१० माघ २०८२ शनिबार
image/svg+xml
अर्थ

नेपाल वायुसेवा निगमलाई प्रभावकारी बनाउनुपर्नेमा ढकालको जोड

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई प्रभावकारी बनाएर सञ्चालन गर्न सुझाव दिएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग र नेपाल पर्यटन बोर्ड तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आयोजनामा आजदेखि यहाँ सुरु भएको तेस्रो बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बिआइटिएम) को उद्घाटन कार्यक्रममा उनले कनेक्टिभिटीका लागि नेपाल वायुसेवा निगमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

उनले भने, ‘हाम्रा दुई छिमेकी देशहरू भारत र चीनमा बौद्ध अनुयायीहरूको सङ्ख्या बढी छ। उनीहरू यहाँ आउन इच्छुक छन्। हामीले छिमेकी मुलुकबाट पर्यटक ल्याउन योजना बनाउनुपर्छ। यहाँका उत्पादनको ‘ब्रान्डिङ’ गर्नुका साथै पर्यटक लक्षित ‘प्याकेज’हरू तयार गर्नुपर्छ।’

पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकाससँगै कनेक्टिभिटी बढाउन सरोकारवाला निकायलाई ढकालले आग्रह गरे। मार्टले नेपाललाई बौद्ध पर्यटन केन्द्रका रूपमा स्थापित गर्न मद्दत गर्ने उल्लेख गर्दै उनले मार्टलाई परिष्कृत गरी ब्रान्डका रूपमा विकास गर्नुपर्ने बताए।

उनले बौद्ध पर्यटन प्रवर्द्धनका लागि नेपालको लुम्बिनीसहित बुद्धसँग सम्बन्धित तीर्थस्थलहरू र भारतका तीर्थस्थलहरूसँग जोडेर ‘बौद्ध सर्किट’ विकास गर्नुपर्ने सुझाए। विश्वभरका बौद्ध धर्मावलम्बीलाई कम्तीमा एकपटक लुम्बिनी भ्रमण गर्नुपर्छ भन्ने सन्देश दिन र पर्यटक आगमन बढाउन सकेमा नेपाल आर्थिक रूपमा सबल हुने र पर्यटनको आयाम परिवर्तन गर्न सकिने उनको भनाइ छ।

अर्बौँको लागतमा बनेका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन नहुँदा पर्यटकको आवागमन उल्लेख्य रूपमा नबढेको ढकालले बताए। विमानस्थल सञ्चालनका लागि ठोस पहल गर्न उनले सरकारसँग आग्रह गरे।

‘गौतमबुद्धको जन्मस्थल लुम्बिनीको सम्भावना र सोही विमानस्थललाई हेरेर निजी क्षेत्रले ठूलो लगानी गरेको छ। तर, विमानस्थल सञ्चालनमा नआउँदा लगानी गुम्ने जोखिम बढेको छ। यो विषय पोखरा विमानस्थलमा पनि लागू हुन्छ। यसप्रति सरकार संवेदनशील हुनुपर्छ,’ उनले भने। बिआइटिएमले लुम्बिनीमा आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकको बसाइ लम्ब्याउन र लुम्बिनीलाई महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न मद्दत गर्ने उनको भनाइ छ।

‘लुम्बिनीको आध्यात्मिक वातावरण ध्यान कक्षाहरूका लागि उपयुक्त छ। आजको समयमा सूचना र प्रविधिको प्रयोगले मानिसहरू शान्ति, सजगता र दैनिक तनावबाट विश्राम खोजिरहेका छन्। लुम्बिनीले स्वस्थ पर्यटन प्रवर्द्धनका लागि आदर्श र शान्त वातावरण प्रदान गर्छ। हामी धार्मिक पर्यटकलाई लक्षित गरेर कल्याणकारी कार्यक्रमहरू विकास गर्न सक्छौँ,’ ढकालले भने।

नेपालको हवाई भाडा महँगो भएको र सरकारले टिकटमा भ्याट लगाउँदा भाडा थप महँगिएको भन्दै उनले यसमा समीक्षा गर्न आग्रह गरे। भारतीय पर्यटकले नेपाल आउँदा २५ हजार भारतीय रुपैयाँ मात्र ल्याउन पाउने प्रावधान परिमार्जन गरी अन्य देशका पर्यटकले जस्तै पाँच हजार अमेरिकी डलरसम्मको मुद्रा ल्याउन पाउने व्यवस्था गर्नुपर्ने उनले सुझाए।

नेपालमा पर्यटनको सम्भावना धेरै रहेको भन्दै ढकालले सरकार र निजी क्षेत्रको सहकार्यबाट लाभ लिन सकिने बताए। विदेशी लगानीकर्तालाई पनि यहाँको पर्यटन क्षेत्रमा सम्भावना रहेको भन्दै ढुक्कसँग लगानी गर्न उनले आग्रह गरे। रासस

प्रकाशित: ९ जेष्ठ २०८२ १९:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App