१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

भारत–पाकिस्तान तनावले पर्यटनमा चिन्ता

पर्यटकले यात्रा ‘होल्ड’ गर्ने मनस्थिति बनाइसकेः व्यावसायी

भारत–पाकिस्तानबीच पछिल्लो समय तनाव सिर्जना हुँदै गर्दा नेपालको पर्यटन क्षेत्र चिन्तित बनेको छ। दुईवटा दक्षिण एशियाली मुलुकबीचको तनावको प्रभाव नेपालको पर्यटन क्षेत्रमा समेत पर्ने उनीहरुको चिन्ता छ। गर्मि छल्नका लागि यो बेला पोखरामा पर्याप्त भारतीय पर्यटक भित्रिने हुँदा दुइ मुलुकबीचको तनावले भारतीय पर्यटकको आगमन प्रभावित हुनसक्ने उनीहरुको आँकलन छ।  

सीमा क्षेत्रबाट हुनसक्ने घुसपैठको बहानामा आउजाउमा कडाई हुनसक्ने अवस्थामा पर्यटक आगमन प्रभावित हुने त्रास बढेको व्यावसायी बताउँछन्। व्यावसायीका अनुसार भारतीय मात्र नभई भारत हुँदै भित्रिने तेश्रो मुलुकका पर्यटक पनि दुइ मुलुकबीचको तनावका कारण प्रभावित हुनसक्ने जोखिम बढेको छ। ‘युद्धले पर्यटनलाई राम्रो गर्दैन। जहाँसुकैको युद्धले पनि पर्यटन प्रभावित हुन्छ,’ पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटा भन्छन, ‘अझ अहिले त सार्कका दुइ सदस्य मुलुकबीचको यो द्वन्द्वले गर्दा समग्र दक्षिण एशिया नै अशान्त रहेको छ भन्ने सन्देश प्रवाह हुँदा पर्यटकीय गतिविधि पनि प्रभावित हुने त्रास बढेको छ।’

सापकोटाका अनुसार नेपालमा यो बेला भारतीय धार्मिक पर्यटक भित्रिने सिजन हो। धार्मिकसँगै भारतमा गर्मी हुने हुँदा गर्मी छल्नकै लागि भारतीय पाहुना पोखरा आउने गर्दथे। तर, भारत नै तनावमा रहँदा त्यहाँका पर्यटक यात्रामा नहिड्न सक्ने उनले बताए।

‘आफ्नै मुलुक द्वन्द्वमा रहँदा त्यसको प्रभाव स्वरुप भारतीय पाहुनाले यात्रा रोक्न सक्छन्। नेपालको यात्रामा समस्या छैन भनेर आउने पर्यटक पनि कतिपय हुनसक्छन। तर, समग्रमा सन्देश नकारात्मक बन्छ,’ उनले भने, ‘जो कोही पर्यटकका लागि पनि घुमघाम अनिवार्य नहुन सक्छ। तर, सुरक्षा महत्वपूर्ण हो।’  

दुइ मुलुकबीचको तनावका कारण अहिले नै भारत र पार्किस्तानको हवाई रुटमा समस्या निम्तेको अवस्थामा पर्यटन क्षेत्र स्वतः प्रभावित हुने सापकोटाको भनाई छ। ‘भारत हुँदै भित्रिने तेश्रो मुलुकका पर्यटक पनि दुइ मुलुकबीचको तनावदेखि तर्सिन सक्छन। भारतले विभिन्न सहरमा हवाइ उडान रोक्दै गर्दा पाहुनामा पनि त्रास फैलिन्छ,’ उनले भने, ‘विश्वभरमा जहाँ युद्ध भएपनि पर्यटनमा असर पर्छ। तर, क्षेत्रीय सदस्य नै आपसी द्वन्द्वमा फँसेपछि त समस्या भइहाल्छ।’

पर्यटन व्यावसायीका अनुसार पदयात्राको समय सकिएपछिको अबको समय भारतीयका लागि उपयुक्त हो। यो बेला पोखरामा केही सितल हुने हुँदा भारतीय पर्यटक गर्मी छल्ने बहानामा पोखरा आउँछन्। त्यसबाहेक मुक्तिनाथ दर्शन गर्नका लागि पनि यो बेला भारतीय धार्मिक पर्यटक भित्रिन्छन्। उनीहरुको आगमन पनि प्रभावित हुनसक्ने उनले बताए।

‘भारतको आन्तरिक एयर रुट प्रभावित बनिसकेको छ। त्यसको असर कनेक्टिङ उडानमा पर्न सक्छ। नेपालले सीमामा चेकजाँच बढाउँदै गर्दा झन्झट ठानेर पर्यटक यात्रामा ननिस्कन सक्छन,’ उनले भने। उनका अनुसार अबको समयमा नेपालमा पानी पर्ने भएकोले यो बेला गल्फ मुलुकका पर्यटक पनि आउँछन्। उनीहरुको यात्रा पनि प्रभावित हुनसक्ने उनले बताए। व्यावसायीका अनुसार अहिले सुरु भएको भारतीय पर्यटकको सिजन आगामि अगष्टसम्मै रहन्छ।

