२९ असार २०८२ आइतबार
image/svg+xml
अर्थ

पर्यटन व्यापार ८६ अर्ब घाटामा

पर्यटकबाट आम्दानीभन्दा नेपाली विदेश जाँदाको खर्च बढी

नेपालमा पर्यटनको प्रचुर सम्भावना भएर पनि विदेशबाट नेपाल घुम्न आउने पर्यटकले भन्दा नेपाली विदेश जाँदा ठुलो धनराशि खर्च गर्ने गरेका छन्। विदेशी पर्यटकको आगमनबाट हुने भ्रमण आयभन्दा नेपालीले विदेश जाँदा करिब साढे ८६ अर्ब रुपैयाँ धेरै रकम खर्च गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यसरी हेर्दा नेपालको पर्यटन व्यापार घाटा ८६ अर्ब ५३ करोड रुपैयाँ देखिन्छ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा भ्रमण आय ८.६ प्रतिशतले वृद्धि भई ७५ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। यसको अर्थ यो रकम नेपाल आउने विदेशी पर्यटकबाट आम्दानी भएको हो।

विदेशी पर्यटकले नेपालमा आएर गरेको खर्चभन्दा नेपालबाट विदेश गई नेपालीले गरेको खर्च १७.९ प्रतिशतले बढेको छ। नेपालीले विदेश भ्रमण गर्दा एक खर्ब ८५ अर्ब तीन करोड रुपैयाँ खर्च गरेका छन्। भ्रमण व्ययमा नेपालबाट विदेश घुम्न जाने, अध्ययनका लागि जाने, रोजगारीका लागि जाने खर्चमा लिइन्छ।

विदेशी पर्यटकबाट नेपाललाई हुने आम्दानीभन्दा नेपाली विदेश जाँदा ८६ अर्ब ५३ करोड रुपैयाँ धेरै खर्च खर्च गरेका छन्। कोभिड १९ ले थला परेको पर्यटन क्षेत्रमा उल्लेखनीय सुधार भए पनि पर्यटन व्यापारमा भने नेपालले ठुलो घाटा बेहोरिरहेको छ। नेपालीहरू विदेश घुम्न जाने संख्यामा वृद्धि भएको छ।

पर्यटक नेपाल आउँदा गर्ने खर्चभन्दा नेपालीले विदेश जाँदा खर्च गर्ने रकम ठुलो हुनु चिन्ताको विषय हो। विदेशी पर्यटक नेपाल आउँदा विदेशी मुद्रा भित्रिन्छ। यसको सकारात्मक प्रभाव सेवा क्षेत्रको आयमा पर्छ। नेपाली विदेश घुम्न जाने प्रचलन पनि बढेको छ। उच्च आम्दानी हुनेदेखि कर्पोरेट हाउसहरूले विदेशमा विभिन्न कार्यक्रम आयोजना गरेर भ्रमणमा जाने गरेका छन्।

केही व्यक्तिको आयमा ठुलो परिवर्तन भएको र घुम्न जाने प्रचलन बढेकाले भ्रमण व्यय बढेको नेपाल राष्ट्र बैंका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए। ‘कर्पोरेट हाउस, बैंक, बिमा कम्पनीहरूले पनि प्याकेज बनाएर विदेश भ्रमणमा लैजाने गरेका छन्,’ थापाले भने, ‘विदेश पढ्न जाँदा पनि खर्च हुने गरेको छ।’ नेपाली विमान कम्पनी नभएको कारण पनि भ्रमण व्ययमा धेरै खर्च देखिएको छ।

नेपाली विद्यार्थी विदेश अध्ययन गर्न जाँदा पनि ठुलो रकम बिदेसिएको छ। राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनामा शिक्षातर्पmको व्यय एक खर्ब १२ अर्ब ४४ करोड रुपैयाँ छ। नेपालबाट अस्ट्रेलिया, अमेरिका, जापान, बेलायत, क्यानाडा, भारतलगायत युरोपेली मुलुकमा विद्यार्थी जाने गरेका छन्। विदेश अध्ययन गर्न जाने विद्यार्थीले डलरमा रकम लैजाने गरेका छन्। सँगै उनीहरू जाँदा जहाजको टिकटमा पनि खर्च हुन्छ।

यद्यपि विदेशमा अध्ययन तथा रोजगारीमा जानेले पछि रेमिटेन्सका रूपमा रकम पठाउँछन्।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेपछि विदेशबाट रेमिटेन्स आउने क्रम भने बढेको छ। चालु आर्थिक वर्षको १० महिनामा करिब साढे १३ खर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ। चालु आर्थिक वर्षको वैशाखसम्म विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि भई १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।

गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो। यो वर्षको वैशाख महिनामा मात्र एक खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ विप्रेषण आएको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ थियो। गत आवसँग तुलना गर्दा पोहोरभन्दा यो वर्षको वैशाखमा करिब ४९ अर्ब रुपैयाँ धेरै रेमिटेन्स आएको छ।

प्रकाशित: ३० जेष्ठ २०८२ ०७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App