१ श्रावण २०८२ बिहीबार
image/svg+xml
अर्थ

वर्षाले सात राजमार्ग अवरुद्ध, १० प्रभावित

केही दिन यता देशभरि सक्रियभइरहेको मनसुनले ठाउँठाउँमा सडक यातायात पूर्ण रूपमै अबरुद्ध गराएको छ भने केही ठाउँमा राष्ट्रिय राजमार्ग नै प्रभावित भएका छन्।

नेपाल पुलिसले शनिबार साँझ ६ बजे निकालेको रिपोर्टमा उल्लेख गरिए अनुसार हाल देशभरि १० वटा राजमार्ग प्रभावित भएका छन् भने सात वटा राजमार्ग पूर्ण रूपमा अबरुद्ध भएका छन्।

रिपोर्ट अनुसार गत जेठ ६ गते संखुवासभा भोटखोला गाउँ पालिका, ४ स्थित बरुणखोलामा आएको बाढीले ह्युम पाइप बगाएपछि खाँदबारीदेखि थुमसुर पुग्ने कोसी राजमार्ग पूर्णरूपमा अवरोध भएको छ। वर्षायामभरि उक्त राजमार्ग नियमित चल्न नसक्ने जनाइएको छ।

यसैगरी रुकुम पश्चिम, आठबिसकोट नपा ६ रिजिगार खोलामा जाजरकोट डोल्पा– भेरी करिडोर सडक खण्ड अवरोध भएको छ। गत असार ९ गते रिजिगार खोलामा पानीको वहाब बढेपछि जाजरकोट– डोल्पा– भेरी करिडोर सडक खण्ड पूर्ण रूपमा अवरोध भएको छ। पानीको वहाब घटेमा मात्र उक्त सडक सञ्चालन हुने भएको छ।

वर्षाले ललितपुर र मकवानपुर जोड्ने कान्ति लोकपथ पनि प्रभावित भएको छ। गत असार १० गतेदेखि अर्को सूचना नआउँदासम्म उक्त राजमार्गमा बेलुका ७ बजेदेखि बिहान ६ः०० बजेसम्मका लागि सम्पूर्ण सवारी साधन आवतजावतमा रोक लगाइएको छ।

यसैगरी काठमाडौं फर्पिङ–कुलेखानी सडक खण्ड पनि प्रभावित भएको छ। उक्त खण्डको फर्पिङबाट हात्तिगौंडासम्म सडक निर्माण गर्न गत असार १२ गतेदेखि असार २५ गतेसम्मको लागि उक्त राजमार्ग बन्द हुने भएको छ। उक्त राजमार्गमा चल्ने सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ।

वर्षाले हुम्ला सर्केगाड गापा १ बाख्रेस्थित कर्णाली करिडोर पनि अबरोध गरेको छ। शुक्रबार हुम्ला सर्केगाड गापा १ बारने स्थित कर्णाली करिडोरमा माथिबाट आएको सुक्खा पहिरोले बाटो पूर्ण रूपमा अबरुद्ध भएको रिपोर्टमा जनाइएको छ।

यसैगरी रोल्पा परिवर्तन गापा ५ ग्रामजिमस्थित शहीद राजमार्ग अबरोध भएको छ। शुक्रबार रोल्पा परिवर्तन गापा ५ ग्रामजिमस्थित घोराही रुकुम शहीद राजमार्गमा माथिबाट पहिरो आई बाटो पूर्ण रूपमा अबरोध भएको थियो।

वर्षाले नवलपरासी पूर्व विनयी त्रिवेणी गापा २ विश्वकर्मा मन्दिर नजिक पूर्व पश्चिम राजमार्ग प्रभावित गरेको छ।

यसैगरी काभ्रे बनेपा ४ उग्रचण्डी ग्यास प्रालि अगाडि बनेपा-नाला- भक्तपुर सडकखण्डमा अबरोध भएको छ। शनिबार बिहान पाँच बजेतिर काभ्रेको बनेपा नपा ४ उग्रचण्डी ग्यास प्रालि अगाडि बनेपा–नाला–भक्तपुर सडकखण्डको पुण्यमाताखोला माथि रहेको पक्की पुल भास्सिएर बाटो पूर्ण रूपमा अबरोध भएको हो।

यसैगरी जाजरकोट छेडागार्ड ३ दखेरी भिर गिट्टिखोलास्थित मध्य पहाडी राजमार्ग अबरोध भएको पुलिसको रिपोर्टमा जनाइएको छ। शनिबार बिहान करिब सवा आठ बजेतिर जाजरकोट छेडागार्ड ३ दखेरीभिर गिट्टिखोलास्थित मध्य पहाडी राजमार्गमा माथिबाट पहिरो आई बाटो पूर्ण रूपमा अबरोध भएको बताइएको छ।

सडक विभागका प्रवक्ता प्रभात झाले अबरुद्ध भएका राजमार्ग सकेसम्म चाँडो खुलाउन प्रयास भइरहेको बताए। ‘हामीले औसतमा अबरुद्ध भएको सडक चार घण्टामै खुलाउन प्रयास गरिरहेका छौं’ झाले भने, ‘तर कुनै ठाउँमा ठूलो पहिरो आएको रहेछ भने चार घण्टा भन्दा पनि बढी समय लाग्ने गरेको पाइएको छ ।’ अबरुद्ध भएको सडक चाँडोभन्दा चाँडो खुलाउन आवश्यक जनशक्ति, डोजर तथा अन्य मेसिन तयारी अवस्थामा राखिएको उनको भनाइ छ।

सवारी साधन राती नचल्ने

काठमाडौंबाट पूर्वी क्षेत्रलाई जोडेको विपी राजमार्गमा अझै एक महिना सवारीसाधन नचल्ने भएको छ। हाल देशमा मनसुन सक्रिय भएकाले बर्सातका कारण विपद्को घटना हुन नदिन भन्दै शनिबार देखि आगामी साउन १८ गतेसम्मका लागि बेलुका साढे ६ बजेदेखि बिहान ५ बजेसम्म विपी राजमार्गको सिन्धुली खुर्कोटबाट काठमाडौं जाने आउने दुबैतर्फका सार्वजानिक तथा निजी सवारी साधनलाई आवागमनमा रोक लगाइएका बताइएको छ।

यसअघि १५ दिन विपी राजमार्गमा राती सवारी चलाउन रोक लगाएको थियो। अब अरू थप एक महिना रोक लगाइएको छ। सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले वर्षा याममा विपी रार्जमार्ग यात्रा सुरक्षित बनाउन आफूहरूले दिनरात प्रयास गरिरहेको बताए। ‘हामी दिनरात खटिएका छौं।

खास गरी वर्षायाममा रोसी खोलाले सडक अबरुद्ध नगरोस् भन्ने हाम्रो प्रयास छ। सामान्य अवस्थामा रोसी खोलाको कारण सडक अबरुद्ध हुन नदिन प्रयास गरिरहेका छौं’, योगेशले भने, ‘तर पोहोर असोज ११ र १२ गतेको जस्तै वर्षा आयो भने यस्तै हुन्छ भन्न सकिँदैन।’

सडक डिभिजन भक्तपुरले विपी राजमार्ग स्थायी रूपमा पुनर्निमाण गर्न प्रक्रिया अघि बढाएको छ।  

प्रकाशित: २२ असार २०८२ ०८:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App