१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

उदयपुरमा ५४ करोड ५८ लाख रुपैयाँ फ्रिज

उदयपुर – विगतको परम्परालाई पछ्याउँदै असार मसान्तका बेला भएभरका योजना युद्धस्तरमा सञ्चालन गरेको देखिएपनि उदयपुरमा आर्थिक वर्ष ०७४–७५ को बजेट आधा अर्बभन्दा बढी फ्रिज हुन पुगेको छ। विगत वर्षहरुझैं यसपालि पनि जेठ असारमा आाएर योजना सम्झौता गर्दै सञ्चालन गरिएकाले पूँजीगत र चालू दुवै शीर्षकको बजेट खर्च हुन नसकेको हो। 

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) उदयपुरले ५४ करोड ५८ लाख ६३ हजार १ सय ७७ रुपैयाँ खर्च हुन नसकेर फ्रिज भएको जनाएको छ। कोलेनिकाका अनुसार जिल्लाका स्थानीय तह तथा सरकारी निकायहरू मिलाएर ९५ प्रतिशत हाराहारी हिस्सा खर्च भएको छ। सरकारले जिल्लामा चालू र पूँजीजीगत गरी ६ अर्ब २४ करोड ८५ लाख ५७ हजार १ सय १० रुपैयाँ पठाएको थियो। जसमा पूँजिगततर्फ ९४.९२ प्रतिशत र चालूतर्फ ९६.३१ प्रतिशत खर्च भएको छ। 

चालू खर्च ५ अर्ब ७१ करोड ३१ लाख ६३ हजार १ सय ९७ रुपैयाँ ८४ पैसामध्ये ९६.३१ प्रतिशत अर्थात ५ अर्ब ५० करोड २१ लाख ५४ हजार ९ सय ११ रुपैयाँ ७६ पैसा खर्च भएको छ। २१ करोड १० लाख ८ हजार २ सय ८६ रुपैयाँ ८ पैसा भने खर्च हुन नसकेर फ्रिज हुन पुगेको कोलेनिकाका प्रमुख नियन्त्रक हीरा न्यौपानेले बताए। 

त्यसैगरी पूँजीगततर्फको ६ अर्ब ५८ करोड ३४ लाख १२ हजारमध्ये ६ अर्ब २४ करोड ८५ लाख ५७ हजार १ सय १० रुपैयाँ १५ पैसा खर्च भएको छ। यो कुल रकमको ९४.९२ प्रतिशत हिस्सा हो। पूँजीगततर्फ ३३ करोड ४८ लाख ५४ हजार ८ सय ९० रुपैयाँ ७७ पैसा फ्रिज भएको न्यौपानेको भनाई छ। उल्लेखित पूँजीगत र चालू खर्चमा जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिकाका लागि आएको ३ अर्ब ७६ करोड ७४ लाख ८१ हजार पनि समेटिएको कोलेनिकाले जनाएको छ। अर्थ बजेट शीर्षकमा जिल्लामा भित्रिएको १० करोड ९७ लाख ७७ हजार ९ सय ४७ रुपैयाँ ९२ पैसा भने शतप्रतिशत खर्च भएको न्यौपानेले बताए। 

कोलेनिकाका अनुसार उदयपुरमा ०७४–७५ मा राजश्व भने आकर्षक रुपमा वृद्धि भएको छ। विगत वर्षको तुलनामा ०७४–७५ मा ४० प्रतिशतभन्दा बढी राजश्व वृद्धि भएको छ। ०७३–७४ मा २ करोड २० लाख ५० हजार ९ सय ९० रुपैयाँ ३ पैसा राजश्व संकलन भएकोमा ०७४–७५ मा राजश्व वृद्धि भएर ३ करोड १० लाख १३ हजार ६ सय ७८ रुपैयाँ २ पैसा पुगेको छ। न्यौपानेले बताए अनुसार राजश्व वृद्धि रकम ८९ लाख ६२ हजार ६ सय ८८ रुपैयाँ रहेको छ जुन विगत वर्षको तुलनामा ४०.६४ प्रतिशत हो। 

जिल्लामा विभिन्न शीर्षकको धरौटी रकम झण्डै ४० करोड मौज्दात रहेको कोलेनिकाले जनाएको छ। धरौटीतर्फ ३२ करोड ७७ लाख ७४ हजार २ सय ७७ रुपैयाँ ९६ पैसा र बिबिध खाता (ख) ६ अन्तर्गत ६ करोड ५३ लाख ४६ हजार ९ सय ६८ रुपैयाँ ७ पैसा मौज्दात रहेको छ। मौज्दात रकम ३९ करोड ३१ लाख २१ हजार २ सय ४५ रुपैयाँ रहेको उनले बताए। 

प्रकाशित: ५ श्रावण २०७५ १०:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App