नेपालगन्ज उपमहानगरपालिकाले यहाँका विभिन्न धार्मिक क्षेत्रलाई समेटेर धार्मिक सद्भावको सर्किट क्षेत्रका रुपमा विकास गर्ने नीति लिएको छ।
नेपालगन्जमा मंगलबार आयोजित १७ औं नगर सभामा नगर प्रमुख प्रशान्त विष्टले आगामी वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय बागेश्वरी मन्दिर, जामा मस्जिद, गुरुद्वारा, १०८ फिटे हनुमानगढी परिसर क्षेत्रलाई समेटेर धार्मिक सद्भावको सर्किट क्षेत्रको रुपमा विकास गर्ने नीति लिइएको बताए।
यस्तै, धार्मिक विद्यालयको शिक्षालाई गुणस्तरीय र सान्दर्भिक बनाउने पनि उपमहानगरपालिकाको नीति छ। यसैगरी उपमहानगरपालिकाभित्र बोलिने सबै मातृभाषाको जगेर्ना र विकास गर्ने, सामुदायिक विद्यालयमा छात्रामैत्री चेन्जिङ रुमसहितको सुविधा सम्पन्न शौचालयको व्यवस्था मिलाइने, ‘ग’ वर्गको अपाङ्गता भएका व्यक्ति र अल्वानिज्मको समस्या भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
त्यस्तै सञ्चार क्षेत्र प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिने, आमसञ्चार नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिने, कृषिको आधुनिकीकरण र व्यवसायीकरणको लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने, गड्यौला मलको प्रयोग प्रवर्द्धन गर्ने, जडीबुटी खेतीलाई प्रवर्द्धन गर्ने, पशुजन्य सङ्क्रामक रोग नियन्त्रणका लागि समयानुसार भ्याक्सिन लगाउने उपमहानगरपालिकाको नीति रहेको छ।
नेपालगन्ज र आसपासका पर्यटकीय क्षेत्रलाई भिजिट वेष्टर्न नेपाल कार्यक्रममा आबद्ध गर्ने, ज्येष्ठ नागरिकका लागि घर–घरमा गई निःशुल्क औषधी उपचार तथा स्वास्थ्य प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, उपमहानगरपालिकालाई १० वर्षभित्र क्षयरोगमुक्त घोषणा गर्ने लगायत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
प्रस्तुत नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, खेलकुद, पूर्वाधार, कृषि, पर्यटन, उद्योग व्यापार, रोजगार लगायतका क्षेत्रलाई उच्च प्राथमिकताका साथ समेटिएको नगर प्रमुख विष्टले बताए।
उपमहानगरपालिकाले एक अर्ब ६४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। नगर उपप्रमुख कमरुद्धिन राईले नगर सभामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ६४ करोड ७१ लाख ४६ हजार ६ सय ६६ रुपैयाँ ६७ पैसा बराबरको अनुमानित आय/व्यय विवरण प्रस्तुत गरेका हुन्।
उक्त बजेटमा चालूतर्फ ३८ करोड ५६ लाख रुपैयाँ, आम्दानीतर्फ वित्तीय समानीकरण संघबाट २६ करोड ७९ लाख, प्रदेशबाट १ करोड ९० लाख प्राप्त हुँदा आन्तरिक आय २२ करोड १२ लाख रुपैयाँ प्रक्षेपण गरिएको उपप्रमुख राईले बताए।
बजेटमा उपमहानगरभर रहेका २३ वटै वडा कार्यालयका लागि २० करोड रुपैयाँ र महाशाखा शाखामार्फत सञ्चालन हुने गरी ८ करोड २५ लाख २४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए।
बाँकेमा रहेका ८ वटै स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्।
प्रकाशित: १० असार २०८२ २१:२७ मंगलबार