२५ माघ २०८२ आइतबार
image/svg+xml
अर्थ

प्राविधिक धारतर्फको शिक्षाका लागि पालिकाबाट थप अनुदान उपलब्ध गराउँदै आठराई त्रिबेणी

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले नमूना विद्यालयमा सञ्चालित प्राविधिक धारतर्फको शिक्षाका लागि पालिकाबाट थप अनुदान व्यवस्थापन गर्ने भएको छ।

पालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन)का अनुसार संघीय र प्रदेश सरकारले उपलब्ध गराएको अनुदानमा स्थानीय सरकारको स्रोत समेत समावेश गरी नमूना विद्यालयमा सञ्चालित प्राविधिक शिक्षाको शैक्षिक र भौतिक पूर्वाधार विकासका लागि अनुदान उपलब्ध गराउन अनुदान निर्देशिका जारी गरिएको हो। जारी गरिएको निर्देशिका कार्यपालिकाले स्वीकृत गरी लागू गरेको पालिकाले जनाएको छ।

अनुदानमार्फत विद्यालयको प्राविधिक धारतर्फको शिक्षालाई व्यवस्थित गर्न भौतिक पूर्वाधार ल्याब व्यवस्थापन, प्रयोगात्मक कक्षको सुधार तथा शिक्षक विद्यार्थी प्रोत्साहन लगायत पोशाक, छात्रावृत्ति, शैक्षिक सामग्री, पाठ्यपुस्तक, खेलकुद, आवासीय प्रबन्ध जस्ता शैक्षिक पूर्वाधार क्षेत्रमा खर्च गर्न पाइने प्रबन्ध कार्यविधिले गरेको छ। कार्यविधिमा प्रचलित कानुन विपरीत कार्य गर्ने व्यक्ति, विद्यालय शिक्षक कर्मचारी, विद्यार्थी, अभिभावक र विद्यालय रहेको समुदायको प्रतिकूल हुने गरी काम गर्ने गराउने व्यक्तिलाई दण्ड र विद्यालयको सर्वाङ्गिण विकासका लागि हितकारी काम गर्ने गराउने व्यक्तिलाई सम्मानको समेत व्यवस्था गरिएको छ।

अनुदानका लागि प्राविधिक पढाई हुने विद्यालयले अनुदान प्राप्तिका लागि गाउँपालिकाको वार्षिक बजेट तथा योजना पुस्तिकामा विनियोजित बजेटको शीर्षक बमोजिम विद्यालयलाई आवश्यक पर्ने सम्बन्धित क्षेत्रका कार्यहरू गर्न प्रस्तावना स्वीकृत गरी आवश्यक कागजातसहित गाउँपालिकामा आवेदन दिनुपर्ने हुन्छ। प्रस्तावना पेस गर्दा शैक्षिक पूर्वाधारतर्फ थप व्यवस्थापन अनुदान शीर्षकमा पालिकाबाट विनियोजन भएको बजेटको हकमा कम्तीमा ४० प्रतिशत प्राविधिक धारतर्फको ल्याब तथा अन्य प्रयोगात्मक कक्षा सञ्चालनमा आवश्यक पर्ने सामग्री व्यवस्थापनमा खर्च गर्ने गरिको पस गर्नुपर्ने हुन्छ। 

६० प्रतिशत रकम विद्यार्थी तथा शिक्षकको प्रोत्साहन तथा सहजीकरणका लागि खर्च हुने गरी परियोजना प्रस्ताव पेस गर्न सकिने तथा सोही अनुसार खर्च व्यवस्थापन गर्नुपर्ने निर्देशिकाले भनेको छ। पेस भएका परियोजना प्रस्तावलाई गाउँपालिकाले आवश्यक जाँचबुझ गरी हाल उपलब्ध गराएको सुविधा, विद्यार्थी संख्या, शिक्षकको दरबन्दी तथा पदपूर्तिको अवस्था र अन्य शैक्षिक उपलब्धिका आधारमा विद्यालयको तर्फबाट पेस भएको प्रस्तावनालाई संशोधन गर्न निर्देशनसहित प्रस्तावना स्वीकृत गर्न सक्ने छ।

प्रस्तावना स्वीकृत भएको विद्यालयलाई पालिकाले विद्यालयको खातामा पेश्की स्वरुप वा पूरै रकम नियमानुसार उपलब्ध गराउन सक्ने व्यवस्था कार्यविधिले गरेको छ। अनुदानको उपयोगिता अनुगमन गर्न पालिका अध्यक्षको संयोजकत्वमा पालिका अध्यक्ष अध्यक्ष रही पालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको कर्मचारी र सम्बन्धित वडाको वडाध्यक्ष सदस्य रहेको समिति बन्ने छ। कार्यविधिले समितिको सदस्य सचिवको जिम्मेवारी पालिकाका शिक्षा शाखाका प्रमुखलाई दिएको छ।

अनुदान रकम तोकिए अनुसार खर्च नभएमा, हिनामिना भएमा वा तोकिएको शीर्षक बाहेक खर्च गरेको देखिएमा खर्च लेख्ने कार्यमा संलग्न पदाधिकारी वा जिम्मेवार व्यक्तिहरूबाट सरकारी बाँकी सरह असुल गरी अन्य आवश्यकीय कानुनी कारबाही अघि बढाउन सकिने अधिकार कार्यविधिले अनुगमन समितिलाई दिएको छ।

प्रकाशित: १७ जेष्ठ २०८२ १३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App