होटल संघ गण्डकीका अध्यक्ष हरि शर्मा पनि अबको समय भारतीय पाहुनाको भएकोले भारत–पाकिस्तान द्वन्द्वको बाछिटाले नेपालको पर्यटनलाई पनि छुने बताउँछन्।

‘नेपालमा अहिले पनि सबैभन्दा बढी पाहुना भारतबाटै भित्रिने हुन। पोखराले पनि भारतीय पाहुनाबाट ठूलो लाभ लिएको छ। स्थलमार्गबाट सहजै पोखरा भित्रिन सक्ने भएकोले भारतीय पाहुनाका कारण पोखराको पर्यटन क्षेत्रलाई सहज भएको छ,’ उनले भने, ‘तर, भारत–पाकिस्तानबीचको द्वन्द्वले भारतीय पाहुनाको आगमन प्रभावित हुँदा त्यसको मार पर्यटनमा पर्ने चिन्ता थपिएको छ।’

दुई क्षेत्रीय मुलुकबीचको यो द्वन्द्वलाई तेश्रो मुलुकका पर्यटकले फरक तरिकाले नियाल्ने उनले बताए। ‘पुरै दक्षिण एशियामा अशान्त छ भन्ने सन्देश फैलिन सक्छ। भारतको छिमेकी मुलुक भएकोले पनि नेपाललाई यो अशान्तले प्रभावित पार्छ। पर्यटकहरु यात्रामा नआउन सक्छन्।’ अहिलेको द्वन्द्वका कारण भारतीय पर्यटक बढी प्रभावित हुने उनले बताए।

‘भारतले विभिन्न रुटका हवाई उडान कटौती गरिसकेको छ। हवाई उडान प्रभावित हुँदा भारतकै पर्यटकीय सहरमा घुमघामका लागि आएका पर्यटक प्रभावित बनेका छन्। त्यसको असरले नेपाललाई पनि अवश्य छुनेछ,’ उनले भने, ‘यो बेला भारतीय पर्यटकको सिजन पर्ने भएकोले पर्यटन क्षेत्र भारतीय पर्यटकको पर्खाइमा थियो। तर स्वयं भारत नै द्वन्द्वमा फँसेकोले त्यहाँका नागरिकको घुमफिर प्रभावित हुनसक्ने देखिएको छ। यो नेपालको पर्यटनका लागि चिन्ताको विषय हो।’

पोखरामा हालैमात्र संचालनमा आएको टेम्पल बेल बुटिक रिसोर्टका म्यानेजर गुप्त गिरी पनि पर्यटन क्षेत्रका लागि भारत–पाकिस्तान द्वन्द्व चिन्ताको विषय रहेको बताउँछन्। ‘भारतीय पर्यटकले होटलको बुकिङलाई ‘होल्ड’ गर्न थालिसकेका छन। पर्यटन क्षेत्रका लागि यो राम्रो सन्देश होईन,’ गिरीले भने, ‘दुई मुलुकबीचको यो द्वन्द्व लम्बियो भने त नेपालको पर्यटनलाई साह्रै नै असर गर्छ। तत्कालै द्वन्द्व रोकियो भने खासै समस्या पर्दैन। तर, लम्बिन भएन।’  

नेपालको सुरक्षा अवस्था अलि फितलो हुँदा दुई मुलुकबीचको बेमेलले पर्यटकीय गतिविधिमा असर पर्न सक्ने उनको आँकलन छ। ‘असुरक्षा महसुस हुनसक्छ। पर्यटकहरु यात्रालाई होल्ड गर्ने मनस्थितिमा पुगिसकेका छन,’ गिरीले भने, ‘नेपालमा अबका केही महिना भारतीयको सिजन पनि हो। भारत–पाकिस्तानबीचको द्वन्द्वलाई कारण देखाएँदै नेपाल सरकारले स्थल र हवाई मार्गबाट हुने आउजाउमा कडाई गर्न सक्छ । त्यस्तो अवस्थामा पर्यटक स्वतः प्रभावित हुनेछ।’  

गिरीका अनुसार अहिले नै भारतीय हवाई कम्पनिले कतिपय आन्तरिक उडान कटौती गरिसकेका छन। पाकिस्तानको प्रभाव पर्न सक्ने विमानस्थलमा उडान रोकिनुले पर्यटन क्षेत्रमा राम्रो सन्देश नजाने हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित हुनसक्ने उनको भनाई छ। ‘भारतीय भूमि हुँदै आउजाउ गर्ने र स्वयं भारतीय पर्यटक यो द्वन्द्वका कारण बढी प्रभावित हुन्छन। नेपालमा भारतीय भूमि हुँदै भित्रिने तेश्रो मुलुकका पर्यटकको संख्या पर्याप्त हुन्छ। ती पर्यटकले पनि यात्रा रोक्न सक्छन,’ गिरीले भने।  

प्रकाशित: २५ वैशाख २०८२ १५:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App