८ असार २०८२ आइतबार
image/svg+xml
अर्थ

लयमा फर्किन संघर्षरत पोखराको प्याराग्लाइडिङ

मुस्किलले जोगाएका छौः व्यावसायी

पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ। फाइल तस्बिरः नागरिक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउनुअघि (झन्डै अढाई वर्ष अघि) सम्म पोखराको आकाशमा प्याराग्लाइडिङ उडानका लागि ६१ वटा कम्पनिले सरकारबाट अनुमति लिएका थिए। त्यो बेला पोखरामा मात्र प्याराग्लाइडिङ उडान गर्नका लागि ३ सय ८९ जना पाइलट तयार भएका थिए। दिनहुँ सयौं उडान हूँदा पाइलटले पर्याप्त काम पाएका थिए, व्यवासायीले गोजीमा आम्दानी राख्न पाएका थिए।  

तर, जब विमानस्थल संचालनमा आउने दिन नजिकियो, त्यसपछि सराङकोटको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडान विस्थापित भयो। सराङकोटबाट बिस्थापित भएर करिब पाँचकिलोमिटर पश्चिमको मान्द्रेढुंगा सरेको प्याराग्लाइडिङ एकाएक पोखराबाट ओझेलमा पर्यो। 

यतिसम्म की सराङकोटको आकाशमा उडिरहेका प्याराग्लाइडिङ देख्दा लेकसाइडमा घुमिरहेका र फेवातालमा डुंगा सयर गरिरहेका पर्यटकले प्याराग्लाइडिङमा उडेका पर्यटकले रोमाञ्चक अनुभव बटुलेको देख्थे। त्यसपछि कतिपय त्यही रोमाञ्चकता र साहसिक अनुभव बटुल्न सराङकोटतिर हानिन्थे। त्यसको लाभ पर्यटन व्यावसायीले लिएका थिए।  

तर, जब विमानस्थल संचालनमा आउने दिन नजिकियो, प्याराग्लाइडिङ उडान पनि सराङकोटको आकाशबाट रित्तियो। दिनहुँ सयौं उडानका लागि पुग्ने पाइलट र पर्यटकको आउजाउका कारण सराङकोट क्षेत्र चलायमान बनेको भएपनि प्याराग्लाइडिङ हटेसँगै सराङकोट सुनसान बन्यो। विमानस्थलको असर त्यत्तिमा मात्र सीमित रहेन, सराङकोटबाट हटेर पाँचकिलोमिटर पश्चिमको मान्द्रेढुंगा पुगेको प्याराग्लाइडिङको उडान पोखराबाट देखिनै छाड्यो। प्याराग्लाइडिङ उडानको त सुइको समेत पाउन छाड्यो। पोखरा आएका पर्यटकले प्याराग्लाइडिङ देख्नै नपाएपछि उड्ने पाहुना पनि एकाएक कमी भए।  

‘सराङकोटको आकाशमा उडिरहेको प्याराग्लाइडिङ मान्द्रेढुंगा सरेको मात्र के थियो, सबैतिरबाट गुमनाम जस्तै बन्यो। न त आकाशबाट पोखरा देखियो, न पोखराबाट प्याराग्लाइडिङ देखियो। पोखरामा प्याराग्लाइडिङ उडान हुन्छ र भन्ने दिन पनि आए,’ प्याराग्लाइडिङ व्यावसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) का पूर्व अध्यक्ष कृष्ण भण्डारी भन्छन, ‘एकाएक व्यावसाय सुस्तायो। प्याराग्लाइडिङको उडान मान्द्रेढुंगा सरेको असर प्याराग्लाइडिङ व्यावसायीलाई मात्र परेन, समग्र पर्यटन क्षेत्रमा असर थपियो।’

कोरोना भाइरस संक्रमणबाट थलिएको पर्यटन क्षेत्र जसोतसो ब्यूतिने प्रयासमा संघर्षरत रहँदै गर्दा प्याराग्लाइडिङ पनि गुमनाम भएपछि पर्यटन क्षेत्रमा झनै मार थपिएको भण्डारीले बताए। ‘कोरोना संक्रमणले गर्दा पर्यटन क्षेत्र सुस्ताएको थियो। संक्रमण कमजोर भएसँगै जसोतसो पर्यटन क्षेत्रले गति लिने प्रयास गर्दैगर्दा प्याराग्लाइडिङ गुमनाम हुनुपर्दा अझै घाटा भयो,’ उनले भने।  

पोखरामा प्याराग्लाइडिङलाई जन्माएको ठाउँ सराङकोटबाट मान्द्रेढुंगा सरेको असर ब्यावसायमा मात्र सीमित रहेन, लगानी गरेका कम्पनि र पाइलटले समेत काम पाएनन। त्यो बेला ६१ वटा कम्पनि रहेकोमा व्यावसायमा सक्रिय कम्पनिको संख्या पनि खु्म्चिँदै जाँदा बीचमा ३५ वटामा झरेको भण्डारी बताउँछन। त्यसैगरि पाइलटको संख्या पनि घट्दै २ सय ३० मा झरेको थियो। ‘प्याराग्लाइडिङ क्षेत्र यतिसारो ओझेलमा पर्यो की हामी व्यावसाय चलाउने की बन्द गर्ने भन्नेमा पुग्यौ। धेरै व्यावसायीले हातै उठाउने अवस्था आइपरेको थियो,’ उनले भने।

