वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २२ करोड ४८ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ।
सोमबार आयोजित १७ औँ नगर सभामा उपप्रमुख इम्तियाज आलमले पूर्वाधार, पर्यटन प्रवर्द्धन र सेवा प्रवाहलाई प्राथमिकता दिँदै उक्त बजेट सार्वजनिक गरेका हुन्।
चालु आर्थिक वर्षको तुलनामा करिब ३३ करोड रुपैयाँले बढी रहेको आगामी बजेटमा चालु खर्चतर्फ २ अर्ब २६ करोड (७०.२४ प्रतिशत) र पुँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख (२८.६४ प्रतिशत) विनियोजन गरिएको छ।
वित्तीय व्यवस्थापनका लागि ३ करोड ६४ लाख रुपैयाँ छुट्याइएको छ।
यसअघि नगर प्रमुख राजेशमान सिंहले प्रस्तुत गरेको ९० बुँदे नीति तथा कार्यक्रममा आधारित बजेटले ‘अलौ पर्व सङ्ग्रहालय’ र ‘रेल्वे म्युजियम’ निर्माण जस्ता महत्वाकांक्षी योजना अघि सारेको छ।
यसका साथै कृषि, शिक्षा, स्वास्थ्य, सरसफाइ र डिजिटल सेवा प्रवाहलाई पनि बजेटले प्राथमिकतामा राखेको छ।
बजेटको स्रोतका रूपमा आन्तरिक राजस्वबाट १ अर्ब १५ करोड, संघीय सरकारबाट वित्तीय हस्तान्तरणमार्फत १ अर्ब ३७ करोड ३० लाख र प्रदेश सरकारबाट ५ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
यसबाहेक राजस्व बाँडफाँट, घरजग्गा रजिस्ट्रेसन र नगद मौज्दातबाट खर्च बेहोरिने उपप्रमुख आलमले जानकारी दिए।
प्रकाशित: ९ असार २०८२ २१:२० सोमबार