२६ असार २०८२ बिहीबार
image/svg+xml
अर्थ

पर्यटक आगमन: ६ महिनामा ५ लाख ७७ हजार पर्यटक भित्रिए

जुन महिनामा सबैभन्दा बढी

सन् २०२५ को पहिलो ६ महिनामा नेपालमा जम्मा ५ लाख ७७ हजार ६ सय ८९ जना विदेशी पर्यटक भित्रिए। पर्यटन बोर्डले सन् २०२५ मा नेपालमा सन् २०२४ मा भित्रिएका विदेशी पर्यटकको संख्यामा बढीमा १० प्रतिशत मात्र बढ्ने अपेक्षा गरेको छ। सन् २०२४ मा नेपालमा सबैगरि ११ लाख ४७ हजार ५ सय ४८ जना विदेशी पर्यटक भित्रिएका थिए।  

बोर्डको अपेक्षा अनुसार विदेशी पर्यटक भित्रिएमा सन् २०२४ को आगमन संख्यामा २०२५ मा १ लाख १४ हजार पर्यटक थपिनेछन्। तर, आधा समय बितिसक्दा पनि विदेशी पर्यटकको आगमनको आकार तुलनात्मक रुपमा वृद्धि हुन नसकेको बोर्डको भनाई छ। अन्तर्राष्ट्रिय प्रवद्र्धनमा कमी तथा नेपालसम्मको आउजाउमा समस्या, महंगो हवाई भाडा, विभिन्न मुलुकमा युद्ध हुँदा सन् २०२५ मा बोर्डले अनुमान गरेजस्तो आकारमा पर्यटक भित्रिन सहज नरहेको बोर्डका उच्च अधिकारी बताउँछन्।

बोर्डका पोखरास्थित प्रमुख मणिराज लामिछाने भन्छन, ‘सन् २०२५को आधा समय बितिसकेको छ। अघिल्लो वर्षको आकारमा पनि अझै सुधार हुन सकेको छैन। त्यसैले योवर्ष बोर्डले अपेक्षा गरे अनुसारको पाहुना आगमनमा आशंका गर्न सकिन्छ।’ सन् २०२४ को तुलनामा २०२५ मा समग्रमा विदेशी पर्यटकको आगमनमा १० प्रतिशत वृद्धि हुने अनुमान बोर्डको रहेपनि त्यो आकार भेट्न मुस्किल रहेको उनले बताए।  

लामिछानेका अनुसार नेपालमा सन् २०१९ मा सबैभन्दा बढी संख्यामा पाहुना आएका थिए। त्यो वर्ष सुरुको ६ महिनामा नेपालमा ५ लाख ७३ हजार ६ सय ५८ जना विदेशी पर्यटक भित्रिएका थिए। त्यसपछि कोरोना भाइरस संक्रमणले असर गर्दा पर्यटक आगमन खस्किदै गयो। कोरोना असर कम हुँदै जाँदा सन् २०२४ मा बल्ल नेपालमा पर्यटक आगमन बढी गति लिएको थियो। सन् २०२४ को सुरुको ६ महिनामा नेपालमा ५ लाख ८३ हजार ११ जना विदेशी पाहुना भित्रिएका थिए।  

‘सन् २०१९ को तुलनामा त यो ६ महिनामा केही आकारमा वृद्धि छ। तर, २०२४ को तुलनामा भने यो वर्षका सुरुवाती ६ महिनाको आगमनमा कमजोर देखिएको छ,’ उनले भने, ‘पर्यटक आगमनमा सुधार नै नभएको त भन्न मिल्दैन, कोरोना संक्रमणले खस्केको पर्यटनमा वृद्धि भएकै हो। तर, अपेक्षाकृत हुन सकेन भन्ने मात्र हो।’ 

कोरोनाले थलिएको पर्यटन बजारमा वर्षेनी ६ देखि ८ प्रतिशत वृद्धि हुने अनुमान अनुसार विश्वभर पर्यटक आगमनमा सुधार भएको उनले बताए। त्यही अपेक्षा अनुसार बोर्डले अघिल्लो वर्षको तुलनामा यो वर्ष १० प्रतिशत वृद्धि हुनसक्ने अनुमान गरेको उनको भनाई छ।

