१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

विपी राजमार्ग पुनर्निर्माणमा जाइकाले सघाउने

गत असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण भत्किएको विपी राजमार्गको एक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले पुनर्निर्माण गरिदिने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले अघिल्लो वर्ष भत्किएको विपी राजमार्गको एक खण्ड जाइकाले पुनर्निर्माण गर्ने टुंगो लागेको बताए। सडक डिभिजन भक्तपुरका डिभिजन प्रमुख सुमन योगेशका अनुसार जाइकाले विपी राजमार्गको बर्खे खोलादेखि पिप्लेसम्मको ३.२ किमि सडक पुनर्निर्माण गरिदिने सहमति गरेको छ। ‘विपी राजमार्गमा भत्किएको सडकमध्ये ५.५ किमि सडक खण्ड पुनर्निर्माण गर्न जाइकालाई छाडेका थियौं। जाइकाका प्रतिनिधिहरूले भने हामीसँग ३.२ किमि सडक मात्र पुनर्निर्माण गरिदिन सक्छौं, थप सडक निर्माण गर्ने पैसा पुग्दैन भनेपछि बाँकी २.३ किमि सडक हामी आफैंले पुनर्निर्माण गर्ने भएका छौं’, योगेशले भने, ‘२.३ किमि सडक पुनर्निर्माण गर्न ठेक्का आह्वान गर्दै हामीले सूचना समेत निकालिसकेका छौं।’

योगेशका अनुसार जाइकाले तीन अर्ब रूपैयाँ खर्च गरेर बर्खे खोलादेखि पिप्लेसम्मको सडक पुनर्निर्माण गर्ने भएको छ। विपी राजमार्गको एक खण्ड पुनर्निर्माण गर्न गत जेठमै जाइकासँग टुंगो लागेको मन्त्रालयको भनाइ छ।

विपी राजमार्गको निर्माण जाइकाले नै गरेको थियो। १६० किलोमिटर विपी राजमार्ग निर्माण गर्न जापान सरकारलाई २० वर्ष लागेको थियो। यो राजमार्ग निर्माण गर्न जापानले २६ अर्ब येन खर्च गरेको थियो। राजमार्ग बनाउन २०५२ सालमा सुरु गरिएको थियो। २०७२ सालको भूकम्पले विपी राजमार्गको केही भागमा क्षति पुगेको थियो। क्षतिग्रस्त भाग पुनर्निर्माण गर्न १८ महिना लागेको थियो।

गत असोज ११ र १२ गते आएको अबिरल वर्षाले विपी राजमार्ग ठाउँठाउँमा भत्किएको समाचार आएपछि जाइकाले चासो राखेको थियो। जाइकाका प्रतिनिधिहरू विपी राजमार्ग पुनर्निर्माण गर्ने विषयमा गत कात्तिक ११ र १२ गते स्थलगत अध्ययन तथा अनुसन्धान गर्न सिन्धुली पुगेका थिए। स्थलगत अध्ययनपछि उनीहरूले एउटा प्रतिवेदन तयार गरेर फर्किएका थिए। सडक डिभिजन भक्तपुरका अनुसार भत्किएको खण्ड पुनर्निर्माण गर्न जाइका आफैंले डिजाइन र सर्भे गर्ने भएको छ। ‘हामीले गरेको डिजाइन र सर्भे जाइकालाई दिएका छौं। जाइकाले भने आफैं सर्भे गर्ने भनेको छ’, योगेशले भने।

उनका अनुसार जाइकाले पुनर्निर्माण गर्ने सडक दुई लेनको हुने छ। यसअघि जाइकाले विपी राजमार्ग एक लेनको बनाएको थियो। अब पुनर्निर्माण हुने सबै सडक खण्ड दुई लेनको हुने छ।

सडक डिभिजन भक्तपुरले २५ किमि र सडक डिभिजन सिन्धुलीले पाँच किमि सडक पुनर्निर्माण गर्ने काम अघि बढाइसकेका छन्। सडक डिभिजन भक्तपुरका अनुसार भक्तपुर डिभिजनले तीन प्याकेजमा र सडक डिभिजन सिन्धुलीले एक प्याकेजमा विपी राजमार्गको पुनर्निर्माण गर्न काम अघि बढाएका छन्।

डिभिजन प्रमुख योगेशका अनुसार पहिलो प्याकेजमा चारसयबेसीदेखि भकुण्डेबेसीसम्म ११ किमि सडक पुनर्निर्माण गर्न सडक डिभिजन भक्तपुरले एक अर्ब १४ करोड रूपैयाँमा लामा नव कान्तिपुर जेभिसँग केही दिनमै सम्झौता गर्ने भएको छ। यो सडक ठेकेदार कम्पनीले दुई वर्षभित्र पुनर्निर्माण गरिसक्ने जनाएको छ।

दोस्रो प्याकेजमा विपी राजमार्गको डालाबेसीदेखि चारसयबेसीसम्म ८.५ किमि सडक पुनर्निर्माण गर्न सडक डिभिजन भक्तपुरसँग थानी कमलजीत ए वान जेभिसँग एक अर्ब २२ करोड रूपैयाँमा सडक डिभिजन भक्तपुरले सम्झौता गरिसकेको छ। ठेकेदार कम्पनीले यो सडक खण्ड दुई वर्षभित्र पुनर्निर्माण गर्ने प्रतिबद्धता गरेको छ। सडक डिभिजन भक्तपुरले तेस्रो प्याकेजमा २.३ किमि सडक पुनर्निर्माण गर्न मंगलबार सूचना निकालेको छ।

यसैगरी सडक डिभिजन सिन्धुलीले नेपाल थोकदेखि बर्खेखोलासम्म पाँच किमि सडक पुनर्निर्माण गर्ने भएको छ। सडक डिभिजन सिन्धुलीसँग क्षितिज थिसिङ निर्माण सेवा कम्पनीले ६२ करोड रूपैयाँमा सडक डिभिजन सिन्धुलीसँग सम्झौता गरेको छ।

सम्झौता अनुसार ठेकेदार कम्पनीले दुई वर्षभित्र विपी राजमार्ग पुनर्निर्माण गरिसक्ने प्रतिबद्धता गरेको छ। ‘हाम्रो खण्डभित्र भत्किएको बाटो तीन किमि मात्र हो तर हामीसँग केही पैसा बचेको थियो। बचेको पैसालाई समेत सदुपयोग गर्दै पाँच किमि सडकको पुनर्निर्माण गर्न सम्झौता गरका छौ’, हमालले भने, ‘अब सबै (पाँच किमि सडक) दुई लेनको हुने छ। ‘पुनर्निर्माणको काम सकियो भने गत असोज ११ र १२ गते जस्तो वर्षा आए पनि विपी राजमार्ग क्षति हुनेछैन। पहिलेको भन्दा अझै बलियो हुने गरी पुनर्निर्माण गर्दैछौं’, योगेशको दाबी छ।

प्रकाशित: १२ असार २०८२ १०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App