३ असार २०८२ मंगलबार
image/svg+xml
अर्थ

गाउँ र सहर जोड्ने ‘पर्यटन मार्ट’ पोखरामा

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना र गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकीको सहआयोजनामा शुक्रबारदेखि पोखरामा गाउँ पर्यटन मार्ट सुरु भएको छ।

गण्डकी प्रदेशका २७ होमस्टेका साथै कोशी प्रदेश र बन्दीपुरका पर्यटन सम्बद्ध प्रतिनिधि मार्टमा सहभागी छन्। मार्टमा होमस्टे सञ्चालकहरूले आफ्ना सेवा, प्याकेज र आकर्षणबारे जानकारी दिएका छन् भने गाउँ पर्यटनसँग सम्बन्धित विभिन्न विषयमा छलफल सत्रहरू सञ्चालन भएका छन्।

मार्टको उद्‌घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले गाउँ पर्यटन विकास सरकारको प्राथमिकतामा रहेको बताए। उनले यसका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले होमस्टे केवल गाउँमा सीमित भएर नचल्ने बताउँदै सहरका मानिसलाई गाउँ पुर्‍याउनुपर्नेमा जोड दिए। उनले गाउँ र सहरलाई पर्यटकीय रूपमा जोड्न मार्ट आयोजना गरिएको बताए।

मार्टमा सञ्चार, उद्योग, व्यवसाय र पर्यटनसँग सम्बन्धित व्यक्तिहरूबाट छलफल र विचारविमर्श हुने जनाइएको छ। भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले गाउँ पर्यटनको विकास र होमस्टे व्यवसायलाई प्रभावकारी बनाउन मार्ट उपयोगी हुने विश्वास व्यक्त गरे।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले हरेक गाउँमा पर्यटकीय सम्भावना रहेको बताउँदै गाउँ पर्यटनको विकासमार्फत ती सम्भावना उजागर गर्न सकिने बताए। मार्ट भोलिसम्म चल्ने आयोजकले जनाएको छ। रासस

प्रकाशित: १० जेष्ठ २०८२ १३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App