‘अहिले पनि नेपालसम्मको पर्यटनमा पहुँचमा समस्या छ। सोचेजस्तो आकारमा पाहुना आउन सहज पनि छैन,’ लामिछानेले भने, ‘हवाईभाडा महंगो भएकोले पाहुना आउन हच्केका छन।’ नेपालसम्मको हवाई भाडा महंगो परेका कारण नेपाल आउन चाहेका पर्यटक पनि अन्यत्र गएको उनले बताए। नेपालसम्मको गन्तव्य महंगो भएका कारण विदेशी पर्यटकहरु कम्बोडिया, भियतनाम, थाइल्याण्ड लगायतका गन्तव्यमा गएको पनि लामिछानेले बताए।  

सबैभन्दा बढी संख्यामा भारतीय पाहुना नेपाल भित्रिएपनि भारतीय पाहुनाको पछिल्लो समयको आगमन पनि सन्तोषजनक हुन नसकेको उनले बताए। ‘नेपालको राजमार्गबारे भारतीय पर्यटनमाझ नराम्रो सन्देश फैलिएको छ। बुटवल–नारायणगढ खण्डमा यात्रा असहज हुँदा भारतीय पर्यटक आगमनमा असर परेकोले पनि भारतीय पर्यटन प्रभावित छ,’ उनले भने, ‘भारतीय पर्यटनमा सुधार हुनासाथ नेपालको पर्यटनले बेलैमा सुधार ल्याउन सक्थ्यो। तर, आउजाउमा सकस हुँदा पाहुना आगमन नै प्रभावित भयो।’

पर्यटन व्यावसायी पनि पाहुना आगमनमा सोचेजस्तो सुधार नभएको बताउँछन। पोखराका अग्रज पर्यटन व्यावसायी गणेशबहादुर भट्टराई पर्यटन क्षेत्रले सोचेजस्तो फड्को मार्न नसकेको बताउँछन् । उनका अनुसार यो बेला पर्यटन क्षेत्र निकै नै सुस्त छ। ‘व्यावसायको आकारमा वृद्धि भएको छ। तर, त्यो अनुरुप पाहुना आउन सकेका छैनन। आन्तरिक र बाह्य सबैखाले पर्यटनमा चहलपहल ल्याउनका लागि सानोतिनो मेहनतले हुँदैछ,’ भट्टराईले भने, ‘पर्यटक आगमन नहुँदा व्यावसाय उकासिने अवस्था छैन।’

बोर्डको तथ्यांक अनुसार नेपालमा गत जनवरी महिनामा ७९ हजार ९ सय ९१ जना विदेशी पर्यटक भित्रिएका थिए। त्यो आगमन संख्या फेब्रुअरीमा ९६ हजार ८ सय ८० थियो। मार्चमा आगमन संख्या बढेर १ लाख २१ हजार ६ सय ८७ पुगेको थियो। अप्रिलमा भने १ लाख १६ हजार ४ सय ९० जना विदेशी पाहुना भित्रिएका थिए। मे महिनामा नेपालमा ८६ हजार २ सय १६ र जुन महिनामा ७६ हजार ४ सय २५ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए।  

जुन महिनामा सबैभन्दा बढी  

बोर्डका अनुसार जुन महिनामा अहिलेसम्मकै बढी संख्यामा पाहुना नेपाल भित्रिएका छन। यो जुन महिनामा नेपालमा हवाई माध्यमबाट ७६ हजार ४ सय २५ जना पाहुना नेपाल भित्रिए। त्यो आगमन सन् २०२४ को जुन महिनामा ७६ हजार ३ सय ३३ मात्र थियो। सन् २०२३ मा ७२ हजार २ सय ५० जना मात्र पाहुना नेपाल भित्रिएका थिए।

कोरोना संक्रमण अघि २०१९ को जुन महिनामा नेपालम ७४ हजार ८ सय ८३ जना मात्र पाहुना भित्रिएका थिए। जुन महिनामा सबैभन्दा बढी पाहुना ३२ हजार ६ सय ६२ जना भारतीय पाहुना नेपाल आएका छन। दोश्रो नम्बरमा रहेको अमेरिकी पाहुनाको संख्या ९ हजार ६ सय ९६ रहेको छ। तेश्रो नम्बरमा चिनियाँ पाहुनाको संख्या ६ हजार ७ सय ३६ रहेको छ।  

प्रकाशित: २१ असार २०८२ १७:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App