२१ माघ २०८२ बुधबार
image/svg+xml
अर्थ

२४ वर्षदेखिको अधुरो बाहिरी चक्रपथ: खर्च १५ करोड, प्रगति शून्य

सरकारले २४ वर्षदेखि उपत्यकावासीलाई बाहिरी चक्रपथको नाममा अधुरो सपना बाँडिरहेको छ तर अहिलेसम्म यस कार्यक्रमको भौतिक प्रगति भने शून्य छ। यस आयोजनामा हालसम्म १६ करोडभन्दा बढी खर्च भइसकेको छ। यो आयोजनाको अवधारणा २०५८ सालमा ल्याइएको थियो।

सरकारले आर्थिक वर्ष २०६०/६१देखि हरेक वर्ष बजेट भाषणमा बाहिरी चक्रपथको नारा दिँदै आएको छ र केही न केही रकम बजेटमा पनि छुट्याँउदै आएको छ। यस वर्ष पनि सरकारले बाहिरी चक्रपथको नाममा २० लाख रूपैयाँ छुट्याएको छ।

बाहिरी चक्रपथको नाममा सरकारले २०६० सालदेखि १७ जना कर्मचारीलाई हरेक महिना तलब र भत्ता खुवाइरहेको छ। १७ जना कर्मचारीमध्ये तीन स्थायी र १२ जना करारमा कार्यरत छन्। यो योजना हेर्न काठमाडौं उपत्यका विकास प्राधिकरणले छुट्टै निकाय गठन गरेको छ। हाल यस आयोजनाको प्रमुखमा विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेत कार्यरत छन्।

आव २०८०/८१ मा यस आयोजनाका लागि खटाइएका कर्मचारीलाई तलब भत्ता खुवाउन तथा कार्यालय सञ्चालनमा यो वर्ष ५७ लाख ८१ हजार रूपैयाँ खर्च भएको छ।

महालेखाका परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनमा आयोजनाको लक्ष्यअनुसार काम नहुने तर वार्षिक तलब भत्तालगायत प्रशासनिक खर्च भने हुँदै आएको भनेर सरकारको ध्यानाकर्षण गरिएको छ। बाहरी चक्रपथको अवधारणा ल्याएको २४ वर्षसम्म काम शून्य भएकोमा आव २०८१/८२ का लागि सार्वजनिक गरिएको प्रतिवेदनमा गम्भीर तवरले प्रश्न पनि उठाइएको छ।

 ‘अवधारणा ल्याएको २३ वर्ष र विस्तृत परियोजना प्रतिवेदन तयार गरेको १० वर्ष भइसक्दासम्म पनि आयोजना सुरु भएको देखिँदैन’, प्रतिवेदनमा भनिएको छ, ‘आयोजनाको नाममा बर्सेनि प्रशासनिक खर्च भइरहेको हुँदा आयोजना कार्यान्वयन सम्बन्धमा मन्त्रालयले नीतिगत स्पष्टता ल्याउनुपर्दछ।’

१० वर्षअघि यस योजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो। डिपिआरमा बाहिरी चक्रपथ ५० मिटर चौडा हुने गरी डिजाइन गरिएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार बाहिरी चक्रपथले काठमाडौँमा ३५.८ किमी, ललितपुरमा १५ किमी र भक्तपुरमा २१ किमी क्षेत्रफल ओगटेको छ।

यस आयोजनाको अवधारणा प्रस्तुत गर्दा १० वर्षभित्र सबै काम सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। १० वर्ष त परै जाओस् २० वर्ष कटिसकेपछि पनि काम भने जहाँको त्यहीं छ। सुरुमा यो आयोजनामा ७२ अर्ब रूपैयाँ खर्च हुने अनुमान गरिएको थियो।

काठमाडौँ उपत्यकाका अधिकांश सहरी क्षेत्रलाई घेर्ने गरी कुल लम्बाइ ७२ किलोमिटर रहने बाहिरी चक्रपथको अवधारणा ल्याइएको थियो। यो चक्रपथ काठमाडौं, ललितपुर र भक्तपुरका तीन जिल्लालाई छुने गरी निर्माण हुनेछ।

महालेखाको रिपोर्ट अनुसार उक्त आयोजनामा आव २०८०/८१ सम्म १५ करोड ४३ लाख ४६ हजार खर्च भएको छ। आव २०६०÷६१ मा प्रतिआना पाँच लाख रूपैयाँका दरले बाहिरी चक्रपथ निर्माणका लागि जग्गा अधिग्रहण गर्न ५६ अर्ब खर्च लाग्ने अनुमान गरिएको थियो। हालसम्म यस काममा प्रगति भने केही भएको छैन। आव २०६१/६२ को बजेट भाषणमा सरकारले काठमाडौं उपत्यकामा जग्गा एकीकरणको माध्यमबाट वाहिरी चक्रपथ निर्माण गर्ने कार्यक्रम घोषणा गरेको थियो।

यस आयोजनाका लागि तयार गरिएको डिजाइनमा बाहिरी चक्रपथमा ६ लेनको सडक निर्माण गरी साइकल ट्य्राक ग्रिन वेल्ट र फुटपाथसहित सडकको चौडाइ ५० मिटर हुने अवधारणा ल्याइएको छ। यसैगरी सडकको दुवैतर्फ २५० /२५० मिटर क्षेत्रमा जग्गा एकीकरण गरी वस्ती विकास गर्नेसम्मको योजना बनाइएको छ।

अहिलेसम्म यस आयोजनाका लागि गरिएको काम भनेको काठमाडौं उपत्यका विकास प्राधिकरणले बाहिरी चक्रपथभित्र पर्ने सतुंगल खण्डको ६.६ किमि सडकमा पर्ने जग्गा अधिग्रहण गर्न नेपाल सरकार समक्ष प्रस्ताव पेस गरेको छ। यस प्रस्तावमा केही प्रगति भने  भएको छैन।

बाहिरी चक्रपथ आयोजनाका प्रमुख सुबास बस्नेतले आगामी आव २०८२/८३ मा पहिलो चरणअन्तर्गत बाहिरी चक्रपथभित्र पर्ने सतुंगलदेखि चोभार क्षेत्रसम्म ट्य्राक खोल्ने निर्णय भएको बताए। ‘आगामी आवमा बाहिरी चक्रपथका लागि केही काम गर्ने योजना हामीले बनाएका छौं’, उनले भने, ‘अब यस आयोजनामा केही न केही हुन्छ।’

उपत्यकामा भित्री चक्रपथभित्र थुप्रिँदै गएको जनसंख्यालाई भित्री चक्रपथबाट क्रमशः बाहिर लग्दै उपत्यकाको भद्रगोल विकासलाई व्यवस्थित, सरल र दिगो बनाउन बाहिरी चक्रपथको अवधारणा ल्याइएको हो। २०७३ सालमा उपत्यका विकास प्राधिकरणले बाहिरी चक्रपथको डिजाइन नक्सा सार्वजनिक गरेको थियो। अहिले पनि विकास प्राधिरकरणको उपलब्धि भनेको त्यही नक्सा मात्र हुन पुगेको छ।  

प्रकाशित: ८ असार २०८२ ०८:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App