२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
अर्थ

कृषि विकास कार्यक्रममा रकम थप गर्न कोशी सरकारको ध्यानाकर्षण

कृषि ज्ञान केन्द्र ताप्लेजुङलाई प्राप्त हुने कृषि विकास कार्यक्रमको रकम ज्यादै न्यून भएको भन्दै रकम थपका लागि सरोकारवालाले कोशी सरकारको ध्यानाकर्षण गरेका छन् । 

कृषि ज्ञान केन्द्र ताप्लेजुङले चालु वर्षको वार्षिक प्रगति तथा आगामी आर्थिक वर्षको प्रस्तावित बजेटका बारेमा सरोकारवालाको सुझाव ग्रहण गर्न आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममार्फत सरोकारवालाले कोशी सरकारको ध्यानाकर्षण गरेका हुन् । 

कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख,खाद्य अनुसन्धान अधिकृत(आठौं)बिमला पोखरेलका अनुसार आगामी आर्थिक वर्षका लागि कृषि विकास कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्र ताप्लेजुङलाई ६० लाख रुपैयाँ प्राप्त हुनेगरी प्रस्ताव गरिएको छ । यसबाहेक संघीय सर्शत अनुदान कार्यक्रम अन्तर्गत प्रत्येक पालिकामा १० देखि २० लाख रुपैयाँसम्मको कार्यक्रम आउन सक्ने देखिएको पोखरेलले जानकारी दिईन् । 

९ स्थानीय तह र ६१ वटा वडा रहेको ताप्लेजुङ जिल्लाभर सञ्चालन हुने कृषि विकासको रकम न्यून भएको रहेको भन्दै स्थानीय तहका प्रमुखहरुले रकम थपका लागि कोशी प्रदेश सरकारले रकम पुर्नविचार गर्नुपर्नेमा जोड दिएपनि कृषक अगुवाहरुले न्यून रकमबाट कृषि क्षेत्रको प्रवर्द्धन सम्भव नहुने धारणा राखे । 

जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले समग्र जिल्लाको कृषि प्रवद्र्धनका लागि बजेटको सीमा बढाउनुपर्नेमा सालिन्दा घट्नु दुर्भाग्यपूर्ण भएको बताए । मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङगामले रकम न्यून भएको बिषयमा आफुले कोशी सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामलाई जानकारी गराउने बताए ।‘पारिवारिक नाता र एउटै गाउँको हिसावले पनि यो बिषयमा मन्त्री ज्यूसंग म आफु पनि कुरा गर्छु’पालिका अध्यक्ष हाङगामले भने । 

पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले सिङ्गो जिल्लाको कृषि क्षेत्रको प्रवद्र्धनका लागि सरकारबाट प्राप्त हुने रकम पालिका भन्दा कम रहेको बताए । पाथीभरा याङवरक गाउँपालिकाका कृषि शाखा प्रमुख निकेश भट्टराईका अनुसार वित्तीय समानीकरण तथा सर्शत अनुदानसहितका कार्यक्रम हिसाव गर्दा कृषिक्षेत्रतर्फ उक्त पालिकामा १ करोड हाराहारी बजेट रहेको छ ।

मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले रकम कम भएपनि जति कार्यक्रम बनाइन्छ,त्यो रकमले जिल्लाभरका सबै स्थानीय तहमा कार्यक्रम पुग्नेगरी बनाइनुपर्ने सुझाए ।

फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले कृषि प्रधान देशमै कृषि क्षेत्रको बजेट ज्यादै साँघुरो बनाइदैं लैजानु दुःखद् पक्ष रहेको बताईन् । रकम कम भएको बिषयमा ध्यानाकर्षण गराउने तथा प्राप्त भएको रकम प्रस्तावलाई आधार मानेर पालिका स्तरमा माटो र हावापानी सुहाउँदो कृषि कार्यक्रम सञ्चालन गर्न प्रस्ताव गरिएको छ । 

कृषि ज्ञान केन्द्रका अनुसार प्रत्येक पालिकाबाट बढीमा तीन–तीनवटा सम्भावित कृषि कार्यक्रम प्रस्ताव गरिएको छ ।

कृषक अगुवा कृष्णकुमार बस्नेतले सर्शत अनुदानका कार्यक्रम कृषक र पालिकाको कृषि शाखाको सिफारिसका आधारमा आवश्यकता र औचित्यका आधारमा सञ्चालन गर्नुपर्ने बताए । 

अर्का कृषक राधाकृष्ण बरालले मल र जललाई प्राथमिकता दिने,बजारीकरणलाई टेवा पुग्ने र उत्पादनको समर्थन मूल्य अनिवार्य तोक्नुपर्ने सहितका कार्यक्रम अघि बढाउन सुझाए । 

कृषक अगुवा भीम गुरुङले माटो परीक्षण पछि मात्र खेति लगाउने तथा खेतिमा समेत जैविक मललाई प्राथमिकता दिने कार्यक्रम अघि सार्नुपर्ने बताए । 

कृषक अगुवा भगिमान सुनुवारले कृषिजन्य उत्पादन खरिद कृषि एम्बुलेन्समार्फत सहुलियतपूर्ण बजारमा लैजाने कार्यक्रम समेत जरुरी भएको बताए । 

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत(सातौं) शशीकुमार सिंहका अनुसार ज्ञान केन्द्रले सोमवार पालिकाको कृषि शाखाका प्रमुख तथा प्राविधिकसंग पालिका क्षेत्रको कृषि प्रगति तथा सम्भावित प्रस्ताव गर्न लायक कार्यक्रमका बारेमा छलफल गर्नेछ ।  

प्रकाशित: ४ जेष्ठ २०८२ १९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App