१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

भारत–पाकिस्तान तनावको प्रभावः होटलको बुकिङ रद्द

एकमहिनाको बुकिङ प्रभावित भएको छः व्यावसायी

पोखराको चल्तीको एउटा रिसोर्टका ७८ वटा कोठा बुकिङ गरेका भारतीय पर्यटकका तीनवटा समूहले तत्काल नेपाल आउन नसक्ने जनाउ दिँदै बुकिङ रद्द गरे। पाहुनाले गरेको अग्रिम बुकिङ रद्द गरेपछि रिसोर्टले नोक्सानी खेप्नुपर्यो।  

रिसोर्ट संचालका अनुसार पोखरा घुम्न आउन थालेका ती पाहुना रोकिनुमा भारत–पाकिस्तानबीचको पछिल्लो तनाव मुख्य कारण हो। ‘यतिबेला तनाव केही कम भयो। तर केहीदिन अघिसम्मको तनावले पोखराको पर्यटन क्षेत्रमा समेत असर परेको छ। तीनवटा समूहका पाहुना आउने तयारीमा थिए। ती समूहले सबैगरि दुइ–दुइ रात गरेर ७८ वटा कोठा बुकिङ गरेका थिए। तर, अन्तिम समयमा आउन नसक्ने भन्दै रद्द गरे,’ संचालकले भने।  

ती संचालकका अनुसार भारत–पाकिस्तानबीचको तनावका कारण महंगो रकम खर्चेर आउने भारतीय पाहुना अहिले पनि हच्केका छन्। ‘आफैले भाँडाकुँडा ल्याएर पकाएर खाने खालका पाहुनालाई खासै असर परेको छैन। तर, महंगो रकम खर्चेर होटलमा बस्ने पाहुना भने रोकिएका छन,’ उनले भने, ‘सस्ता पाहुनाको आउजाउ खासै प्रभावित भएको छैन, जो आफैले पकाएर खाना खान्छन, बन्दोबस्तीका सामान आफै लिएर आउँछन्। तर, होटलकै सेवा लिने महंगा पाहुना भने प्रभावित भएका छन्।’

उनका अनुसार पाहुना रोकिनुमा हिडडुलको त्रास हो। ‘नेपालमा समस्या होईन, तर, भारतीयहरु भोलि के पो हुने हो भनेर तर्सेका छन्। अहिलेका लागि केही शान्त देखिएपनि असर कम भएको छैन, पाहुना हिडडुलमा डराएका छन,’ उनले भने। होटलका कोठा बुकिङ गरेका पाहुना नआउँदा त्यसको असर सर्वत्र पर्यटनमा पर्ने उनले बताए।

‘अहिले आउन सकेनौ, पछि आउँछौ भनेका त छन। तर, पछि आउने भन्ने कुराको कुनै सुनिश्चितता छैन। किनकी नआउन पनि सक्छन,’ उनले भने।

उनका अनुसार पोखरामा सीमा क्षेत्रबाट आउने पाहुनालाई त खासै प्रभाव परेको छैन। तर, हवाई मार्ग हुँदै आउने महंगा पर्यटक बढी प्रभावित भएका छन। ‘देशमा द्वन्द्व चल्दै गर्दा पाहुना हिडडुल गर्न चाहेनन्। घुमघाम नसकिँदै फर्किनुपर्ने अवस्था आउने भनेर उनीहरु त्रसित थिए,’ उनले भने।  

टेम्पल बेल बुकिङ रिसोर्टका म्यानेजर गुप्त गिरीका अनुसार विभिन्न मुलुकले भारत–पाकिस्तानबीचको तनावलाई लिएर पर्यटकका लागि ट्राभल एडभाइजरी जारी गर्दा पाहुना प्रभावित भएका छन्। ‘दक्षिण एशियामै यात्रा गर्न समस्या छ भनेर विभिन्न मुलुकले भन्न थालेका छन् । भारत–पाकिस्तानबीच मात्र तनाव हो। तर, पुरै दक्षिण एशिलायी मुलुकभर युद्ध भएजस्तो गरि प्रचार भएको छ,’ गिरीले भने। उनका अनुसार भारत र पाकिस्तानबीचको तनावले गर्दा विभिन्न मुलुकले नेपाल आउने आफ्ना नागरिकलाई सचेत गराईरहेका छन्।

