ओलीले कृषि क्षेत्रको विकासलाई आधुनिक र व्यावसायिक बनाउन सकेमात्र नेपाल र सबै नेपालीलाई धनी बनाउन सकिने बताए । स्याउ फार्मले नेपालमा रोजगारीको अवसर सिर्जना गरेको छ । केही वर्षभित्र अन्तर्राष्ट्रिय बजारमा पु-याउने लक्ष्य लिएको छ । दुर्गम जिल्लामा पनि व्यावसायिक र आधुनिक खेती गर्ने जाँगर देखाएको छ।

सरकारले यो वर्ष स्याउ उत्पादनको पकेट क्षेत्र बनाएर काम गर्ने तयारी गरेको छ । मनाङ, मुस्ताङ, जुम्ला र कालिकोटमा स्याउ खेतीको विकासका लागि  १० करोड बजेट विनियोजन गरिएको छ । यो बजेटबाट कृषिफर्म र समूहलाई एक लाख बिरुवा ल्याउन अनुदान सहयोग गर्ने योजना रहेको प्रधानमन्त्री ओलीले बताए।

उनले गण्डकी प्रदेशका अन्य जिल्लामा रहेका दुर्गम र जोखिममा रहेका बस्तीलाई एकीकृत गरी सुरक्षित स्थानमा सार्नका लागि विवरण तयार गर्न प्रदेश सरकारलाई निर्देशन दिए । उनले भने, ‘मनाङको पर्यटन क्षेत्रको भविष्य सुन्दर छ । अन्नपूर्ण पदमार्ग, तिलिचो हिमाल, ताल, थोारङपासलगायतका क्षेत्रमा हरेक वर्ष हजाराैं पर्यटक पुग्छन् । त्यसैले यी क्षेत्रका विकासका लागि ठोस योजना बनाउन जनप्रतिनिधिहरूलाई म आग्रह गर्दछु।’

नमुना र सिकाइ केन्द्र
एग्रो मनाङ स्याउ खेतीका लागि सिकाइ केन्द्रका रूपमा विकास भएको छ । ६ वर्षअगाडि मनाङ मस्र्याङ्दी फुटबल क्लबको स्वमित्वमा रहेको जग्गा लिज मालिएर स्याउ खेती सुरु भएको हो । यो क्लबको आम्दानी बढाउन मनाङका तत्कालीन सात गाविसले भोगचलन गर्ने अधिकार क्लबलाई दिएका थिए । उक्त जग्गामा झाडी र बुट्यान थियो । त्यही जग्गालाई मनाङ एग्रोले २७ वर्ष लिजमा लिएर स्याउ फार्म सुरु गरेको एग्रोका अध्यक्ष सोमराज गुरुङले बताए।

एग्रो मनाङको स्याउ फार्ममा गोल्डेन डेलिसियस नेमा, गालाकिको मेमा र फुजी फुब्रेस जातका स्याउका बिरुवा रोपिएका छन् । इटालीबाट ल्याइएको यी जातका स्याउ रोपेको ६ महिनापछि फल्न थालेको एग्रोका प्रबन्ध निर्देशक युवराज गुरुङले बताए।

स्याउ फार्म अहिले नमुना र सिकाइ केन्द्रका रुपमा विकास भएको छ । अन्नपूर्ण पदमार्ग पर्ने मस्र्याङ्दी नदीको किनारमा रहेको यो फर्म सुरुवात भएपछि अहिले मनाङमा व्यावसायिक स्याउ खेतीको सुरु भएको छ । एग्रो मनाङको सहयोग र सहकार्यमा स्याउको बिरुवा ल्याएर रोपेको स्वार्गद्वारी कृषि फार्मका सञ्चालक छिरिङ गुरुङले बताए।

प्रकाशित: २६ आश्विन २०७५ ०६:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App