३१ असार २०८२ मंगलबार
image/svg+xml
अर्थ

उदयपुर विद्युत् प्राधिकरणको महसुल साढे ३३ करोड

विद्युत् अनियमित भएको भन्दै आक्रोसित उपभोक्ताले मङ्गलबार प्राधिकरण वितरण केन्द्र गाईघाटमा घेराउ गर्दै। तस्बिरः महेश्वर

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र उदयपुरले चालु वर्षको १० महिना अवधिमा ३९ करोड ६७ लाख ५९ हजार ५ सय ५ रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको छ। साउनदेखि वैशाखसम्म विद्युत् बिक्री गर्दा महसुल भने झण्डै साढे ३३ करोड रुपैयाँ उठेको छ।

प्राधिकरणले जेठ महिनामा बिक्री गरेको विद्युत् र उठेको रकमको रिपोर्ट भने आउन बाँकी रहेको जनाएको छ। लेखा अधिकृत राजन राईका अनुसार केन्द्रको बिक्री शाखाले जेठको तथ्याङ्क सङ्कलन गर्नै बाँकी रहेकाले यो विवरण वैशाख मसान्तसम्मको मात्र हो।

वितरण केन्द्रले जम्मा ९ प्रकारका ग्राहकको सूची अनुसार विद्युत् बिक्री गर्ने र महसुल सङ्कलन गर्ने गरेको छ। सबभन्दा बढी महसुल सर्वसाधारण ग्राहक (उपभोक्ता)बाट २३ करोड ५४ लाख ९८ हजार रुपैयाँ उठाएको अधिकृत राईले बताए। त्यस्तै व्यवसायिक ग्राहकबाट ३ करोड ८३ लाख १३ हजार रुपैयाँ उठेको छ भने औद्योगिक ग्राहकबाट ३ करोड ५५ लाख ७५ हजार सङ्कलन भएको छ। 

खानेपानीका ग्राहकबाट ८४ लाख १७ हजार २ सय ४८ उठेको छ भने सिँचाइ उपभोक्ताले ५८ लाख ५० हजार ५ सय ७६ रुपैयाँ महसुल तिरेको लेखा अधिकृत राईले बताए। त्यसैगरी सडक बत्तीवापत ५७ लाख ११ हजार ८ सय ३० उठ्दा ३३ लाख १ हजार ७ सय ६० रुपैयाँ महसुल यातायात क्षेत्रबाट उठेको छ।

त्यसैगरी मठ मन्दिरको महसुल ३ लाख ७४ हजार ८ सय ३९ रुपैयाँ उठेको छ। अस्थायी ग्राहकबाट अहिलेसम्म ३ लाख ९ हजार ४ सय १८ रुपैयाँ महसुल सङ्कलन भएको लेखा अधिकृत राईले बताएका छन्।

प्राधिकरणको बक्यौता रकम पनि उत्तिकै बढी उठ्न बाँकी छ। गएको वैशाख मसान्तसम्म बक्यौता रकमको आकार ६३ करोड २७ लाख ६८ हजार ५ सय ४० पुगिसकेको कार्यालयको अभिलेखले देखाएको छ। गत आर्थिकवर्षको असारसम्म बक्यौता महसुल ५९ करोड ६३ लाख ५४ हजार ५ सय १३ रुपैयाँ उठ्न बाँकी थियो। चालु वर्ष बक्यौता उठाउन लाइन काट्ने तथा पत्राचार गरेर ताकेता गर्दा पनि प्रगति हुन नसकेको केन्द्रले जनाएको छ। 

उदयपुरमा प्राधिकरणको सदरमुकाम गाईघाटमा वितरण केन्द्र रहेको छ भने चौदण्डीगढी नगरमुकाम बेलटार र कटारी नगरमुकाम कटारी बजारमा शाखा कार्यालयहरू रहेका छन्। तीनै कार्यालय मातहत ७६ हजार ९ सय ५१ ग्राहक सङ्ख्या पुगेको वितरण केन्द्र प्रमुख माधवप्रसाद यादवले बताए।

हाकिम यादवका अनुसार गाईघाट अन्तर्गत ३३ हजार ४ सय ४६ ग्राहक छन्। बेलटार शाखा अन्तर्गत २३ हजार ९ सय ९६ र कटारी शाखा मातहत १९ हजार ५ सय ९ ग्राहक उपभोक्ता रहेका छन्। उदयपुरको कूल भूभागमध्ये झण्डै ९० प्रतिशत उपभोक्तासमक्ष विद्युत् सेवा पुगिसकेको यादवले बताएका छन्।

वितरण केन्द्र उदयपुरको बक्यौता यति धेरै हुनुमा उदयपुर सिमेन्ट उद्योग लिमिटेडले तिर्न बाँकी महसुल मुख्य कारण हो। पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट मात्र ३५ करोड बढी महसुल बक्यौता रहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ आएपछि देशलाई लोडसेडिङ मुक्त बनाउने क्रममा उद्योगहरूलाई डेडिकेटेड फिडर र ट्रङक लाइनमार्फत २४ घण्टै सञ्चालन गर्ने गरी दिएको सुविधावापतको महसुल अहिलेसम्म नतिर्दा ठूलो परिमाणको बक्यौता उद्योगको दायित्वमा छ।

सरकारी उद्योग भएकाले हिसाब मिलान गर्ने गरी बाँकी रहेको बक्यौता मन्त्रिपरिषदबाट आन्तरिक व्यवस्थापन गर्न नसक्दा महसुल रकम व्याज र हर्जना चक्रवर्ती रूपमा बढ्दै त्यत्ति ठूलो आकारको बक्यौतामा परिणत हुन पुगेको उद्योग प्रशासनले जनाएको छ।

वितरण केन्द्र प्रमुख यादवले पछिल्लो समय विद्युत् प्रवाह अनियमित हुनाले पनि बक्यौता रकम उठाउन ताकेता गर्नै गाह्रो भएको बताए। कम क्षमताको लाइन, अत्यधिक उपभोक्ता चाप, बढ्दो गर्मी र विविध प्राविधिक कठिनाइले बत्ती नियमित दिन नसक्दा बक्यौता उठाउने नैतिक साहस गर्न कठिन भएको समस्या यादवले सुनाए।

छिनछिनमा झ्याप्प झ्याप्प बत्ती जाने समस्या र अघोषित लोडसेडिङले ग्राहक आक्रोसित भएर नियमित महसुल उठ्नै गाह्रो भइरहेका बेला बक्यौता उठाउने ताकेता गर्न नसक्ने उनको भनाइ छ। बत्ती अनियमित भएकै आक्रोसमा स्थानीयले अघिल्लो बिहान ४ घण्टा वितरण केन्द्रको कार्यालय घेराउसमेत गरेका थिए।

प्रकाशित: ५ असार २०८२ १२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App