सिरहाको मिर्चौया नगरपालिकाले १५औं नगरसभाबाट आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७० करोड ११ लाख ७१ हजार ८२३ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
शनिबार मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्री संजयकुमार यादवको प्रमुख अतिथ्यमा नगर प्रमुख श्रवणकुमार यादवले नगरसभाबाट उक्त बजेट सार्वजनिक गरेका हुन्।
वन मन्त्री यादवले स्थानीय तहद्वारा सञ्चालित दिगो विकास तथा वातावरणमैत्री पहलको तारिफ गरेका थिए। उनले स्थानीय तहले योजनाहरू समावेशी र स्थानीय आवश्यकता अनुरूप संचालन गर्नुपर्नेमा जोड दिए।
यस्तै, लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब ६७ करोड ९५ लाख २८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरसभाको १६ औँ अधिवेशनमा नगरप्रमुख महेशप्रसाद चौधरीले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ७९ करोड ४० लाख रुपैयाँ अर्थात ४७.२८ प्रतिशत र पुँजीगततर्फ ८८ करोड ५५ लाख २८ हजार रुपैयाँ अर्थात कुल बजेटको ५२.७२ प्रतिशतको बजेट प्रस्तुत गरेका हुन्।
जसमा शिक्षातर्फ २३ करोड ५८ लाख, स्वास्थ्यतर्फ २७ करोड ९३ लाख, कृषितर्फ आठ करोड ६६ लाख र पूर्वाधारतर्फ ५० करोड रुपैयाँ विनियोजन गरिएको नगरप्रमुख चौधरीले प्रस्तुत गरेको बजेटमा उल्लेख छ।
नगरपालिकाको आन्तरिक आय २५ करोड रुपैयाँ हुने अनुमान गरिएको छ। सार्वजनिक नीति तथा कार्यक्रम र बजेटमा नगरप्रमुख महेशप्रसाद चौधरीले ‘हाम्रो लहान–सुन्दर, समुन्नत र सभ्य लहान’ निर्माणको नारालाई मूलमन्त्रका रूपमा अगाडि सारिएको बताए।
नगर प्रमुख चौधरीले आफू निर्वाचित भए यता विगत तीन वर्षमा पूर्वाधार एवं सहरी विकास, कृषि तथा सिँचाइ, शिक्षा तथा स्वास्थ्य, पर्यटन तथा रोजगार र लागूपदार्थ दुर्व्यसनविरुद्ध विशेष फड्को मारेको जिकिर गरे।
उनले आगामी बाँकी दुई वर्षे कार्यकालमा नवीनतम् कार्यहरू गर्ने लक्ष्य राखि आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउन स्थानीय उत्पादनलाई बढावा दिने गरी बजेटमा समेटिएको उनले बताए।
प्रकाशित: ८ असार २०८२ ०७:२५ आइतबार