नारायणगढ बुटवल सडकखण्डको दुम्कीबास स्थित विनयी खोलामा निर्मित पुलबाट बिहीबारदेखि यातायात सञ्चालन गरिएको छ।
गत पुस २६ गते विनयीमा रहेको फलामे पुल भाँच्चिएपछि यहाँबाट ओहोर–दोहोर गर्ने मालवाहक गाडीलाई डाइभर्सनबाट पालैपालो आउजाउ गराइँदै आएको थियो।
बिहीबारबाट सोझै विनयी पुलबाट सबै गाडी गुड्न थालेको बुटवल–नारायणगढ सडक आयोजना पूर्वी खण्डका प्रमुख इन्जिनियर ईश्वर बहादुर रिजालले जानकारी दिए। उनका अनुसार बिहीबार मध्याह्न १२ बजेदेखि पक्की पुलबाट यातायात सञ्चालन भएका हुन्।
२१ करोडका लागतमा २४५ मिटर लम्बाइको पुल बनेको छ। यहाँबाट एक पटकमा १०० टन मात्र मालसामान ढुवानी हुन सक्ने आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए।
पुलबाट यातायात सञ्चालन भएपछि मालवाहक गाडी समेत यही पुल हुँदै वारपार गरेका छन्। बिहीबारबाट डाइभर्सन हुँदै आउजाउ गर्नुपर्ने बाध्यता हटेको छ।
पानी पर्नासाथ बाढीले डाइभर्सन बगाउने बाध्यता समेत थियो। आयोजनाका अनुसार अहिलेसम्म ९ पटक बाढीले डाइभर्सन बगाएको छ।
पूर्वी सडकखण्डमा ३४ वटा पुल रहेका छन्। त्यसमध्ये ३१ वटा पुल निर्माण भइसकेको खनालले जानकारी दिए।
उनका अनुसार जयश्री, गिरुबारी र अरुणखोलामा पुल निर्माण हुँदै छ।
यस सडक खण्डको सास्ती भने अझै बाँकी छ। दाउन्ने सडक खण्डको १४ किलोमिटर सडकमा पानी पर्ना साथ गाडी फस्ने हुँदा घण्टौँ जाममा पर्नुपर्ने बाध्यता यथावत् छ।
यस सडकखण्डको प्रगति ६९ प्रतिशत भएको छ। यसको म्याद साउन ८ गते सकिन्छ।
हेराैं तस्बिरहरु, सबै तस्बिर: वसन्त ढुंगाना/नागरिक
प्रकाशित: १९ असार २०८२ १६:०७ बिहीबार