६ वैशाख २०८१ बिहीबार
अर्थ

महानगरको बजेट : मोनोरेलको सम्भाव्यता अध्ययनदेखि फ्लाइओभर निर्माणसम्म

काठमाडौं- महानगरपालिकाको तेस्रो नगर सभा वैठकले आर्थिक वर्ष  २०७५/७६ को लागि १३ अर्ब २ करोड रुपैयाँ  बजेट विनियोजन गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बजेट सार्वजनिक गर्दै आन्तरिक स्रोतबाट चार अर्ब ९० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको बताए। महानगरपालिकाले गत आर्थिक वर्षको तुलनामा १.१ प्रतिशतले मात्रै वृद्धि गरेको छ।

बाह्य स्रोतबाट ५ अर्ब १९ करोड र अन्यतर्फबाट १ अर्ब ४ करोड रुपैया संकलन गर्ने लक्ष्य राखेको छ। महानगरपालिकाले यस आर्थिक वर्षको बजेटमा  सवैभन्दा धेरै रकम निकासा गर्ने भएको छ। महानगरपालिकाले रानीपोखरी र काष्ठमण्डप पुनर्निर्माण, दरवार हाईस्कुल निर्माण, आकाशेपुल, अन्तराष्ट्रियस्तरको सभागृह स्थापनको लागि र सडक तथा ढल  लगायतका पूर्वाधार निर्माणको लागि तीन अर्ब ६ करोड २५ लाख रुपैयाँ बिनियोजन गरेको छ।

महानगरपालिकाले कार्यालय र प्रशासनिक क्षेत्रको तलवभत्ताको लागि एक अर्ब ९३ करोड रुपैयाँ बिनियोजन गरेको छ।  काठमाडौं महानगरपालिकाले नुवाकोटको सिसडोलमा  रहेको ल्याल्डफिल्ड साइटमा फोहोरमैला व्यवस्थापनमा बारम्बार समस्या आएकाले यस आर्थिक वर्षमा वैकल्पिक ल्याण्ड फिल्ड साइट व्यवस्थापनको लागि बजेट बिनियोजन गरेको छ।  महानगरपालिकाले वातावरण व्यवस्थापन शिर्षक अन्तर्गत  ५४ करोड ४५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ।

विपद् व्यवस्थापनको लागि  आवश्यक पर्ने उपकरणहरु  फायर हाइडेड्रयाट, एम्वुलेन्स लगायतका  खरिदमा १६ करोड ७८ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ।

 काठमाडौं महानगरपालिकाले मनोरेल, इलेक्ट्रिक बस, सम्पदा पुननिर्माण,फ्लाईओभर, इट्वाइलेट, ईपार्किङ निर्माणका लागि पूर्व सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तया पार्ने लगायतका कार्यका लागि १५ करोड १० लाख रुपैयाँ बिनियोजन गरेको बजेट बक्तब्यमा उल्लेख गरेको छ।  उक्त रकम मध्ये महानगरपालिकाले सहरी यातायातको लागि १० करोड रुपैयाँ बिनियोजन गरेको छ।

 महानगरपालिकाले सहरी योजना आयोग मार्फत वातावरणीय सुधारको र साइकल ट्रयाकको लागि ९ करोड ४६ लाख  रुपैयाँ बजेट बिनियोजन गरेको छ ।  महानगरपालिकाको भवन निर्माण, वडा कार्यालय निर्माण र फोहोरमैला संकलन गर्ने सवारी तथा अन्यउपकरण खरिदको लागि  दुई अर्ब ३६ करोड रुपैयाँ बिनियोजन गरेको छ।

प्रकाशित: १० असार २०७५ १३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App