१ असार २०८२ आइतबार
image/svg+xml
अर्थ

पर्यटन बोर्ड सदस्यमा पोखराको दावी

<br>

पर्यटन बोर्डको रिक्त कार्यकारी सदस्यमा पोखराको प्रतिनिधित्व सुनिश्चित गर्न पोखरा पर्यटन परिषद् (पिटिसी)ले आग्रह गरेको छ। पर्यटन व्यावसायीका एकदर्जन संस्थाको पनि छाता संस्थाको रुपमा रहेको परिषद्ले पोखरा पर्यटनको राजधानी बनेको र पर्यटन क्षेत्रमा लगानीको आकार पनि ठुलो रहेकोले पोखराले कार्यकारी सदस्यमा दावी गरेको बताएको छ।  

पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलाई पत्र पठाउँदै परिषद्ले भनेको छ, ‘यतिबेला पोखरा भ्रमण वर्ष २०२५ चलिरहेको छ। यो बेलालाई पोखरालाई अभिभावकको खाँचो छ। पोखराको पर्यटन व्यावसायको विकास र प्रवद्र्धन जरुरी छ, त्यसैले पोखराले बोर्डमा प्रतिनिधित्व गर्न पाउनुपर्छ।’ अहिले पोखराबाट बोर्डमा कसैको पनि प्रतिनिधित्व नरहेको अवस्थामा कार्यकारी सदस्यमा पोखराले प्राथमिकता पाउनुपर्ने परिषद्ले बताएको छ।  

परिषद्का अध्यक्ष तारानाथ पहारीले भनेका छन, ‘पोखराको पर्यटन क्षेत्रमा ६ खर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। पोखराको पर्यटन क्षेत्रमा प्रत्यक्ष लगानी गरि पर्यटन व्यावसाय संचालन गरिरहेका व्यावसायीमध्येबाट पोखराको प्रतिनिधित्व सुनिश्चित हुनपर्छ। पोखराले बोर्डमा प्रतिनिधित्व पाउन सके पर्यटन राजधानीको विकासमा महत्वपूर्ण योगदान पुग्नेछ।’

पोखराका केही व्यावसायीले अहिले बोर्डको कार्यकारी सदस्य बन्नका लागि आन्तरिक रुपमा भेटघाट गरिरहेका छन। बोर्डमा अहिले कार्यकारी सदस्यका लागि दुईजनाको पद रिक्त रहेको छ। गत फागुनदेखि रिक्त रहेको उक्त पदमा नियुक्त गर्नका लागि व्यावसायीले आन्तरिक पहल गरिरहेका छन। ‘पर्यटन बोर्डको सदस्य बन्न सकेमा पोखराको प्रवद्र्धनमा सहज हुन्छ। पोखराले हरेक काममा दावा गर्न सक्छ। पोखराको पर्यटन क्षेत्रको विकासका लागि पोखराले बोर्डमा प्रतिनिधित्व गर्न पाउनुपर्छ,’ सदस्य बन्न इच्छुक मध्येका एकजनाले भने, ‘पर्यटनमा ठुलो आकारको लगानी पनि रहेकोले लगानी जोगाउनका लागि पनि सदस्य आवश्यक पर्छ।’ 

प्रकाशित: २९ वैशाख २०८२ १५:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App