सन् २०२५ को जुन महिनामा नेपालमा सबैगरि ७६ हजार ४ सय २५ जना विदेशी पर्यटक भित्रिए। ती मध्ये बंगलादेशका पर्यटकको संख्या मात्र ५ हजार ४ सय ४९ थियो। जुन महिनामा नेपालमा बढी संख्यामा विदेशी पर्यटक भित्रिने उत्कृष्ट १० मुलुकमध्ये भारत, अमेरिका र चीन पछि बंगलादेश थियो।
पर्यटन बोर्डका अनुसार पछिल्लो समय नेपालमा बंगलादेशी पर्यटकको संख्या हरेक महिना थपिँदै गएको छ। नेपालमा विदेशी पर्यटक भित्र्याउने उत्कृष्ट १० मुलुकमध्ये बंगलादेशको नाम अग्रस्थानमा आउने गरेको छ। बंगलादेशी पर्यटकका कारण पोखराको पर्यटनले पनि लाभ लिएको यहाँका व्यावसायी बताउँदै आएका छन्।
बोर्डका पोखरास्थित प्रमुख मणिराज लामिछाने बंगलादेश पछिल्लो समय नेपालको पर्यटन क्षेत्रको मुख्य श्रोतबजार हुन थालेको बताउँछन। ‘बंगलादेशको पर्यटकको आगमन हरेक महिना बढिरहेको छ। बंगलादेश नेपाली पर्यटनका लागि गजबको श्रोतबजार बन्ने गरेको छ,’ लामिछानेले भने, ‘बंगलादेशी पर्यटकको आगमन बढ्न थालेसँगै प्रवर्द्धनमा पनि चाँसो दिन थालिएको छ। व्यावसायीले बंगलादेशलाई प्राथमिकतामा राखेर पर्यटन प्रवर्द्धन गर्न थालेका छन।’
बंगलादेशको पर्यटनबाट पोखराले पनि लाभ लिन सकेपछि पोखराले पनि बंगलादेशी पर्यटकलाई लक्षित गर्दै प्रवर्द्धन गर्ने योजना बनाएको लामिछानेले बताए। बोर्डको तथ्यांक अनुसार यो वर्षको सुरुको ६ महिना (जनवरी–जुन) को अवधिमा मात्र नेपालमा २८ हजार ९ सय ५६ जना बंगलादेशी पर्यटक भित्रिएका छन्। अघिल्लो वर्ष यहि अवधिमा नेपाल भित्रिने बंगलादेशी पर्यटकको संख्या २१ हजार ९ सय ९२ रहेको थियो। अघिल्लो वर्ष र यो वर्षको सुरुवाती ६ महिनामा बंगलादेशका पर्यटकको आगमन संख्यालाई हेर्दा यो वर्ष करिब ७ हजार बढी पाहुना भित्रिएको पनि तथ्यांकले देखाएको छ।
‘बंगलादेशी बजार राम्रो छ। नेपाली पर्यटन क्षेत्रले बंगलादेशमा पर्याप्त प्रवर्द्धन गर्ने हो भने बंगलादेशी पाहुनाको आकार आगामि वर्ष अझै बढाउन सकिन्छ,’ लामिछानेले भने, ‘नजिकको बजारमा ध्यान कम गएको हो। आगामि दिनमा बंगलादेशमा प्रवर्द्धनका गतिविधि बढाउनुपर्छ।’
सरकारको तथ्यांक अनुसार नेपालमा सन् २०२३ मा ३६ हजार ४ सय ८३ जना बंगलादेशी पर्यटक भित्रिएका थिए। त्यो संख्या २०२४ मा बढेर ४८ हजार ८ सय ४९ पुगेको छ।
बंगलादेशका पर्यटकलाई नेपालमा घुमाउँदै आएका पर्यटन व्यावसायी मनोरथ शाहका अनुसार बंगलादेशी पर्यटकको रोजाईमा पर्ने गन्तव्य मध्ये नेपाल पनि प्रमुख हो। तर, नेपालसम्म बंगलादेशको हवाई पहुँचमा समस्या भएका कारण चाहेजति बंगलादेशी पर्यटक भित्र्याउन सकिएको छैन। तीनदशकदेखि बंगलादेशमा बस्दै आएका शाहका अनुसार अहिले ढाका–काठमाडौं हवाई भाडा प्रतिव्यक्ति करिब २० हजार रुपैयाँ छ। केहीवर्ष अघि काठमाडौंमा युएस बांगलाको जहाज दुर्घटनामा परेपछि ढाका–काठमाडौं हवाई भाडा निकै नै महंगो भएको छ। उक्त दुर्घटना अघि ढाका–काठमाडौं–ढाका १५ हजार हाराहारीमा हवाई भाडा थियो।
