उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुदूरपश्चिम प्रदेशका महत्त्वपूर्ण योजना समेटिएका छन्।
बजेटमा निजी क्षेत्र र पर्यटन बोर्डको सहकार्यमा कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र निर्माण अघि बढाइने उल्लेख छ। पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि शुक्लाफाँटा–खप्तड पदयात्रा निर्माण, दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण, पूर्व–पश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया सडक खण्डको स्तरोन्नति र महाकाली करिडोरअन्तर्गत ब्रह्मदेव–झुलाघाट–तुसारपानी खण्डको स्तरोन्नति गरिने बजेटमा उल्लेख छ।
पूर्व–पश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया सडक खण्डको स्तरोन्नतिका लागि रु २१ अर्ब १९ करोड बजेट विनियोजन गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मध्य तथा उच्च पहाडी जिल्लाका ८० स्थानीय तहमा उच्च मूल्यका बालीको खेती प्रवर्द्धन गर्न रु ८३ करोड बजेट विनियोजन गरिएको छ।
आगामी आर्थिक वर्षभित्र लगत सङ्कलन र प्रमाणीकरण गरी पाँच लाख परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र उपलब्ध गराइने छ। पर्यटन प्रवर्द्धनका लागि शुक्लाफाँटा, खप्तड, रामारोशन र बुढीनन्दामा पदमार्ग विकास गरिने बजेटमा उल्लेख छ।
डडेल्धुराको अजयमेरु विमानस्थलको विस्तृत प्रतिवेदन तयार गर्न बजेट विनियोजन गरिएको छ। कैलालीको गेटामा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने छ।
डडेल्धुरामा निर्माणाधीन तथा प्रस्तावित मेडिकल कलेजको पूर्वाधार निर्माण अघि बढाइने छ। कैलाली र कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायमा गम्भीर स्वास्थ्य समस्याको रूपमा रहेको सिकलसेल एनेमिया रोगको निदान र उपचारका लागि नवीनतम प्रविधि अवलम्बन गरिने छ।
कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट स्टेडियम निर्माण अघि बढाइने भएको छ। दोधारा–बरेली ४०० केभी क्षमताको राष्ट्रिय तथा अन्तरदेशीय प्रसारण लाइनको निर्माण अघि बढाइने छ। चमेलिया–जौलजीबी २२० केभी प्रसारण लाइनको अध्ययन सम्पन्न गरी निर्माण शुरू गरिने छ। कैलालीमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी जमरा कुलरिया आयोजनाबाट उत्पादन हुने विद्युत् बिक्री गरी प्राप्त रकम नेपाल सरकारको सञ्चित कोषमा दाखिला गरिने बजेटमा उल्लेख छ। रानी जमरा कुलरिया आयोजना र महाकाली सिँचाइ आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गरिने छन्।
कञ्चनपुर र कैलालीलगायत जिल्लामा निर्माणाधीन हुलाकी राजमार्गको निर्माण दुई वर्षभित्र सम्पन्न गरिने छ। पूर्व–पश्चिम राजमार्गदेखि जिल्ला सदरमुकाम जोड्ने मोहनापुल–अत्तरिया सडकमा व्यापारिक मार्गको निर्माण सम्पन्न गरिने छ। डडेल्धुराको रुपालसम्मको बस्ती र बजार जोड्न मदन भण्डारी राजमार्ग निर्माणका लागि रु दुई अर्ब ५१ करोड बजेट विनियोजन गरिएको छ। अत्तरिया–खोडपे–दार्चुला सडक खण्डको विस्तृत अध्ययन सम्पन्न गरी ‘डेडिकेटेड डबल लेन’ मा स्तरोन्नति शुरू गरिने छ।
महाकाली करिडोरअन्तर्गत ब्रह्मदेव–झुलाघाट–तुसारपानी सडक खण्डको स्तरोन्नति र तुसारपानी–टिङ्कर सडक खण्डको ट्र्याक खोल्न आवश्यक बजेट विनियोजन गरिएको छ। रणनीतिक तथा व्यापारिक महत्त्वका खुटिया–दिपायललगायतका सडकको स्तरोन्नतिका लागि आवश्यक रकम विनियोजन गरिएको छ। रासस
प्रकाशित: १५ जेष्ठ २०८२ २१:५२ बिहीबार





