पर्यटन व्यावसायीले २०६२–२०७२ सम्म यो समय (असार–भदौ) लाई पर्यटन क्षेत्रमा ‘लो–सिजन’ भन्दै आएका थिए। भारतीय, चिनियाँ, यूरोपियन र केही आन्तरिक पाहुनाका कारण त्यो बेला पोखराका होटलको अकुपेन्सी अनुपात ५० प्रतिशत हाराहारीमा हुने गरेको थियो। ५० प्रतिशतको व्यापारले होटलको खर्च धान्ने हुँदा व्यावसायीले एकदशक अवधिको त्यो समयलाई ‘अफसिजन’को साटो ‘लो–सिजन’ भन्न थालेका थिए।
२०६२ अघि यतिबेलाको समयलाई भने पर्यटन क्षेत्रमा ‘अफसिजन’ भनिन्थ्यो। किनकी त्यो बेला यतिखेरको पर्यटन निकै नै सुस्ताउने गरेको थियो। पाहुनाविहीन हुनुपर्दा कतिपय होटल, रेस्टुँराको ढोकामा ताला नै लाग्थ्यो। पदयात्रा र साहसिक पर्यटकीय गतिविधि पनि सुस्ताउने हुँदा व्यावसायीले साच्चै अफसिजन अनुभव गर्दै आएका थिए।
तर, २०६२ पछि वर्षायामको यो समयमा पनि आन्तरिक र केही विदेशी पाहुनाको आगमन बढ्दै जान थालेपछि व्यावसायीले ‘अफसिजन’को साटो ‘लो–सिजन’ भन्न थालेका थिए। देशमा दशक लामो द्वन्द्वको असर कम भएको, प्रवर्द्धनात्मक गतिविधिका कारण आन्तरिक पाहुनाको आगमन बढ्दै जाँदा व्यावसायीले वर्षायाममा पनि पाहुना पाउँदै आएका थिए। चिनियाँ, भारतीय र यूरोपियन मुलका पाहुनाका कारण त्यो बेला पर्यटन क्षेत्रमा वर्षायाममा पनि चहलपहल हुन्थ्यो। पाहुना पाएको भन्दै अफसिजनलाई लो सिजन भनेर व्यावसायीले बताउने गरेका थिए।
२०७२ को भूकम्प पछि पर्यटन क्षेत्र बढी प्रभावित भयो। सुरुमा भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण पर्यटन क्षेत्र अझै अप्ठेरो अवस्थामा पुग्यो। भूकम्प र नाकाबन्दीका कारण पाहुना आउजाउ प्रभावित हुँदै जान थालेपछि पर्यटन क्षेत्र सुस्तायो। वर्षायामको यो बेलामा आउने पाहुना बिस्तारै घट्दै जान थाले।
भूकम्पका कारण प्रभावित भएको पर्यटन उठ्नै लाग्दा कोरोना भाइरस संक्रमणको मारमा परिहाल्यो। त्यसपछि त पर्यटन क्षेत्र झनै अप्ठेरोमा पर्यो। भूकम्प, नाकाबन्दी, कोरोना लगायतका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव बढ्दै जाँदा पछिल्लो समय व्यावसायीले यो समयलाई पुन ‘अफसिजन’ भन्न थालेका छन। अफसिजनबाट ‘लो सिजन’ उक्लेको पर्यटन क्षेत्र पुनः अफसिजनमा फर्केको व्यावसायीको भनाई छ।
होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीका अनुसार अहिलेको समयलाई अफसिजन भन्नुमा केही कारण छन। भूकम्प, नाकाबन्दी, कोरोना संक्रमणका कारण प्रभावित भएको पर्यटन क्षेत्र पछिल्लो समय त राजमार्गको अप्ठेरोका कारण अझै बढी प्रभावित भएको छ। त्यसले गर्दा अहिलेको समयमा पोखराको पर्यटन क्षेत्र निकै नै सुस्ताएको पराजुलीले बताए।