पर्यटन क्षेत्र ओझेलमा परेपछि व्यावसायीले नेपालको हवाई सेवाको एकमात्र नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) गुहारेर ‘टेकअफ’ क्षेत्रलाई सराङकोट र मान्द्रेढुंगा बीचमा रहेको तोरीपानीबाट उडान गर्न मिल्ने गरि बाटो खुलाइदिन आग्रह गरे। व्यावसायीको आग्रहलाई प्राधिकरणले पनि सुनिदियो, त्यसपछि मान्द्रेढुंगाको टेकअफ स्पटलाई डेढवर्ष अघि तोरीपानी सारिदियो। तोरीपानी सारेपछि व्यावसायीले केही राहत महसुस गरेका थिए।  

‘तोरीपानी सारेपछि त पाइलट पनि काममा फर्किए। उडान गर्ने पर्यटकको संख्या पनि बढ्यो। सुस्ताएका कम्पनि पनि जागे। कम्पनि र पाइलट काममा फर्किए,’ उनले भने, ‘जेनतेन अहिलेसम्म धानेका छौं। कहिले मूल्य घटाएर त कहिले एकद्वार प्रणालि लागु गरेर प्याराग्लाइडिङ टिकाएका छौ। विमानस्थलका कारण व्यावसाय नै नरहने अवस्था देखेपछि व्यावसायी तर्सिएका थिए । पाइलट पनि बिस्थापित भएका थिए।’ तोरीपानीबाट उडान सुरु भएपछि केही कम्पनि ‘कमब्याक’ भए भने पाइलट पनि काममा फर्किएको उनले बताए।  

अहिले यो व्यावसायमा ५४ वटा कम्पनिले उडान संचालन गर्छन भने २ सय ६० जना पाइलटले काम पाईरहेका छन। ‘पाइलट र व्यवासाय टिकाउन ठूलो संघर्ष नै गर्नुपरेको हो। ६१ बाट ३५ मा झरेको कम्पनिको संख्यालाई उकास्दै ५४ मा पुर्याउन सकेका छौ। ३ सय ८९ जना पाइलटबाट २ सय ३० मा झरेको पाइलटको संख्या पनि अहिले बढाएर २ सय ६० मा उकासेका छौ,’ पूर्व अध्यक्ष भण्डारीले भने।

भण्डारीका अनुसार सराङकोटबाट मान्द्रेढुंगा सरेको व्यावसाय तोरीपानी नफर्किउन्जेलसम्म व्यावसायी निकै नै आत्तिएका थिए। ‘अन्तर्राष्ट्रिय विमानस्थलका कारण पोखराको आकाशमा प्याराग्लाइडिङ उडान नै सम्भव छैन भन्ने भाष्य बनाईयो,’ उनले भने, ‘त्यसपछि व्यावसायी निकै नै आत्तिए। त्यत्ति मात्र होइन, आम्दानी नहुँदा व्यावसायीको ओठमुख सुकेको थियो। व्यावसाय डुब्ने पक्का जस्तै भएको भन्दै व्यावसायीले हातै उठाएका थिए।’

सराङकोटमा रहँदा दिनमा ५ सय भन्दा बढी पाहुना उड्ने गर्दा पर्याप्त कमाई गर्न पाएका पाइलट मान्द्रेढुंगा सरेसँगै दिनमा मुस्किलले एकसयजना उड्न थालेपछि पाइलटलाई कामै नपुगेको उनले बताए। ‘पाँचसयको हाराहारीमा भईरहेका उडान एकाएक मुस्किलले एकसयजना झरेपछि त सबैतिर सुनसान भयो। गाडीमा इन्धन हाल्ने कमाई समेत हुनछाड्यो। त्यसपछि पाइलट पनि बिस्थापित भए,’ भण्डारी भन्छन, ‘तोरीपानी नसारेको भए त अहिलेसम्म प्याराग्लाइडिङ शुन्यमा झरिसकेको हुन्थ्यो।’  

नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसी अब तोरीपानीबाट उडान र खपौदीमा अवतरण गर्न मिल्नेगरि नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएकोले प्याराग्लाइडिङ व्यावसाय केही ब्यूतिनेमा आशावादी रहेको बताउँछन्। ‘प्याराग्लाइडिङ पोखराको पहिचान हो। साहसिक पर्यटकले रुचाएको प्रडक्ट हो। तर, बीचमा सुस्ताएको थियो। अब अवतरणस्थल फेरिएको छ। यसले राम्रो हुनेमा आशावादी छौ। तोरीपानीबाट पनि सराङकोटमा सार्न सकेको खण्डमा यसले बल्ल पूर्णता पाउनेछ,’ केसीले भने, ‘प्याराग्लाइङिङमा उडान गर्न कुनैबेला पालो कुर्नुपर्ने अवस्था थियो। अहिले त्यो अवस्था रहेन। सराङकोटबाटै टेकअफ गराउन पाउने हो भने यसले पुरानै गति लिनेछ। त्यसमा पनि पहल भईरहेको छ।’

प्रकाशित: ८ जेष्ठ २०८२ १६:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App