काठमाडौंको मध्यभागबाट बग्ने टुकुचा खोला सफा गरी सफा पानी बागमतीमा पठाउने महत्त्वाकांक्षी योजना पूरा गर्न सरकारले तीन वर्षअघि पासाभान्त कालिका एसएनएट जोइन्ट भेन्चर कम्पनीसँग सम्झौता गरेको थियो। सम्झौता अनुसार २०८२ जेठ २२ गतेभित्र सबै काम पूरा भइसक्नुपर्ने थियो। टुकुचामा सफा पानी बग्नुपर्ने थियो, तर ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण अहिलेसम्म यस योजनाको समग्र प्रगति १५ प्रतिशत मात्र छ। पासाभन्त जर्मनी र कालिका नेपाली कम्पनी हो।
ठेकेदार कम्पनीले भने सुरुमै सरकारबाट पेस्कीबापत २२ करोड ३५ लाख ३० हजार भुक्तानी लिइसकेको छ। अहिले डिजाइन र भवन निर्माण गर्न पायल गाड्ने काम मात्र भएको छ। यस योजनामा ढिलासुस्ती भएकोमा महालेखा परीक्षकको ६२ औं वार्षिक प्रतिवेदनमा गम्भीरताको साथ उठाइएको छ।
सहरी विकास मन्त्रालय मातहतको अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले उक्त ठेकेदार कम्पनीसँग २०७९ जेठ २३ गते तीन अर्ब १८ करोड ४५ लाख ८२ हजार रूपैयाँमा सम्झौता गरेको थियो। सो कम्पनीसँग बागमतीले २०८२ जेठ २२ गतेसम्म टुकुचाखोला ढल प्रशोधन गर्न निर्माण, डिजाइन, निर्माण र सञ्चालन गर्ने गरी सम्झौता गरिएको थियो। सम्झौता अनुसार पाँच वर्षको सञ्चालन र मर्मत अवधिपछि समितिलाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख गरिएको छ।
बागमती विकास समितिका सदस्यसचिव नारायण भण्डारीले टुकुचा ढल प्रशोधन केन्द्रको काम समयमा पूरा नभएपछि म्याद थपका लागि एसियाली विकास बैंक (एडिबी) लाई चिठी पठाएको बताए।
उक्त योजना पूरा गर्न ८० प्रतिशत एडिबीको ऋण सहायता तथा २० प्रतिशत सरकारले लगानी गर्दैछ। ८० प्रतिशत एडिबीको ऋण सहायता भएकाले म्याद सहमतिका लागि एडिबीसँग सहमति लिनुपर्ने हुन्छ। एडिबीले सहमति दिनेबित्तिकै म्याद थप हुने भण्डारीले जनाए।
उनका अनुसार पानी सफा गर्ने मेसिन जर्मनीबाटै आउनुपर्छ। तर मेसिन अझै आएको छैन। कालिकाले भवन निर्माणतर्फ र जर्मनी कम्पनीले प्राविधिकतर्फ काम गर्ने सहमति गरिएको थियो। भवन निर्माणतर्फ भने अहिले केही न्यून काम भएको छ।
‘डिजाइनमा केही समय लाग्यो, रुख कटानमा समस्या भयो, ललितपुर महानगरपालिका–१ बाट अवरोध तथा ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण यही जेठ २२ गते सम्पन्न हुनुपर्ने योजना समयमा सम्पन्न भएको छैन,’ भण्डारीले भने, ‘यस योजनाको विषयमा हामी गम्भीर भएका छौं। अब म्याद थप हुने करिब करिब निश्चित छ।’
टुकुचा सफा गरी पठाइएको पानी दायाँतर्फ पठाउने र प्रशोधनपछि जम्मा भएको लेदो बागमतीको बायाँतर्फ पठाउने सम्झौता निर्माण कम्पनीसँग गरिएको थियो। टुकुचा सफाइपछि प्रत्येक दिन एक ट्रक लेदो निस्कने अनुमान गरिएको छ।
लेदो बागमतीको बायाँतर्फ पठाइ त्यहाँबाट निस्केको फोहोर (लेदो) ट्रकबाट ल्यान्डफिल साइटमा पठाउने सम्झौता भएको बागमती विकास समितिका सूचना अधिकारी उद्धव नेपालले बताए। बागमतीको बायाँतर्फ लेदो पठाउने भनी गरिएको सम्झौताप्रति नै आपत्ति जनाउँदै ललितपुर महानगरपालिका–१ का अध्यक्षले अवरोध गरेको विकास समितिका एक कर्मचारीले बताए। उनका अनुसार वडाध्यक्षको अवरोधका कारण पनि केही ढिलासुस्ती भएको हो।
टुकुचा खोलाको पानी सफा गरी बागमतीमा पठाउने गरेमा त्यसबाट बागमती सफा गर्न र बागमतीलाई शुद्धता गर्न सहयोग पुग्ने विकास समितिका कर्मचारीहरूको भनाइ छ। सम्झौताअनुसार टुकुचा खोला ढल प्रशोधन केन्द्रको क्षमता एक सय ७० लाख प्रतिसेकेन्ड पानी सफा गर्न सक्छ। यसबाट सुक्खा याममा समेत टुकुचा खोला सफा हुने र दुर्गन्ध नआउने विकास समितिका कर्मचारीहरूको भनाइ छ।
यस आयोजनाको नेपाली कन्सल्टेन्सी इआरएमसी हो। इआरएमीका प्रमुख उद्धव चौलागाईंले समयमा योजना सम्पन्न गर्न कम्पनीले हरेक महिनाजसो निर्माण कम्पनीलाई चिठी पठाएर ध्यानाकर्षण पठाएको बताए। समयमा निर्माण पूरा नहुनुमा कन्सल्टेन्सीको भूमिका नहुने उनको भनाइ छ।
काठमाडौंको टुडाल मन्दिरबाट टुकुचा खोला प्रारम्भ भई यसको अन्य बागमती दोभानमा हुने गरेको छ। यो काठमाडौंको मुख्य मुख्य ठाउँ भएर बग्ने गरेको छ। यसमा जम्मा भएको फोहोर पानी प्रशोधन नहुँदा टुकुचा खोला खासगरी सुक्खा याममा निकै दुर्गन्धित हुने गरेको छ। यसबाट सास्ती पाउन टुकुचा ढल प्रशोधन केन्द्रको योजना ल्याइएको हो।
प्रकाशित: ८ जेष्ठ २०८२ ०८:२९ बिहीबार