राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्बौँको चलखेल भइरहेको दाबी गरेका छन्। शनिवार पूर्वी नवलपरासीमा सञ्चारकर्मी कुरा गर्दै उपसभापति वाग्लेले यस्तो बताएका हुन्।
‘नियमअनुसार हुने हो भने राष्ट्र बैंकमै कार्यरत अर्थविद् गुणाकर भट्ट भइसक्थे,’ वाग्लेले भने,‘उनी अत्यन्त क्षमतावान् र काबिल अर्थशास्त्री हुन्। उनलाई फालेर अर्थतन्त्रमा ज्ञान नै नभएकालाई गभर्नर नियुक्त गर्ने भन्ने कुरा आइसक्यो।’
गभर्नर नियुक्ति दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको हातमा नरहेको देखिएको पनि वाग्लेले बताए। उनले भने, ‘दुई ठुला दलले गभर्नर नियुक्ति गर्ने भए त भइसक्थ्यो । यहाँ त ती दल सञ्चालन गर्ने बिचौलियाले कसलाई नियुक्ति गर्ने भनेर हानथाप छ।’ बिचौलियाको इसारामा अक्षम गभर्नर ल्याएर वित्तीय अनुशासन ध्वस्त पार्न कांग्रेस र एमाले उद्यत देखिएको उनको आरोप छ।
प्रकाशित: २७ वैशाख २०८२ १७:१६ शनिबार