२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

बोर्डको स्वीकृतिबिनै विज्ञापन प्रसारण गरे कारबाही, सबै सामग्री अनिवार्य परीक्षण गर्न निर्देशन

विज्ञापन बोर्डले नेपालभित्र प्रसारण हुने सबै श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण गर्नुअघि अनिवार्य रूपमा बोर्डबाट परीक्षण गराई प्रसारण अनुमति लिन सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको छ।

बोर्डले सोमबार जारी गरेको सूचनामा बोर्डको स्वीकृति नलिई विभिन्न सञ्चारमाध्यमबाट विज्ञापन प्रसारण भइरहेको पाइएको उल्लेख गरेको छ। साथै, केही विज्ञापनमा विज्ञापनकर्ताको नाम, ठेगाना, चेतावनीमूलक सन्देशलगायत अनिवार्य विवरण समावेश नगरिएको र तथ्यहीन, अतिरञ्जित तथा उपभोक्तालाई भ्रममा पार्ने सामग्रीसमेत प्रसारण भइरहेको जनाएको छ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १५ (ख), विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ को नियम ५ तथा विज्ञापन प्रसारण सामग्री परीक्षणसम्बन्धी मापदण्ड, २०७८ (पहिलो संशोधन, २०८०) अनुसार विज्ञापन सामग्रीको परीक्षण तथा प्रसारण अनुमति दिने अधिकार विज्ञापन बोर्डलाई रहेको बोर्डले स्पष्ट पारेको छ।

बोर्डले हालसम्म परीक्षण नगराई प्रसारण भइरहेका सबै विज्ञापन सामग्री तत्काल परीक्षण गराई कानुनी प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। साथै, प्रचलित कानुनविपरीत रहेका विज्ञापन सामग्री तत्काल हटाउन पनि निर्देशन दिएको छ।

बोर्डले कानुनी व्यवस्था उल्लंघन गरी विज्ञापन प्रसारण गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।

प्रकाशित: ११ श्रावण २०८३ २१:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App