उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेले पछिल्लो एक सातामा ५ करोड बढीको सिमेन्ट उत्पादन गर्न सफल भएको छ । डेढ साताअघि सुचारु भए पनि उद्योगले साता दिनमा ३ हजार ६ सय मेट्रिकटन क्लिङ्कर उत्पादन गर्दै ५ करोड ५० लाख बराबरको सिमेन्ट तयार गरेको हो ।
झण्डै ६ महिना बन्द रहेको उद्योगको मर्मत संभार गरी वैशाख १२ गते किल्न फाइरिङ गरिएको थियो । तर, २४ घण्टा नबित्दै दैनिक ६ घण्टासम्म लामो विद्युत अवरुद्ध भोग्न बाध्य भएपछि पटकपटक फाइरिङ गरिरहनु परेको निमित्त महाप्रवन्धक महेश साहले बताए । लगातार आधा घण्टाभन्दा बढी विद्युत अवरुद्ध भयो भने उद्योगका मेसिन उपकरण चल्न छाडेर फेरि फाईरिङ गर्नुपर्ने उनी बताउँछन् ।
फाइरिङ गरेको १२ दिन बिते पनि विद्युत अवरोधकै कारण ४ दिन भने उद्योग नचलेको साहले बताए । तर, दु:खसुख ७–८ दिन चल्दा ३ हजार ६ सय मेट्रिक टन क्लिङ्कर उत्पादन भईसकेको छ । त्यत्ति क्लिङ्करबाट ७० हजार २ सय बोरा सिमेन्ट तयार हुने साहले बताए । सो परिमाणको सिमेन्ट बेच्दा चालु बजार मूल्य अनुसार झण्डै साढे ५ करोड हाराहारी हुन आउने उनले बताए ।
स्थानीय बजारमा गैँडा सिमेन्टको मूल्य हाललाई प्रतिबोरा ७ सय ५० कायम गरिएको छ । अन्य निजी कम्पनीका सिमेन्टहरु भने बोराको ८ सय भन्दा बढीमा विक्री वितरण भईरहेको छ । तर, लामो समयदेखि विक्री बन्द भएकाले पुरानै मूल्यमा सिमेन्ट बेच्ने योजना उद्योगले बनाएको हो ।
पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्टबाट उत्पादित गैँडा छाप सिमेन्ट निजी कम्पनीका उत्पादनको दाँजोमा गुणस्तरीय भएकाले त्योभन्दा महँगोमा विक्री हुने गरेको थियो । तर, बिगत ६–७ महिनायता उद्योग बन्द भएकाले पुरानै मूल्यमा बेच्न लागेको उद्योगले जनाएको छ । निजी कम्पनीका सिमेन्टको तुलनामा गुणस्तरीय भएकाले गैँडा सिमेन्ट महँगोमा बिक्ने भए पनि हाललाई पुरानै मूल्यमा बेच्ने उद्योगले जनाएको छ । अहिलेसम्म उद्योग चलिरहेको र क्लिङ्कर उत्पादन कार्य जारी रहे पनि सिमेन्ट विक्री भने सुरु गरिएको छैन । क्लिङ्कर तयारी अवस्थामा भएकाले एकैचोटी विक्री गर्ने योजना बनाएको पनि साहले सुनाए ।
सुरुमा १२ दिन पुग्ने कच्चा पदार्थ (कोईला र डिजल) व्यवस्थापन गरेर फाईरिङ गरेको उद्योग लगातार चल्न नसक्दा थप ५ दिनसम्म पुग्ने अनुमान छ । पूर्ण क्षमतामा उद्योग चले १२ दिनसम्म पुग्ने कोईला मौज्दात रहेकोमा विद्युत अवरोधका कारण आधा मात्र क्षमतामा चलेकाले केहीदिन अझै कोईलाको खाँचो नहुने साहले बताए ।
उदयपुर सिमेन्टको उत्पादन क्षमता दैनिक (२४ घण्टामा) ८ सय मेट्रिक टन हो । तर, यन्त्र उपकरण पुराना, बिग्रे भत्केको र विद्युत अवरोध भईरहनाले यसपटक फाईरिङ गरेको पहिलो २४ घण्टामा २ सय ५० मेट्रिकटन उत्पादन भयो । दोस्रो र तेस्रो दिन विद्युत अवरोध भोग्नु परेको उद्योग चल्न सकेन । चौथो दिन ४ सय मेट्रिक टन उत्पादन भयो भने त्यसबाहेक सरदर २४ घण्टामा ३ सय ५० मेट्रिक टनका दरले उत्पादन हुँदै आएको छ ।
प्रकाशित: २५ वैशाख २०८२ १४:४९ बिहीबार





