अढाईवर्ष अघि पोखराको प्याराग्लाइडिङको ‘टेकअफ’ (उडानस्थल) र ‘ल्याण्डिङ’ (अवतरणस्थल) क्षेत्र सराङकोटबाट सारेर झन्डै पाँचकिलोमिटर पश्चिमको मान्द्रेढुंगा लगियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्यसको हवाई उडानमा जोखिम बढ्ने भन्दै प्याराग्लाइडिङको उडानस्थल सराङकोटबाट मान्द्रेढुंगा सारिएको थियो भने अवतरणस्थल पनि खपौंदीबाट पामेखोलाको पारिपट्टि सरेको थियो।
सराङकोटको आकाशमा दिनहुँ चरा उडे झैं रंगीचंगी स्वरुपमा देखिने प्याराग्लाइडिङ उडान मान्द्रेढुंगा सरेसँगै गुमनाम बन्यो। यतिसम्मकी अवतरणस्थल पनि फेवातालको सिरानक्षेत्रको माथिल्लो क्षेत्रमा सरेको थियो। अरुबेला फेवातालमा डुंगा सयर गर्दा सराङकोटको प्याराग्लाइडिङ देख्दा लोभिने पर्यटक मान्द्रेढुंगा सरेसँगै सराङकोटको आकाश रित्तिएको थियो। सराङकोटबाट उड्न पाउँदा दिनहुँ सयौं पर्यटक उड्ने प्याराग्लाइडिङ मान्द्रेढुंगा सरेपछि पर्यटन क्षेत्र निराश त भयो नै कतिपय प्याराग्लाइडिङ व्यावसायी समेत सुस्ताए। किनकी मान्द्रेढुंगाबाट उड्न चाहने पर्यटक कम भएपछि पाइलट समेत बेरोजगार बने। त्यसको असरस्वरुप केही कम्पनि पनि बिलाए। अझ सोलो (एकल) उडान त अहिलेसम्म बन्द नै छ।
यसबीचमा सस्तोमा भएपछि उडाएर आम्दानी गर्न सकिने आशमा व्यावसायीले प्याराग्लाइडिङ गरेको शुल्क समेत कटौती गरेका थिए। सस्तोमा उड्न पाउँदा पर्यटक त केही थपिए, तर, त्यो मुल्यमा खर्च धान्न व्यावसायीलाई नै धौधौ भयो। पर्यटकलाई टेकअफका लागि लैजाँदा र ल्याण्डिङ क्षेत्रबाट बोकेर लेकसाइडसम्म ल्याउँदा ढुवानीमै व्यावसायीले ठुलो लागत बेहोर्नुपरेको गुनासो गर्दै आएका थिए। कोरोना भाइरस संक्रमणले थला परेको पर्यटन क्षेत्रमा पाहुनाको लोभलाग्दो पर्यटकीय प्रडक्ट प्याराग्लाइडिङ समेत ओझेलमा परेपछि पर्यटन क्षेत्र झनै बढी चिन्तित बनेको थियो।
त्यही तर्कका आधारमा व्यवसायीले प्याराग्लाइडिङको उडान र अवतरणस्थल पुरानै ठाउँमा फर्काइदिन बारम्बार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) गुहारेका थिए। बारम्बारको प्रयापछि प्राधिकरणले अघिल्लो वर्ष मान्द्रेढुंगाको टेकअफलाई तोरीपानीमा सारिदिएको तियो। ल्याण्डिङ क्षेत्र भने पामेमै थियो। तर विहीबारदेखि भने पोखराको प्याराग्लाइडिङलाई केही नयाँ स्वरुपमा उडान गर्न प्राधिकरणले अनुमति दिएको छ।
नेपाल हवाई खेलकुद संस्था (ना)को बारम्बारको पहलमा झण्डै दुई वर्षपछि प्याराग्लाइडिङको ल्याण्डिङ क्षेत्र फेरिएर पहिले झन नजिक आएको छ। टेकअफ पुरानै ठाउँ तोरीपानीमै रहेको छ। अबदेखि प्याराग्लाइडिङ तोरीपानीबाट उडेर खपौदीमा अवतरण गर्ने संस्थाले बताएको छ।