केहीदिन अघि काठमाडौंस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकलाई नेपाल र भारतको सीमा क्षेत्रमा समेत नजान भनेको थियो। भारत र पाकिस्तानबीच तनाव बढेकोले भूलवश पनि भारतीय सीमानाभित्र प्रवेश नगर्न चीनले आफ्ना नागरिकलाई आग्रह गरेको थियो। ‘नेपालमा त समस्या केही होईन। तर, विभिन्न मुलुकले आफ्ना नागरिकका लागि जारि गरेको यात्रा एडभाइजरीले पर्यटन प्रभावित हुने गरेको छ। तत्कालका लागि तनाव अन्त्य भएजस्तो देखिएपनि संचारमाध्यममा समाचार आईरहेकोले अहिले पनि यात्रामा निस्कन पर्यटक डराएका छन,’ गिरीले भने।  

भारतीय पर्यटकलाई नेपाल घुमाउँदै आएका अर्का पर्यटन व्यावसायी राजेश पहारी पनि भारत–पाकिस्तानका कारण नेपालके पर्यटनमा प्रभाव परेको बताउँछन्। उनका अनुसार एकमहिनासम्मको बुकिङमा दुई मुलुकबीचको तनावले असर परेको छ।

‘यो महिनाभरका लागि बुकिङ प्रभावित भएको छ। कतिपय बुकिङ रद्द भएको छ। तनाव छोटो समयमै रोकिएकोले अझ बढी प्रभावित हुन पाएन,’ उनले भने, ‘तनाव नरोकिएको भए त अझै समस्या पर्दथ्यो।’

पहारीका अनुसार यो बेला पोखरामा भारतको महाराष्ट्रका पाहुना बढी भित्रिन्छन। ती पाहुना अन्यत्रको तुलनामा बढी खर्चिला हुन्छन। ‘नेपालमा मात्र नभई भारतमै पनि आन्तरिक पर्यटन प्रभावित भएको छ। पाहुना घुमघामका लागि निस्कन सकेनन। किनकी कतिपय विमानस्थलको उडान रोकिए,’ उनले भने, ‘व्यक्तिगत रुपमा आउने पाहुना प्रभावित भएका छन। नेपालमा भारतीय पाहुना भित्रिने सुरुवाती समय भएकोले अझै पर्याप्त बुकिङ आइसकेको थिएन। तर, आएको केही त रद्द नै भयो। तर, अबपनि निश्चित छैंन। त्यसैले भारतीय पाहुना ढुक्क भएर घुमघामका निस्कन सक्ने अवस्था छैन।’  

उनका अनुसार भारतीय पाहुना आउने सिजन भर्खर सुरु भएको मात्र थियो। त्यसैले आउन चाहेका पाहुना पनि अन्योलमा परेका छन। उनका अनुसार नेपाल आफैले पर्यटकको सुरक्षाको सुनिश्चितता नगर्ने भएकोले पनि पर्यटक अन्योलमा पर्ने गरेका छन। यो तनाव अहिलेका लागि अन्त भएपनि स्थायी हुने वा नहुने भन्ने अन्योल रहेकोले गर्दा पनि पर्यटक आउजाउमा प्रभाव पार्ने उनले बताए।  

अर्का पर्यटन व्यावसायी बच्चुराम तिवारी पनि छोटो समयमै भारत र पाकिस्तानबीचको तनाव रोकिएकोले प्रभाव कम परेको बताउँछन। उनका अनुसार यो बेला भारतीय पाहुनाको समय हो। ‘कतिपयमा पर्यटन व्यावसायीलाई यो तनावले असर पारिसकेको पनि हुनसक्छ। किनकी पाहुनाले बुकिङ रद्द गरेका हुनसक्छन,’ तिवारीले भने, ‘प्रभाव नै नपरेको भन्न त मिल्दैन, धेरै र थोरै भन्ने मात्र हो।’ पोखरामा स्थलमार्गबाट भारतीय पाहना आउने र छोटो समयमै तनाव रोकिएकोले बढी प्रभाव पार्न नपाएको उनले बताए।  

दुई क्षेत्रीय मुलुकबीचको यो द्वन्द्वलाई तेश्रो मुलुकका पर्यटकले फरक तरिकाले नियाल्ने हुँदा असर पर्ने गण्डकी होटल संघका अध्यक्ष हरि शर्मा बताउँछन। ‘पुरै दक्षिण एशियामा अशान्त छ भन्ने सन्देश फैलिन सक्छ। केही मुलुकले त नेपालको घुमघाममा पनि ख्याल गर्नु भनिसकेका छन। भारतको छिमेकी मुलुक भएकोले पनि नेपाललाई यो अशान्तले प्रभावित पार्छ,’ शर्माले भने, ‘छोटो समयमै तनाव रोकिएको भएपनि पर्यटकहरु यात्रामा निस्कन हच्केका छन। संचारमाध्यमबाट दिनहुँ समाचार आईरहँदा पर्यटकीय गतिविधि प्रभावित भएको छ।’  

प्रकाशित: २९ वैशाख २०८२ १६:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App