सुदूरपश्चिम प्रदेश सरकारले पनि आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गरेको छ। सरकारका आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले आइतबार (आज) आह्वान गरिएको प्रदेश सभाको बैठकमा ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट प्रस्तुत गरेका हुन्।
चालूतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार अर्थात् ३० दशमलव ४९ प्रतिशत विनियोजन गरिएको छ। यस्तै पुँजीगतर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार रुपैयाँ अर्थात् ५९ दशमलव २५ प्रतिशत विनियोजन गरिएको छ। प्रदेश सरकारले अन्तर्सरकारी वित्त हस्तान्तरणcन्तर्गत ३ अर्ब ४२ करोड ७७ लाख अर्थात् १० दशमलव २४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ करोड विनियोजन गरिएको उल्लेख गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक राजश्व परिचालनबाट १ अर्ब ६५ करोड, नेपाल सरकार राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम ९ अर्ब ८७ करोड २५ लाख, संघीय रोयल्टी बाँडफाँट भई प्राप्त हुने ८ करोड , नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८ अर्ब ९२ करोड ५६ लाख र चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम समेतबाट प्राप्त हुने ७ अर्ब ६६ करोड ६३ लाख ४८ हजार, सशर्त अनुदानबाट प्राप्त ४ अर्ब १६ करोड ३० लाख, संघीय सरकार समपूरक अनुदानबाट प्राप्त हुने ६० करोड २६ लाख, विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको ५१ करोड ६० लाख रुपैयाँ प्राप्त हुने बजेटमा अनुमान गरेको मन्त्री थापाले बजेट भाषणमा भनेका छन ।
बजेटमा कृषि, पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, पर्यटनलगायतका कार्यक्रमलाई बजेटमा प्राथमिकतामा राखिएको छ। यसैगरी उद्योग, जडीबुटी, ऊर्जा, सामाजिक न्याय, खानेपानी रोजगारमूलकल गायतका कार्यक्रमलाई बजेटमा राखिएको छ
सुदूरपश्चिममा एक स्थानीय तह दुई उत्पादन कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। ८८ स्थानीय तहमा १ सय ७६ पोकेट क्षेत्र स्थापना गरिने र यसका लागि ७० करोड ४० लाख बजेट विनियोजन गरिएको बजेट भाषणमा उल्लेख छ। यसबाट ५ हजार बढी किसान लाभान्वित हुने मन्त्री थापाले उल्लेख गरेका छन्।
भौतिक पूर्वाधार विकास मन्त्रालयलाई १५ अर्ब, ४० करोड ३० लाख १७ हजार बजेट विनियोजन गरिएको छ। उद्योग, वन र पर्यटन क्षेत्रका लागी २ अर्व ३४ करोड बजेट विनियोजन गरेको मन्त्री थापाले उल्लेख गरेका छन्।
डडेल्धुरा जडिबुटी संकलन र प्रशोधन केन्द्र स्थापनाका लागि बजेट विनियोजन गरिएको उल्लेख गरिएको छ । खप्तड, बढिमालिका, मालिकार्जुन शिखर, रामारोशन र सिगासधाम लगायतका पर्यटकिय स्थलहरुमा केबुलकार संचालन गर्न सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरिएको उनले उल्लेख गरेका छन् ।
बन क्षेत्रको अतिक्रमण हटाउन, हरियाली प्रवर्द्धनका लागि नर्सरी संचालन, बृक्षारोपण, बिरुवा उत्पादनलगायतका कार्यक्रम विस्तार गर्न बजेट व्यवस्था गरिएको उनले बताए ।
'एक घण्टा आफ्नै लागि' भन्ने नाराका साथ स्थानीय तह, निजी तथा गैरसरकारी क्षेत्रको सहकार्यमा सार्वजनिक स्थानमा खुला व्यायाम, आरोग्य केन्द्र, प्राकृतिक चिकित्सा, जुम्बा, ध्यान, योग केन्द्र र विपश्यना स्थापना गर्न आवश्यक बजेट विनियोजन गरिएको थापाले बताए ।
टीकापुरमा विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापना गर्न पूर्वाधार निर्माणका लागी ५ करोड ५० लाख विनियोजन गरेको उल्लेख छ ।
प्रकाशित: १ असार २०८२ २१:४८ आइतबार