‘वर्षायामको समयमा ५० प्रतिशत पाहुना आगमन हुँदा हामीले त्यसलाई ‘लो–सिजन’ भनेका थियौ। तर, अहिले त बढीमा २५ प्रतिशत मात्र अकुपेन्सी छ। त्यसैले पर्यटन क्षेत्र पुन अफसिजनमा फर्किएको छ,’ उनले भने, ‘२०६२–२०७२ को अवधिमा वर्षायामको यो समयमा पनि पर्यटन क्षेत्रमा कम्तिमा ५० प्रतिशत अकुपेन्सी हुन्थ्यो। तर, २०७२ पछि कहिले के त कहिले के कारणले पर्यटन क्षेत्र प्रभावित भएको भइ छ। २०७२ पछि वर्षायामको समयमा पर्यटन क्षेत्र ३० प्रतिशत अकुपेन्सीमा चल्नुपरेकोले पनि यसलाई अफसिजन मान्नुपरेको हो।’
२०६२–२०७२ सम्मको दशकअवधि यतिखेरको समयलाई लो–सिजन मानिएपनि २०७२ पछि भने पर्यटन क्षेत्र अफसिजनमै फर्केको उनले बताए। पराजुलीका अनुसार अहिले पोखराको होटलको अकुपेन्सी २५ प्रतिशत हाराहारीमा छ। यो अकुपेन्सी दर निकै नै कम हो। २५ प्रतिशत हाराहारीमा रहेको अकुपेन्सीले होटलको नियमित खर्च पनि धान्न सकिन्न। ‘कहिले के त कहिले के कारणले पर्यटन क्षेत्र प्रभावित थियो। पछिल्लो समय त राजमार्गको असहजताका कारण पनि प्रभावित छ। बाहिरबाट हेर्दा राजमार्गको असर खासै देखिन्न,’ उनले भने, ‘पोहोरसम्म पोखरा–मुग्लिन राजमार्गले सकस दिएको थियो। अहिले नारायणगढ–बुटवल खण्डले सकस थपेको छ। पश्चिम नाकाबाट आउने भारीय पर्यटक राजमार्गको सकसका कारण आउन सकेनन।’
पराजुलीका अनुसार पोखरा भित्रिने भारतीय पर्यटकमध्ये करिब ६० प्रतिशत सुनौली नाका हुँदै आउजाउ गर्छन। सुनौली नाका हुँदै भित्रिएका पर्यटक चितवन, काठमाडौं, घुम्दै पोखरा आउँथे। तर, अहिले वुटवल–नारायणगढ खण्डको अप्ठेरोका कारण पाहुना आउन डराएको उनले बताए। मे देखि जुलाईको मध्यसम्म भारतीय पाहुनाका लागि उपयुक्त सिजन भएपनि अहिले जुन मध्यबाटै भारतीय पाहुना कम भएको उनले बताए।
‘सुनौली नाका हुँदै भित्रिने भारतीय पर्यटक एकैदिनमा पोखरा पनि आउन सक्थे। चितवन घुमेर आउजाउ गर्न पनि सहज थियो। तर अहिले बुटवल–नारायणगढको सकसले पाहुना हिड्न डराए। स्याङजा हुँदै आउजाउ गर्ने बाटो अलि साँघुरो छ। त्यसले गर्दा पाहुना आगमन बढी प्रभावित भएको हो,’ उनले भने।
भूकम्प अघि यो बेला चिनियाँ र भारतीय पाहुना आउँदा व्यावसायीलाई लाभ भएको भएपनि अहिले चिनियाँ पाहुनाको आगमन कमजोर हुँदा पनि अफसिजनलाई बढी बल पुगेको उनले बताए। ‘लो सिजनमा उक्लेको पर्यटन अफसिजनमा फर्किनुमा एउटा कारण चिनियाँ पाहुनाको आगमन कमजोर भएर पनि हो,’ उनले भने, ‘भूकम्प अघि वर्षायाममा पनि पर्याप्त चिनियाँ पाहुना आउँदा राहत मिलेको थियो। तर, अहिले चिनियाँ आएनन। आन्तरिक पाहुना पनि अत्यावश्यक कामले बाहेक घुम्न निस्केका छैनन।’ वर्षायामताका आउने यूरोपियन पाहुनाको आगमन पनि घट्दै जाँदा पर्यटन क्षेत्र अप्ठेरोमा परेको पराजुलीले बताए।
