बागमती प्रदेश सरकारले ल्याएको बजेट प्रति सिन्धुलीका स्थानीयले असन्तुष्टि पोखेका छन्। विद्यालय तथा शैक्षिक क्षेत्रमा बजेट नपरेको भन्दै स्थानीयले असन्तुष्टि पोखेका हुन्।
जिल्लामा एक गैरसरकारी संस्थाले आयोजना गरेको सामाजिक जवाफदेहिताका लागि युवा सम्मेलन कार्यक्रममा उपस्थित बागमती प्रदेश सरकारका भूमि व्यवस्था उद्योग वाणिज्य मन्त्री शुकमाया तामाङ, प्रदेश सभा सदस्य सुष्पा भुजेल र बागमती प्रदेशको नीति योजना आयोगका उपाध्यक्ष गंगादत्त नेपालसहित उपस्थित भएका बेला सिन्धुलीका शिक्षक तथा युवाहरूले प्रदेश सरकारप्रति असन्तुष्टि जनाए।
दैनिक युवाहरू विदेशिएका छन्, विदेशिने युवाहरू रोक्न प्रदेश सरकारको योजना के छ? सिन्धुलीको कमलामाई नगरपालिका ६ माढीबजारमा रहेको गौमती उच्च माध्यमिक विद्यालयका प्रधानध्यापक दिपक बुढाथोकीले प्रश्न गर्दै भने, 'युवाको हकमा बजेट कहाँ गयो? पढ्दै कमाउँदै, कमाउँदै पढ्दै योजनामा कति विद्यार्थीले कति लाभ लिए? प्रदेशले योजना ल्यायो तर त्यसबाट उपलब्धि के भयो त्यो जानकारी चाहियो,' उनले भने।
कमलामाई नगरपालिका ४ खट्टारका बरुणदेवी माध्यमिक विद्यालयका प्रधानध्यापक सन्तोष श्रेष्ठले पछिल्लो समय युवाहरूमाझ जे पढे पनि रोजगारी पाइदैन भन्ने निराशा छाउँदै गएकाले त्यसतर्फ सरकारले सोच्नुपर्ने बेला आएको बताए। समाज लागु पदार्थसहितको दुर्व्यसनीमा फस्दै गएको र युवामुखी र नतिजामुखी कार्यक्रम प्रदेश सरकारले ल्याउनु पर्नेमा उनले जोड दिए।
बागमती प्रदेशका भूमि व्यवस्था उद्योग मन्त्री शुकमाया तामाङले प्रदेश सरकारले समुदायले आकाक्षा गरे अनुसारको बजेट आउन नसकेको स्वीकार गरिन्। 'सानोदेखि ठुला योजना समुदायको आकाक्षा भित्र पर्छ, यो पटक समुदायले आकाक्षा गरेसँस्तो बजेट आएन, अर्को वर्ष सुधार गर्छौं,' उनले सोही कार्यक्रममा भनिन्।
बागमती प्रदेश सभा सदस्य सुष्पा भुजेलले सरकारले पढ्दै कमाउँदै र कमाउँदै सिक्दै गर्ने कार्यक्रम ल्याएको तर त्यसको उपलब्धि के भयो भन्नेमा सरकार नै अन्यौलमा रहेको बताइन्। बागमती प्रदेश सरकारले सिन्धुलीमा ल्याएका कतिपय योजना प्रयोगविहिन भएकाले प्रयोगमा नआउने योजना मान्य नहुने युवाहरूले बताएका थिए।
प्रदेश सरकारले प्रभावकारी योजनाहरू ल्याउने योजना आयोगका उपाध्यक्ष गंगादत्त नेपालले बताए।
प्रकाशित: ७ असार २०८२ १७:१० शनिबार