१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

सुदूरपश्चिमको समृद्धिको ढोका खोल्दै महाकाली करिडोर

दार्चुलाको मालिकार्जून गाउँपालिका-५ डाडाकोटका नरेश अवस्थी नेपाल, भारत र चीनसँगको त्रिदेशीय नाका तिङ्करसम्म महाकाली करिडोर बन्ने भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सिर्जना हुनेमा आशावादी छन्।

हालसम्म छिमेकी मुलकसँग व्यापारिक नाका नभएका कारण पनि महाकाली करिडोर त्रिदेशीय व्यापारिक नाका बन्ने र सुदूरपश्चिम व्यापारिक हब बन्ने उनको बुझाइ छ। लामो समय शिक्षण पेशामा लागेका उनी अहिले व्यावसायिक रूपमा कृषिमा लागेका छन्। तर भारतसँगको सहज कनेक्टिभिटि नहुँदा सुदूरपश्चिमले आर्थिक लाभ लिन नसकेको उनको तर्क छ। 'महाकाली करिडोर निमार्णपछि सुदूरपश्चिम मात्रै नभई मुलुककै आर्थिक विकासमा कोसेढुङ्गा सावित हुने अपेक्षा गरेका छौँ,' उनले भने, 'सुदूरपश्चिम आर्थिक गतिविधिमा न्युन छ, हाम्रो लागि सम्भावना भनेकै महाकाली करिडोर हो यसलाई राज्यले प्राथमिकताका साथ अगाडि बढाओस।'

दार्चुलाको तिङ्करदेखी कञ्चनपुरको ब्रह्मदेवसम्म महाकाली नदीको किनारै किनार निर्माण हुने करिडोरले यहाँको सामाजिक, आर्थिक क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ।

भारतका सबैभन्दा ठूला र महत्वपूर्ण, ठूला आर्थिक गतिविधि र जनसङ्ख्या भएका अनि औद्योगिक करिडोर भएका सहरसँग नजिकबाट जोडिएको छ। त्यति मात्रै होइन, उत्तरतिर चीनको सीमासम्म जान पनि सबैभन्दा राम्रो सरल पहुँच हुनेछ।

महाकाली करिडोर निर्माण भए कञ्चनपुरदेखि दार्चुलासम्म महाकाली किनारैकिनार छोटो दूरीमा यात्रा गर्न सकिने यहाँका स्थानीयको अपेक्षा छ। करिडोरले महाकाली किनारका बस्तीलाई सडक सञ्जालमा जोड्ने र लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता हट्ने दार्चुलाको मालिकार्जून गाउँपालिका-५ का वडा अध्यक्ष मदन चन्द बताउँछन्। 'करिडोर सञ्चालनमा आइदिए त यहाँका जनतालाई धेरै फाइदा हुन्थ्यो,' चन्दले भने, 'यहाँबाट कञ्चनपुर घुमाउरो बाटो भएर आवतजावत गर्नुपर्ने बाध्यताबाट मुक्त भइन्छ।' उनले महाकाली करिडोर सञ्चालनमा आए सुदूर पहाडका जनताको आर्थिक अवस्थासमेतमा सुधार आउने बताए। 

ब्रह्मदेवदेखि महाकाली किनार हुँदै डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाको तिङ्करनाकासम्म यातायातको सहज पहुँच विस्तार गरी सुदूरपश्चिम प्रदेश तथा मुलुकको विकासमा कोसे ढुङ्गा सावित हुने अपेक्षा दार्चुलाको लेकम गाउँपालिकाका स्थानीय कोमल विष्ट बताउँछन्। 'करिडोर निर्माणपछि आर्थिक हिसाबले सुदूरपश्चिमलाई फाइदा हुन्छ नै यसले धार्मीक पर्यटनको सम्भावना पनि बढाउँछन्,' विष्टले भने, 'सहज आवागमन र आर्थिक गतिविधि बढाउन करिडोर प्रमुख आधार हो।'

