नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले सरकारले ल्याएको नयाँ बजेट अव्यवहारिक भएको भन्दै विरोध जनाएको छ। संघले नारायणगढमा (आज) पत्रकार सम्मेलनको आयोजना गरी सुन तथा सुनका गहनामा लागू गरिएको कर नीति अव्यवहारिक भएको भन्दै विरोध जनाएको हो ।
सरकारले सुनचाँदी, हिरा, जवारहतरा तथा हस्तकला व्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई समेत प्रत्यक्ष रुपमा असर पर्ने गरी विलासिता शुल्क र भ्याटको नाममा चर्को भार पार्न खोजेको संघका अध्यक्ष हेम बहादुर विश्वकर्माले बताए । सुन विलासिताको वस्तु नभई नेपाली धर्म संस्कृति अनुसार अत्यावश्यक वस्तुका रुपमा हेरिने भएकाले सरकारले सुनमा लगाइएको कर तत्काल खारेज गर्नुपर्ने उनले बताए । सुनमा कर लगाउँदा व्यवसायीलाई मात्र नभई उपभोक्तालाई असर पर्ने उनको भनाई छ । यस करले उपभोक्तालाई प्रतितोला १२ हजार रुपैयाँसम्म बढी भार पर्ने व्यवसायीले बताएका छन् ।
यस्तै सरकारले बजेट मार्फत जारी गरेको हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि करले उपभोक्तालाई अझ थप महँगीको भार बोकाउन खोजिएको उनीहरूको आरोप छ । हिरा जवाहरात जडित गहनारात जडित गहनामा लागु गरिएको मूल्य अभिवृद्धि कर तत्काल पुन बिचार गरी खारेज, सुनका गहनामा गरिएको २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने माग समेत राखेका छन् । साथै व्यवसायीले छिमेकी मुलुक भारतमा सरहनै नेपालमा पनि भन्सार दर ६ प्रतिशत कायम गर्न माग गरेका छन् । यसैबिच व्यवसायीले हातमा कालोपट्टि बाँधेर विरोध समेत गरेका छन् ।
प्रकाशित: २९ जेष्ठ २०८२ १८:४७ बिहीबार





