कैलालीको भजनी नगरपालिका–३ का सन्तलाल चौधरी चैते धान बिक्री नभएर चिन्तामा छन्। यस वर्ष तीन बिघामा लगाएको धान उनले अझै बिक्री गर्न सकेका छैनन्। व्यापारीलाई धान खरिद गरिदिन हारगुहार गर्दा पनि उनले उत्पादन गरेको धान बिक्री हुन सकेको छैन।
‘व्यापारीले सस्तोमा धान खोज्छन्। उनले भनेको दरमा धान बिक्री गर्दा आफ्नो लागत पनि नउठ्ने देखिन्छ,’ उनले भने, ‘आजभोलि धान रोपेर पछुतो लाग्छ।’ सरकारले चैते धानको समर्थन मूल्य तोके पनि त्यो मूल्यमा व्यापारी किसानको धान खरिद गर्न इच्छुक देखिएका छैनन्। किसानले प्रतिक्विन्टल दुई हजारदेखि दुई हजार ५०० सम्ममा बिक्री गरिरहँदा कतिपय किसानको त्यति मूल्यमा पनि धान बिक्री हुन सकेको छैन।
गत वर्ष प्रतिक्विन्टल तीन हजार ८०० रुपैयाँ पाएका किसानलाई यस वर्ष उत्पादन बढेपछि धान बिक्री गर्न समस्या भएको अर्का किसान डल्लु दास बताउँछन्। ‘गत वर्ष मैले तीन हजार ८०० प्रतिक्विन्टल चैते धान बिक्री गरेको थिएँ,’ उनले भने, ‘यस वर्ष त्यही धान बिक्री गर्न व्यापारीसँग हारगुहार गर्नुपरेको छ।’ उनको भनाइअनुसार धेरै किसानले उदारोमा पनि धान व्यापारीलाई दिएका छन्। पैसा कहिले पाइने भन्ने ग्यारेन्टी नभएर पनि किसानले व्यापारीलाई धान बिक्री गर्न थालेका छन्।
भजनी नगरपालिका–५ लालभोझीका कृषि बुढाले उत्पादन गरेको धान उदारोमा जबरजस्ती व्यापारीको जिम्मा लगाउनुपरेको गुनासो गरे। उनले नगदमा उत्पादन गरेको वस्तु उदारोमा बेच्नुपर्ने बाध्यता आएको बताए। ‘एक बिघा क्षेत्रमा चैते धान लगाउँदा झन्डै १८ हजार खर्च हुन्छ। उत्पादन भएको धान बिक्री गर्न बजार छैन। कसैलाई बेच्नुपरे पनि लागतभन्दा कममा बिक्री गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘न्यूनतम दर तोकेको सरकारले कम्तीमा त्यही दरमा धान खरिदको व्यवस्था गरेको भए किसान हतोत्साहित हुने स्थिति आउने थिएन।’
भजनीमा यस वर्ष झन्डै एक हजार हेक्टरभन्दा बढी क्षेत्रमा चैते धानको खेती भएको थियो। उत्पादनको हिसाबले किसानमा आकर्षण बढ्दै गए पनि बजारीकरणले सधैं धोका हुने गरेको किसान परदेशु चौधरीको भनाइ छ। उनले गत वर्ष धानको राम्रो मूल्य पाएपछि यस वर्ष दुई बिघा विस्तार गरेको बताउँदै अहिले त्यो विस्तार गरेकोमा पछुतो लाग्न थालेको बताए। ‘उत्पादन राम्रो भएकाले किसानको आकर्षण बढ्दै गएको छ,’ उनले भने, ‘तर उत्पादन भएको धान बिक्रीको समस्याले आगामी वर्षमा उत्पादन घट्ने सम्भावना देखिएको छ।’
वर्षात् सुरु भइसकेकाले किसानलाई उत्पादन भएको धान व्यवस्थापनमा चुनौती थपिएको छ। बाढी र डुबानको उच्च जोखिममा रहेको भजनी सामान्य वर्षामा डुबानमा पर्छ। डुबान भएपछि उत्पादन भएको धानलाई कहाँ व्यवस्थापन गर्ने भन्ने अर्को चिन्ता किसानलाई छ। ‘व्यापारीले समयमा धान खरिद नगरे उत्पादन भएको धान कहाँ राख्ने भन्ने चिन्ता छ,’ स्थानीय भोजराज कठरिया भन्छन्, ‘वर्षात्को समयमा घर बाढीले डुबाउँदा हुलाकी सडकमा जानुपर्ने बाध्यता हुन्छ। खानका लागि राखिएको अन्न त जोगाउन सकिन्न भने यत्रो धान कसरी व्यवस्थापन गर्ने होला?’
धेरै किसानले उत्पादन गरेको धान आज पनि हुलाकी सडकमै छ। घरमा राख्ने ओभानो ठाउँ नभएपछि किसानले धान घर नलिई व्यापारी खोजिरहेका छन्। किसानलाई दबाबमा राखेर सस्तोमा धान खरिद गर्ने दाउ व्यापारीले खोजिरहेका छन्। ‘हामी किसानको समस्या देखेर निकै चिन्तित छौं। हरेक निकायलाई गुहार माग्दा पनि समस्या समाधान हुन सकेको छैन,’ भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले भने, ‘प्रदेश सरकार, साल्ट ट्रेनिङ, संघीय सरकारसँग पनि किसानले उत्पादन गरेको धान खरिदको लागि आग्रह गर्दै आएका छौं, सुनुवाइ भएको छैन।’
उनले धानको समर्थन मूल्य तोकेको सरकारले धान खरिद गरेर सहजीकरण गरिदिन पनि आग्रह गरे। ‘आज सयौं क्विन्टल धान उत्पादन भएको छ। सरकारले धान खरिद नगर्दा त्यसको फाइदा व्यापारीले उठाएका छन्,’ उनले भने, ‘आज किसानले लागतभन्दा कम मूल्यमा धान बेच्न बाध्य छन् भने भोलि त्यो किसान कृषिमा कसरी उत्साहित हुन सक्ला?’ भजनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको चैते धान जोन सञ्चालन हुँदै आएको छ। धान जोनका कारण यस वर्ष भजनीमा चैते धान विस्तार विगतको भन्दा बढेको थियो। रासस
प्रकाशित: २१ असार २०८२ ०७:१२ शनिबार