अवतरणस्थल नजिकिएसँगै अबदेखि पोखराको आकाशमा नाङ्गो आँखाले प्याराग्लाइडिङ उडान गर्दै गर्दै गरेको दृश्य देखिने व्यावसायीको भनाई छ। यसले पर्यटनलाई पहिलेकै आकारमा फर्काउन सघाउने उनीहरुको विश्वास छ। अवतरणस्थल नजिक सरेसँगै फेवातालको माथिल्लो क्षेत्रमा तालको पानीमाथिको आकाशमा प्याराग्लाइडिङ गर्न सकिने व्यावसायीले बताएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमती दिएसँगै तोरीपानीबाट उडान र खपौंदीमा अवतरण गर्न शुरु गरिएको नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष अनिल केसीले जानकारी दिए। उनले भने, ‘हामीले अबदेखि तोरीपानीबाट उडेर खपौदीमा अवतरण गर्न सकिन्छ। यसले पोखरा र फेवातालमाथिको आकाशमा पर्यटकलाई फन्को लगाउन मिल्छ,’ उनले भने।
उनका अनुसार प्याराग्लाइडिङ गर्ने समय पनि पहिलेभन्दा डेढघण्टा थपिएको छ। यसअघि विहान ११ बजेदेखि ३ बजेसम्म मात्र उडान भर्न पाइएको थियो भने अब डेढघण्टा थपेर विहान ११ बजेदेखि दिउँसो साढे ४ बजेसम्म उडान गर्न पाईने भएको छ।
अवतरण पुरानो ठाउँमा फर्किएसँगै प्याराग्लाइडिङ व्यवसायी केही उत्साहित भएका छन्। पोखराको आकाशमा प्याराग्लाइडिङ उडेको देखिने भएकाले व्यवसाय पनि पुरानै लयमा फर्किने उनीहरुको विश्वास छ।
‘अब फेवातालमा डुंगा सयर गर्दागदै पर्यटकले प्याराग्लाइडिङ ल्याण्ड गरेको देख्न पाउनेछन,’ उनले भने, ‘यसले पाहुनालाई आकर्षण गर्ने विश्वास छ।’
नयाँ ठाउँमा अवतरणस्थल सरेपछि जानकारी दिन आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुरानै ठाउँमा अवतरणस्थल फर्किएसँगै पोखराको पर्यटनपनि पुरानै लयमा फर्किन सघाउने बताए। ‘प्याराग्लाइडिङ पर्यटकको प्रमुख आकर्षणको रुपमा रहेको छ। प्याराग्लाईडिङ पोखराको प्रमुख प्रोडक्ट हो,’ उनले भने, ‘व्यवसाय पनि पुरानै लयमा फर्किनु हो भन्ने मलाई लाग्छ।’ उनले यसलाई पुर्नजागृत गर्दै पर्यटकलाई आकर्षित गर्नका लागि पोखरा भ्रमण वर्षको सन्दर्भ पारेर अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता आयोजना गर्ने तयारी भएको पनि उनले बताए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका हवाई ट्राफिक नियन्त्रण प्रमुख योगेन्द्र कुंवरले पोखराको पर्यटनको दीगो विकासका लागि क्यानसँगको सहकार्यमा पुरानै तोरीपानीबाट उडान र अवतरण गर्ने अनुमति दिईएको बताए। सुरक्षाका दृष्टिकोणले जोखिम हुनसक्नेतर्फ सचेत रहन आग्रह गर्दै उनले भने,‘यसलाई दीगो बनाउन व्यवसायी र पाईलटले प्याराग्लाइडिङको उडानलाई सुरक्षित बनाउन भने सचेत हुनुपर्छ।’
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले नयाँ अवतरणस्थल भएपछि व्यवसाय पनि पुरानै लयमा फर्किने विश्वास व्यक्त गरे। तर, अझैपनि सोलो उडानमा निषेध भइरहेको प्रति भने उनले आपत्ति जनाए। पोखरा भ्रमण बर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले पोखराको पर्यटनको प्रमुख आधार प्याराग्लाइडिङ भएको बताए। त्यसैले यसलाई निर्वाध सञ्चालन गर्ने वातावरण बनाईराख्नुपर्नेमा जोड दिए।
नेपाल पर्यटन वोर्डका पुर्व सदस्य वासुदेव त्रिपाठीले प्याराग्लाइडिङ पोखराको प्रमुख प्रडक्ट भएको बताए। हिमाल, ताल र मनोरम दृश्य प्याराग्लाइडिङबाट देखिने भएकाले यसमा पर्यटक रमाउने उनको भनाई थियो।
प्रकाशित: ८ जेष्ठ २०८२ १४:५४ बिहीबार





