१५ माघ २०८२ बिहीबार
image/svg+xml
अर्थ

वीरगन्जको बजेट तीन अर्ब २२ करोड

मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रूपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ।

वीरगन्जको पुजन होटलमा सोमबार आयोजना गरिएको १७ औं नगरसभामा महानगरका उप प्रमुख इम्तियाज आलमले आगामी आर्थिक वर्षका लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रूपैयाँको अनुमानित आयव्ययसहितको बजेट प्रस्तुत गरेका हुन्।

चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षका लागि झन्डै ३३ करोड बढी बजेट ल्याएको वीरगन्ज महानगरले जनाएको छ। चालु आर्थिक वर्षका लागि वीरगन्ज महानगरको बजेट दुई अर्ब ८९ करोड ४८ लाख १७ हजार रूपैयाँको थियो। सोमबारको नगरसभामा उपमेयर आलमले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा चालु खर्चतर्फ दुई अर्ब २६ करोड ५० लाख ४९ हजार रहेको छ।

यो कुल बजेटको ७०.२४ प्रतिशत हो। पुँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख रूपैयाँ रहेको छ। यो कुल बजेटको २८.६४ प्रतिशत हो। वित्तीय व्यवस्थापनतर्फ तीन करोड ६४ लाख रहेको छ। यो कुल बजेटको १.१२ प्रतिशत हो।

आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च व्यहोर्ने स्रोतहरूमा संघीय राजस्व बाँडफाँटबाट २३ करोड ७८ लाख रूपैयाँ, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड दुई लाख ८८ हजार रूपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट एक करोड ६७ लाख १३ हजार रूपैयाँ, घरजग्गा रजिस्ट्रेसन शुल्कबापत २५ करोड रूपैयाँ र नगद मौज्दाबाट १५ करोड व्यहोरिने आन्तरिक राजस्वबाट एक अर्ब १५ करोड रूपैयाँ, संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ३७ करोड ३० लाख रूपैयाँ रहेको उपमेयर आलमले बताए।

आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सरसफाइ, वातावरण संरक्षण, गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको उपप्रमुख आलमले बताए । 

नगरसभामा महानगरका मेयर राजेशमान सिंहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। वीरगन्ज महानगरपालिकाको नीति तथा कार्यक्रममा वीरगन्जको पर्यटन प्रवद्र्धन गर्ने केही महत्वाकांक्षी योजना पनि समावेश गरिएको बताइएको छ ।

प्रकाशित: १० असार २०८२ १०:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App