रौतहटको गढीमाई नगरपालिका संग्रामपुरका नरेन्द्र ठाकुर धानको ब्याडमा चिन्तित अवस्थामा बसेका थिए। चर्को गर्मीले धानको बेर्ना नै रोगाएपछि ठाकुरको चिन्ता बढेको हो। असार १५ मा देशले राष्ट्रिय धान दिवस मनाइरहँदा ठाकुरजस्ता सयौं किसान भने धान कहिले रोप्ने भन्ने चिन्तामा छन्।
सर्लाहीको बलरा नगरपालिका भगवानपुरका नवीन चौधरीले पनि धानको रोपाइँ सुक्खा र बेर्नामा रोग लागेकाले अनिश्चित बनेको बताए। अहिलेसम्म ब्याडमा धानको बेर्ना रोप्न ठिक्क हुनुपर्नेमा रोगले गर्दा निकै समस्या भएको चौधरी बताउँछन्।
सर्लाहीकै गोडैता नगरपालिका रोहुआका राजेश ठाकुरले भने वास्तविक किसानलाई धान दिवस नआएको बताए। वास्तविक किसानलाई मल र पानीको समस्याले सताएको छ। मल नपाएर किसान छटपटिएका छन्। तर सामाजिक सञ्जालमा नेता, अभिनेता, एनजिओकर्मी, सरकारी कर्मचारी र कृषिसित सम्बन्धित संघसंस्थाले धान दिवस मनाएको देख्दा आफूलाई अचम्म लागेको ठाकुर बताउँछन्।
ठाकुर भन्छन्, ‘वास्तविक किसानलाई बेवास्ता गर्दै सम्भ्रान्त वर्गले रोपाइँ गरेको अभिनय गर्नुको औचित्य नै छैन।’
सामाजिक सञ्जाल र मिडियामा वास्तविक किसानको पहुँच नभएको र उनीहरूको पीडा पनि नआएको ठाकुरको भनाइ छ।
नागरिक समाज रौतहटका सचिव विजयकिशोर झाले किसानले धान दिवसको अनुभव गर्न नपाउनु र गैरकिसानले रमाइलोका लागि धान दिवस मनाएको दृश्यले अधिकांश किसानको मन दुखाएको बताए। किसानको हितका लागि पहिलेदेखि धान दिवसको तयारी नगरेर नेताहरूले धान दिवस मनाउनु किसानी पेसाको उपहास भएको झाको बुझाइ छ।
अन्नको भण्डार मानिने मधेस प्रदेशका अधिकजसो किसान असार १५ मा निराश देखिएका छन्। धान दिवसको दिनसम्म मधेस प्रदेशमा ३.९ प्रतिशत खेतमा मात्रै रोपाइँ भएको छ। मधेस प्रदेशमा धान खेती हुने जग्गा ३ लाख ८० हजार २ सय ८३ हेक्टर रहेकोमा असार १५ सम्म १४ हजार ७ सय ८५ हेक्टरमा मात्रै धान रोपाइँ भएको छ।
अन्न भण्डार मधेसमा असार १५ सम्म अत्यन्त न्युन क्षेत्रफलमा रोपाइँ हुनुले धान दिवस केवल राजनीति गर्ने, धान दिवसका नाममा बजेट खर्च गर्नेहरूका लागि मात्र सुखद भएको सर्लाहीका बुद्धिजीवी रामचन्द्र महतो कुशवाहा बताउँछन्।
असार १५ मा मधेसका अधिकांश जिल्लामा केही वर्षा भएको छ। वर्षा भएपछि अब ब्याडमा बिउ सप्रिने विश्वास किसानमा छ। सहज रुपमा मल नपाएको अवस्थामा कतिपय किसानले भारतबाट आएको महँगो मल किनेर ब्याडमा हालेका छन्।
नेपाली कांग्रेस मधेस प्रदेशका सभापति तथा प्रदेशसभा संसदीय दलका नेता कृष्णप्रसाद यादवले धान दिवसमा रौतहटको सदरमुकाम गौरमा रोपाइँ गर्दै किसानले समयमा मल पाउन नसकेको बताए। किसानको समस्या समाधानका लागि सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ छ।
सर्लाही, रौतहट, बारा, पर्साका विभिन्न ठाउँमा औपचारिक रुपमा धान दिवस मनाइएको छ। सरकारी तथा गैरसरकारी संस्थाले धान दिवस मनाउँदा वास्तविक किसानमा भने खासै उत्साह देखिए।
प्रकाशित: १६ असार २०८२ ०७:०७ सोमबार



-600x400.jpg)

