१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

सुर्खेत विमानस्थल धावनमार्गमा चर्किएको भागभित्र पानीको पोखरी

अझै दुई दिन सुर्खेत विमानस्थल पूर्ण रुपमा बन्द रहने

रन–वे मर्मत गर्दा जमिनमुनि पानीको पोखरी फेला परेपछि सुर्खेत विमानस्थल अझै दुई दिन बन्द हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले दुई दिनभित्र रन–वेको ०.२ तर्फको भाग मर्मत सुरु गरेको थियो । यसका लागि मंगलबार र बुधबारका लागि विमानस्थल बन्द गरिएको थियो ।

तर, मर्मतका क्रममा चर्किएको भाग उत्खनन गर्दा रन–वेको मुनि पानीको पोखरी फेला परेपछि मर्मतको काम दुई दिन थपिएको नागरिक उड्डयन प्राधिकरण सुर्खेतले जनाएको छ ।

‘दुई दिनभित्र निर्माण सम्पन्न गर्ने गरेर काम सुरु गरेका थियौँ,’ सुर्खेत विमानस्थल प्रमुख हिराजन काफ्लेले भने, ‘धावन मार्गको चर्किएको भाग निकाल्दा भित्र पानी जमेको फेला परेपछि थप दुई दिन मर्मत काम लागि विमानस्थल बन्द गर्ने निर्णय गरेका छौँ ।’

विमानस्थल प्रमुख काफ्लेका अनुसार धावन मार्गको ०.२ तर्फ पटक–पटक चर्किन थालेपछि त्यसको दीर्घकालीन समाधान खोज्नका लागि मर्मतको काम थालिएको थियो । तर, रन–वेभित्रै पानीको खाडल देखिएपछि मर्मतमा केही समय लाग्ने देखियो ।’ उनले धावनमार्गको भित्रपट्टी कहाँबाट पानी जम्यो भन्ने यकिन नभएको बताए ।

उत्तरतर्फको विमान घुमाउने ठाउँ नजिक पटक–पटक जमिन भासिने र चर्किने गरेको छ । ‘पहिले बिहान चर्किएको ठाउँ टालेर दिउँसो विमानस्थल सञ्चालन गर्ने पनि गरिएको थियो,’ विमानस्थलका एक कर्मचारीले भने, ‘यसो गर्दा जोखिम झन बढ्ने अवस्था देखिएपछि पूर्ण मर्मतको काम थालिएको हो ।’ उत्तरतर्फको धावनमार्गमा जमिन भासिने र चर्किने समस्याले विमानको सेड्युल सार्नुपर्ने अवस्था  यसअघि पनि आएको थियो । 

प्रकाशित: ८ जेष्ठ २०८२ १२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App