३० असार २०८२ सोमबार
image/svg+xml
अर्थ

लक्ष्मीनियाँले ल्यायो पौने ४८ करोडको बजेट

शिक्षा-स्वास्थ्य र पूर्वाधार प्राथमिकतामा

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४७ करोड ७९ लाख ६४ हजार ६२५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

बुधबार आयोजित १३औँ गाउँसभामार्फत गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले ‘शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगार: लक्ष्मीनियाँ गाउँपालिकाको समृद्धिको आधार’ भन्ने मूल नारासहितको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरे।

बजेटमा भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राख्दै कुल बजेटको ४५ प्रतिशत रकम विनियोजन गरिएको छ।

त्यसैगरी, आर्थिक र सामाजिक विकासका लागि समान २०-२० प्रतिशत, संस्थागत विकास, सेवा प्रवाह र सुशासनका लागि १० प्रतिशत तथा वातावरण तथा विपद् व्यवस्थापनका लागि ५ प्रतिशत बजेट छुट्याइएको छ।

आगामी वर्षका लागि गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्त्वाकांक्षी कार्यक्रमहरू अघि सारेको छ। 

‘उत्कृष्ट शैक्षिक गन्तव्य: गाउँपालिकाको हाम्रो पहिचान’ को लक्ष्यसहित एक सामुदायिक विद्यालयलाई नमुनाको रूपमा विकास गर्ने र प्रत्येक माध्यमिक विद्यालयमा एक ‘नर्स’ को व्यवस्था गर्ने नीति लिइएको छ।

स्वास्थ्यतर्फ, गर्भवती महिलाका लागि ‘ग्रामीण अल्ट्रासाउण्ड’ अभियान सञ्चालन गरिनेछ भने ‘गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक’ कार्यक्रममार्फत अध्यक्ष स्वयं स्वास्थ्यकर्मीसहित ज्येष्ठ नागरिकको घरदैलोमा पुग्ने कार्यक्रम तय गरिएको छ।

बजेटको स्रोतका रूपमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १० करोड ४ लाख, राजस्व बाँडफाँड ८ करोड ९२ लाख १९ हजार, सशर्त अनुदान १७ करोड १९ लाख, समपूरक अनुदान १ करोड ४७ लाख र विशेष अनुदान ३ करोड २० लाख रुपैयाँ प्राप्त हुने अनुमान छ।

यस्तै, प्रदेश सरकारबाट राजस्व बाँडफाँडतर्फ ४८ लाख ३५ हजार, वित्तीय समानीकरणतर्फ ६९ लाख ९ हजार, सशर्त अनुदानतर्फ ८ लाख, समपूरक अनुदानतर्फ २० लाख र विशेष अनुदानतर्फ ३० लाख प्राप्त हुनेछ।

गाउँपालिकाले आन्तरिक राजस्वबाट ४० लाख र गत वर्षको मौज्दातबाट ५० लाख आम्दानी हुने अनुमान गरेको छ।

प्रकाशित: ४ असार २०८२ २०:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App