क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे पनि यो बेला पर्यटन क्षेत्र अलि बढी नै सुस्ताएको बताँछन। पाहुना आगमन कमजोर हुँदा पोखरा, चितवनको पर्यटन बढी प्रभावित भएको उनको भनाई छ। चितवन, पोखरा, लुम्बिनी र काठमाडौंमा समेत ल्याण्डमार्क होटल संचालन गरेका पाण्डेका अनुसार अहिले पोखराको भन्दा पनि सौराहाको पर्यटन अझै अप्ठेरोमा छ। चितवनको होटलको अकुपेन्सी निकै नै कम रहेको उनले बताए।
‘चितवनमा त पाहुना नै छैनन भन्दा पनि फरक पर्दैन । निकै नै कम संख्यामा पाहुना छन। तर, पोखरामा केही छन। पोखराको होटलको अकुपेन्सी करिब ३० प्रतिशत छ,’ उनले भने, ‘बुटवन–नारायणगढ सडकको सकसले चितवनलाई बढी अप्ठेरो पारेको हो। चितवन आउने मुल बाटो नै रोकिएपछि पाहुना आउनै सकेनन।’
उनका अनुसार पश्चिम नाका भएर भित्रिने भारतीय पर्यटक अहिले राजमार्गको सास्तीका कारण आउन सकेनन। चितवन, पोखरा र काठमाडौंको भ्रमण तालिका बनाएर स्थलमार्गबाट आउने भारतीय पाहुना बढी प्रभावित भएको उनले बताए। ‘स्याङजा हुँदै पोखरा आउन त सकिन्छ तर, यात्रा अलि सकसपूर्ण छ। पर्यटकले सिद्धार्थ राजमार्गको यात्रालाई अलि अप्ठेरो मान्छन। चितवन घुम्न आउनका लागि यात्रा लामो पनि हुने भएकोले पाहुना आउन चाहेनन,’ उनले भने, ‘यो बेला साच्चै अफसिजन लागेको अनुभव भएको छ।’
होटल संघ गण्डकीका अध्यक्ष हरि शर्माका अनुसार २०६२ अघिसम्मको अवस्थामा वर्षायामको यो समयमा पर्यटन क्षेत्र निकै नै सुस्ताउँथ्यो। ‘पाहुना आगमन निकै नै सुस्ताउँथ्यो। कतिपय होटल र रेस्टुरेन्ट त यो बेला बन्द नै गरेर मर्मतसम्भार चल्दथ्यो। तर, २०६२ पछिको समयमा पर्यटन उकासिएको थियो,’ शर्मा भन्छन, ‘२०७२ सम्म उकासिएको पर्यटन त्यसपछि ओरालो लाग्यो। यो अवधिमा विभिन्न अप्ठेरा पनि आइपरे। त्यसले गर्दा अहिले पनि पर्यटन पुरानो अवस्थामा फर्किन सकेको छैन। त्यसैले सिजन पनि प्रभावित छ।’
पछिल्लो समय वर्षायामको तीनमहिना पर्यटन क्षेत्र सुस्ताउनुको मुख्य कारण राजमार्गको सकस हो। अघिल्लो वर्षसम्म पोखरा–मुग्लिन खण्डले सकस थपेकोमा अहिले नारायणगढ–बुटवलले सास्ती दिएको उनले बताए। ‘बुटवल –नारायणगढ खण्डमा सकस छ। अहिले त राजमार्ग करिब बन्द जस्तै छ। कठिनले चलिरहेको सिद्धार्थ राजमार्गमा पनि कुनै समस्या निम्तिए पोखरा नै लक हुने अवस्था आउँछ,’ उनले भने, ‘यात्रा सहज नहुँदा पनि पर्यटन क्षेत्र अप्ठेरोमा परेको हो।’ लो सिजन मानिने यो समयलाई अफसिजनमा फर्काउनुमा पर्यटनमा आएको अप्ठेरो रहेको उनले बताए।
प्रकाशित: १४ असार २०८२ १८:५६ शनिबार


-600x400.jpg)


-600x400-wm.jpg)