‘युएस बांगलाको जहाज दुर्घटना हुनुअघि दुईतर्फी हवाई भाडा १५ हजार हाराहारीमा थियो। अहिले त्यो भाडा एकतर्फी नै २० हजार हाराहारीमा पर्छ, त्यो पनि चाहेको बेला टिकट पाइँदैन,’ शाहले भने, ‘महंगो हवाइ भाडाका कारण पनि बंगलादेशी पर्यटक सोचेजति भित्र्याउन सकिएको छैन।’ उनका अनुसार यूएस बांगलाको दुर्घटनापछि उक्त कम्पनिले नेपालसम्मको उडान रोकेको छ। यूएस बांगलाको उडान रोकिएपछि अरु हवाई कम्पनिले ढाका–काठमाडौं हवाई भाडा बढाएका छन्।
शाहका अनुसार नेपालसम्मको हवाई भाडा महंगो परेपछि बंगलादेशी पर्यटकहरु नजिकका अरु गन्तव्यतिर मोडिएका छन्। नेपाल आउन चाहेका तर, हवाई टिकटका कारण आउन नपाएका बंगलादेशी पर्यटकहरु अहिले भियतनाम, कम्बोडिया लगायतका गन्तव्यतर्फ मोडिएका छन्। ढाकादेखि भियतनाम, कम्बोडिया लगायतका मुलुकसम्म २५ देखि ३० हजार रुपैयाँमा आउजाउ गर्न सक्ने भएपछि पर्यटकहरु नेपाललाई छाडेर ती मुलुकतिर जान थालेको शाहले बताए।
‘पोखरासम्म ढाकादेखि सिधा हवाई सेवा सञ्जाल बिस्तार हुने हो भने पोखराले धेरै नै लाभ पाउँथ्यो। तर, अहिले काठमाडौं हुँदै पोखरा आउनुपर्दा पर्यटकका लागि अधिक महंगो पर्न गएको छ,’ उनले भने, ‘ढाकादेखि काठमाडौं हुँदै पोखरा आउँदा यातायातकै लागि अधिक खर्च हुने गरेको छ।’
शाहका अनुसार काठमाडौंसम्म आएपनि कतिपय बंगलादेशी पर्यटकहरु पोखरा आउनका लागि हिच्किचाउने गरेका छन। महंगो हवाई भाडा र काठमाडौं–पोखरा स्थलमार्गको यात्रा सकसपूर्ण रहेको भन्दै बंगलादेशीले सकेसम्म पोखरा आउन नखोज्ने गरेको उनले बताए। ‘बंगलादेशी पर्यटक सिधा पोखरा ओराल्ने हो भने पोखरा–ढाका सिधा हवाई उडान जरुरी छ,’ उनले भने, ‘बंगलादेशी पर्यटक बढी खर्च गर्ने क्षमता पनि राख्छन। ती पर्यटकलाई नेपाल ल्याउन सकियो भने नेपालले पर्यटनमा अझै फड्को मार्नेछ।’
होटल संघ गण्डकीका अध्यक्ष हरि शर्मा पनि बंगलादेशी पर्यटकलाई पोखरा ल्याउनका लागि पहल भईरहेपनि त्यसले मूर्तरुप लिन नसकेको बताउँछन। ‘हामीले बंगलादेशी पर्यटकलाई पोखरा भित्र्याउनकै लागि पहल थालेका हौ। तर, अहिलेसम्म पहल फलदायी हुन सकेको छैन। सिधा हवाई सञ्जाल जोडेर बंगलादेशी पाहुनालाई पोखरा ओराल्ने प्रयास भएकै छ,’ शर्माले भने, ‘तर, अहिलेसम्म त्यो पहलले खासै गति लिन सकेको छैन।’ बंगलादेशी पर्यटकका कारण पोखराले पनि लाभ लिएको उनले बताए। ‘अहिले पनि केही संख्यामा बंगलादेशी पर्यटक पोखरा भित्रिन्छन, तर, ठूलो संख्यामा ल्याउन सकिएको छैन,’ उनले भने।
पछिल्लो समय बंगलादेशको निजी हवाई कम्पनि ‘एयर अस्ट्रा’लाई बंगलादेशको ढाकादेखि पोखरासम्म नियमित उडान गर्न लगाउने गरि पहल थालिएको पनि हो। तर, त्यसले पनि अहिलेसम्म मूर्त रुप लिन सकेको छैन। एयर अस्ट्रासँग एटिआर–७२ जहाज रहेको र ती जहाजमार्फत पोखरामा उडान गर्न सकिने भएकोले पहल थालिएको भएपनि त्यसले गति नलिएको होटल संघका अध्यक्ष शर्माले बताए।
प्रकाशित: १८ असार २०८२ १७:१५ बुधबार





