१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

शालग्राम महोत्सव : धार्मिक पर्यटनको विकासमा जोड

रुरु क्षेत्रको धार्मिक तथा सांस्कृतिक विकासका लागि लुम्बिनी प्रदेश सरकारले तयार गरेको ‘रुरु धार्मिक तथा पर्यटकीय क्षेत्रको गुरुयोजना, २०७६’ कार्यान्वयनका निम्ति तीनै तहका सरकारले समन्वय र सहकार्य गर्ने घोषण गरेका छन्।

पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गम स्थल रुरु क्षेत्रको गुरुयोजना कार्यान्वयन तथा समग्र रुरु धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा तीनै तहका सरकार लाग्नुपर्नेमा समेत जोड दिइएको छ।

लुम्बिनी प्रदेश सरकारको सहयोग, तानसेन नगरपालिका पाल्पाको मुख्य आयोजना, रुरु क्षेत्र गाउँपालिका गुल्मी तथा कालीगण्डकी गाउँपालिका स्याङ्जा र हृषिकेश मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा आयोजना गरिएको प्रथम शालग्राम महोत्सवले रुरु क्षेत्रबाट पाल्पाको रामपुरसम्मको कालीगण्डकी नदी प्रवाह स्थललाई उत्तर बाहिनी गण्डकी क्षेत्रका रूपमा पहिचान गरी धार्मिक पर्यटनको विकास गर्न जोड दिएको छ।

कालीगण्डकी नदी र शालग्रामको धार्मिक महिमा र महत्वलाई प्रवर्द्धन गर्न दामोदर कुण्डबाट त्रिवेणीसम्मको धार्मिक परिक्रमा मार्ग गर्नुपर्ने साथै आदिप्रयाग हरिहर क्षेत्र (देवघाट)मा स्नान गरी हृषिकेश भगवानको दर्शन गरी ऋणमुक्तपश्चात् मुक्तिनाथको दर्शन गरी मुक्ति प्राप्त हुने धार्मिक मान्यताको पुनःजागरण गर्ने कुरामा महोत्सवले जोड दिएको छ।

ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको हृषिकेश मन्दिर र त्यस वरपरका क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्न सम्बन्धित पक्षसँग परामर्श र समन्वय गर्ने, धार्मिक तथा सांस्कृतिक, पौराणिक, ऐतिहासिक रूपमा बृहत्तर रुरु क्षेत्रको विकासका लागि पाल्पा, गुल्मी र स्याङ्जाका स्थानीय तह तथा गण्डकी र लुम्बिनी प्रदेशले पर्यटकीय साँझा गन्तव्य स्थलका रूपमा संरक्षण र प्रवर्द्धन गर्ने घोषणा गरिएको छ।

यस्तै महोत्सवले समग्र रुरु क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि निजी क्षेत्र, सङ्घसंस्था, गैरअवासीय नेपाली समुदाय, परोपकारी व्यक्तिहरूको साथ र सहयोग प्राप्तिका लागि अनुरोध गर्ने पनि घोषणा गरिएको छ। नेपालको चार धाममध्येको एक धाम रुरु क्षेत्र धाम हृषिकेश मन्दिर परिसरमा शालग्राम दिवसका अवसरमा वैशाख २६ र २७ गते महोत्सव आयोजना गरिएको हो।

यस क्षेत्रमा जसले स्नान गरी तीन दिन यहाँ रही चतुरबाहु हृषिकेशको दर्शन गर्छन् त्यो व्यक्ति पवित्र हुने धार्मिक विश्वास रहिआएकाले यस स्थानमा माघे सङ्क्रान्तिमा तीन दिन मेला लाग्ने गर्छ। मेलाको पहिलो, दोस्रो र तेस्रो दिनलाई जेठी सङ्क्रान्ति, माइली सङ्क्रान्ति र कान्छी सङ्क्रान्ति भनिन्छ। जो व्यक्ति हिमालयदेखि बग्दै आएको शालग्राम स्नान गरेकी गण्डकी माताको जलले रुरु क्षेत्रमा स्नान गरी हृषिकेशको दर्शन गर्छ, सो व्यक्तिको पाप पखालिन्छ भन्ने धार्मिक मान्यता पनि रहेको छ। यस हृषिकेश परिसरलाई सन् २००८ मा युनेस्कोले सम्भावित विश्व सम्पदा क्षेत्र सूचीमा सामेल गरेको छ। रासस

प्रकाशित: २८ वैशाख २०८२ ०८:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App