करिडोर बनेपछि कञ्चनपुरको ब्रह्मदेव, डडेल्धुरा जिल्लाको जोगबुढा, बैतडी जिल्लाको पन्चेश्वर, चमेलिया, दार्चुला जिल्लाको लाली, उकू, खलङ्गा, धारी, हिकिला, हुती, धौलाकोट र सुन्सेरा हुँदै तिङ्कर नाकासम्म सडक निर्माण गरी उक्त क्षेत्रको आर्थिक सामाजिक साँस्कृतिक पर्यटकीय साथै शैक्षिक विकासमा योगदान पुर्याउने छ। 

महाकाली करिडोर अन्तर्गत महेन्द्रनगरमा सिद्धवैजनाथ, डडेल्धुरामा परशुरामधाम, बैतडीमा त्रिपुरा सुन्दरी, मेलौली भगवती र निङ्लाशैनीजस्ता प्रसिद्ध धार्मिक स्थल छन्। त्यसैगरी दार्चुलामा राष्ट्रकै चौथो धामका रूपमा परिचित मालिकार्जुन धामजस्ता प्रसिद्ध धार्मिक स्थल रहेकाले करिडोरले धार्मिक पर्यटनसमेतमा टेवा पुग्ने पर्यटन व्यवसायी बताउँछन्। उनले अझै पनि भारतबाट यहाँका प्रसिद्ध धाममा भारतीय धार्मिक पर्यटन आउने गरेको बताउँदै करिडोरले आवागमनमा सहज भएपछि यहाँ धार्मिक पर्यटनको फष्टाउने बताए।

कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक ३३४ किलोमिटर सडक महाकाली लोकमार्ग आयोजना कार्यालय र ७९ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको महाकाली करिडोर सडक (ब्रह्मदेव-झुलाघाट-दाचुला-तिङ्करसडक) योजना कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी रामचन्द्र जैशीले हालसम्म करिडोरको २३० किलोमिटर ट्र्याक खुलेको जानकारी दिए। उनका अनुसार अझै ५५ किलोमिटर ट्र्याक खोल्न बाँकी छ। करिडोर अन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ५८ किमी, बैतडीमा १४४ किमी र दार्चुलामा १२१ किमी सडक निर्माण हुनेछ। जसमध्ये कञ्चनपुरमा ११ किमी ट्रयाक खुलिसकेको छ भने डडेल्धुरामा २८ किमी ट्रयाक खुलेको छ। त्यसैगरी बैतडीमा ११४ किमी र दार्चुलामा ७७ किमी ट्रयाक खुलेको छ।

योजनाका लागि चालु आर्थिक वर्षमा रु ४१ करोड ५० लाख बजेट विनियोजन भएको सूचना अधिकारी जोशीले बताोए। 'बजेट अभावका कारण निर्माण व्यवसायीलाई भुक्तानी दिन सकेत समस्या भएको छ, चालु आर्थिक वर्षमा आएको बजेटमध्ये १७ करोड गत आवको भुक्तानी दायित्व थियो,' उनले भने, 'न्यून बजेट र रुख कटानलगायत प्रक्रियागत अल्झनका कारण निर्माणमा ढिलाइ भइरहेको छ।'

महाकाली करिडोसँगै कञ्चनपुरको महाकाली नदीमा बनेको चार लेनको पक्की पुल र दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणपछि मुलुककै समृद्धि हुने अपेक्षा व्यवसायीहरूको छ।

सुदूरपश्चिम प्रदेशका चार जिल्ला कन्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्दै नेपाल र चीनको ताक्लाकोटको सीमामा रहेको पिल्लर नं १ सम्म निर्माण हुने यस सडक योजनाबाट उक्त क्षेत्रमा बसोबास गर्ने करिब एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने सरकारको अपेक्षा छ। त्रिदेशीय नाका भएका कारण व्यापारिक महत्व धेरै नै रहेको र धार्मिक हिसाबले कैलाश मानसरोवर भ्रमणको लागि छोटो बाटोको रूपमा प्रयोग हुने छ। निर्माण सम्पन्नपछि यहाँको आर्थिक, सामाजिक, साँस्कृतिक, पर्यटकीय साथै शैक्षिक विकासमा टेवा पुग्ने छ।

प्रकाशित: १७ जेष्ठ २०८२ ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App