६ महिनासम्म बन्द भएपछि दुई सातादेखि सुचारु भएको पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेका थप ३० कर्मचारीले तलब पाएका छन्। उद्योग बन्द भएपछि गत पुस महिनायता तलबभत्ता नपाएका कर्मचारीहरूले तेस्रो दिनसहित ८० जनाले तलब पाएका छन्।
उद्योगका लेखा अधिकृत उद्यव घिमिरेले आइतबार थप ३० कर्मचारीलाई तलब निकासा दिइएको बताए। गत मङ्गलबारदेखि क्लिङ्कर पिसेर सिमेन्ट बिक्री गर्न थालेको उद्योगले बिक्री वापत आएको रकमबाट बिहीबारदेखि कर्मचारीलाई तलब दिन थालेको थियो। बिहीबार पहिलो दिन २६ जनालाई र शुक्रबार दोस्रो दिन २४ जनाले तलब पाएका थिए।
बिहीबार २६ जनालाई ९ लाख ५५ हजार निकासा गरिएको र शुक्रबार २४ जनाका लागि ९ लाख २३ हजार गरी दुई दिनमा १८ लाख ७८ लाख निकासा दिएको बताउँदै लेखा अधिकृत घिमिरेले आइतबार तेस्रो दिन ३० जनाको तलबवापत ११ लाख ५० हजार निकासा गएको बताए। घिमिरेका अनुसार सिमेन्ट बिक्री भएर जम्मा हुने रकम कर्मचारीलाई एक महिना बराबरको तलब निकासा दिने व्यवस्थापनको निर्णय छ।
उद्योग सुचारु भएपछि तेस्रो दिनसम्म उद्योगका ८० कर्मचारीले पुस महिनाको तलबभत्ता पाइसकेका छन्। अब १ सय ४० कर्मचारीले तलब पाउन बाँकी रहेको घमिरेले बताएका छन्। सिमेन्ट बिक्री भइरहेकाले यो साताभित्र सबै कर्मचारीलाई पुस महिनाको तलब खुवाइसक्ने लक्ष्य लिइएको उनले बताए। ‘अब १ सय ४० जना कर्मचारीलाई तलब दिन बाँकी छ,’ उनले भने, ‘सिमेन्ट बिक्री हुँदै जान्छ, तलब निकासा दिइँदै जाने हो। यो साताभित्र सबैले पाइसक्लान् भन्ने लाग्छ।’ आजका दिनसम्म उद्योगमा २ सय १३ जना कर्मचारी कार्यरत छन्।
वर्षदिन यता पटकपटक रोकिँदै सुचारु हुँदै आएको उद्योग विगत ६ महिनादेखि पूर्ण रूपमा बन्द भएको थियो। उद्योगका मेसिन उपकरण बिग्रेको तथा कोइला, डिजललगायत कच्चा पदार्थ अभाव देखाउँदै चल्न नसक्ने भनेर बन्द उद्योग पार्टपुर्जा मर्मतपछि वैशाख दोस्रो सातादेखि सुचारु गरिएको थियो। १२ दिन पुग्ने कच्चा पदार्थको जोहो गरेर सुचारु गरिएको उद्योगबाट पटकपटकको विद्युत अवरुद्धका बाबजुद दुई साता चल्दा ४ हजार ८ सय मेट्रिक टन क्लिङ्कर अर्थात ९० हजार बोरा सिमेन्ट उत्पादन भएको छ।
उद्योगका निमित्त महाप्रबन्धक महेश साहले १५ दिन उद्योग सुचारु गर्दा उत्पादित सिमेन्ट बिक्री गर्दै कर्मचारीलाई तलब खुवाउन थालेको बताए। उनका अनुसार एकैचोटी सबै कर्मचारीलाई तलब दिन अपुग भएकाले अङ्ग्रेजी वर्णानुक्रम अनुसार निकासा दिइँदै आएको छ।
जिएम साहले उद्योग सुचारु गर्न बजेट अभाव भएपछि उद्योगको पुँजीगत बजेटबाट ५ करोड आन्तरिक ऋण लिइएको छ। उद्योग चल्नै नसक्ने गरी यन्त्र उपकरण बिग्रेपछि मर्मत सम्भारका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकारले ०८० चैतमा १६ करोड रकम अनुदान सहयोग गरेको थियो। मर्मत गरेर बाँकी ११ करोडमध्ये ५ करोड आन्तरिक ऋण लिएर कच्चा पदार्थ जोहो गरी उद्योग सुचारु गर्दा ७ करोड बढीको सिमेन्ट दुई सातामै उत्पादन भएर कर्मचारीलाई ५ महिनापछि तलब खुवाउन पाएको साहले बताए।
तर, दुई साता सुचारु भएपछि कच्चा पदार्थ सकिएकाले सातादिन यता उद्योग बन्द भइसकेको छ। उत्पादित सिमेन्ट बेचेर कर्मचारीलाई एक महिनाको तलब खुवाएर बचेको रकमबाट कोइला खरिद गरेर पुन: उद्योग सुचारु गर्न खोजे पनि भुक्तानी पाउन बाँकी सप्लायर्सको उजुरीका कारण अदालतले उद्योगका बैंक खाताहरू रोक्का गरेकाले समस्या भइरहेको साह बताउँछन्। कोइलाको भुक्तानी पाउन बाँकी पायोनियर होल्डिङको उजुरीका आधारमा जिल्ला अदालत ललितपुरले उद्योगका बैंक खाताहरू रोक्का गर्दै १५ दिनभित्र भुक्तानी दिन गत वैशाख २ गतेको पत्रानुसार आदेश दिएको थियो।
जिएम साहका अनुसार पायोनियर होल्डिङलाई उद्योगले विभिन्न मितिमा कोइला आपूर्ति गरेवापत ११ करोड बढी रकम भुक्तानी गर्न बाँकी छ। तर, उद्योगसँग हाल चालु पुँजी नभएको र सरकारले दिएको बजेट यन्त्र उपकरण मर्मत गर्ने प्रयोजनमा मात्र खर्च गर्न मिल्ने भएकाले उद्योग सुचारु गरेपछि मात्र भुक्तानी दिने भन्दै थाती राखेको हो। तर, अदालतको आदेशले यसअघि पनि अर्को सप्लायर्स रौतामाइ सर्भिसले १ करोड भुक्तानी पाइसकेको साहले बताए।
पायोनियर होल्डिङले ९ करोड ९२ लाख ७७ हजार रुपैयाँ बराबरको ४ हजार मेट्रिकटन कोइला उद्योगलाई आपूर्ति गर्न ०८० साउन ९ गते टेन्डर सकार गरेकोमा भुक्तानी पाउन बाँकी छ। १५ दिनभित्र अदालतले तोकेको ललितपुर लेखा नियन्त्रकको कार्यालयको खातामा रकम जम्मा गर्न दिएको आदेश अनुसार भुक्तानी गर्न नसक्दा उद्योगका खाताहरू बन्द भएका हुन्। बन्द खाताहरूमध्ये लक्ष्मी सनराइज बैंकको एउटा खाता काठमाडौं जिल्ला अदालतको सहकार्यमा सुचारु गरेर कर्मचारीलाई तलब खुवाइएको साहले बताएका छन्।
प्रकाशित: ५ जेष्ठ २०८२ ०९:४२ सोमबार





