९ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

फर्किएन चिनियाँ पर्यटन बजार

सन् २०२५ को चारमहिनाको आगमन अघिल्लो वर्षको यही अवधिमा भन्दा कमजोर

पोखरामा केही महिना अघि आयोजित एक्स्पोका चिनियाँ सहभागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट बाहिरिँदै। फाइल तस्बिरः नागरिक

नेपालमा सन् २०२४ मा ११ लाख ४७ हजार ५ सय ६७ जना विदेशी पर्यटक भित्रिँदा चिनियाँ पाहुनाको संख्या १ लाख १ हजार ८ सय ७९ (करिब नौ प्रतिशत) थियो। यसअघि सन् २०१९ मा नेपालमा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिँदा त्योवर्ष नेपाल भित्रिने चिनियाँको संख्या १४ प्रतिशत (१ लाख ६९ हजार ५ सय ४३) थियो।  

नेपालको पर्यटन क्षेत्रले चिनियाँ पर्यटनबाट धेरै नै अपेक्षा गर्दै आएको छ। त्यही अनुसार बजारीकरणमा पनि जोड दिँदै आएको छ। तर, कोरोना भाइरस संक्रमण सुरु भएपछि चिनियाँ पाहुनाको आगमन बढी नै प्रभावित भएको थियो। कोरोना त्रासले ओरालो लागेको चिनियाँको आगमन उकासिने क्रममा सन् २०२४ मा बल्लतल्ल ९ प्रतिशतमा उक्लेको थियो। चिनियाँ पर्यटनबाट धेरै नै अपेक्षा गरिरहेको तर, त्यो अनुसार पाुहना नपाएको नेपालको पर्यटन क्षेत्रमा सन् २०२५ लाई चीनले ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरिदिएपछि केही आशा पलाएको थियो। तर, पर्यटन व्यावासायीले आशा गरे अनुरुप चिनियाँ पर्यटक भित्रिन सकेका छैनन्।  

चीनले सन् २०२५ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउँदै गर्दा नेपाल भित्रिने चिनियाँ पाहुनाको संख्या अघिल्लो वर्ष भन्दा पनि कमजोर रहेको तथ्यांकले देखाएको छ। पर्यटन बोर्डका अनुसार नेपालमा सन् २०१९ को सुरुका चारमहिना (जनवरी–अप्रिल)मा नेपाल भित्रिएका चिनियाँ पर्यटकको संख्या ५९ हजार ४ सय ३७ थियो। तर, कोरोनाका कारण २०१९ पछिका हरेक वर्ष आगमन खस्किएको थियो। जसोतसो पर्यटन क्षेत्र ब्यूतिँदै जाने क्रममा २०२४ को सुरुवाती चारमहिना (जनवरी–अप्रिल) मा नेपालमा ३८ हजार २ सय ९० जना चिनियाँ पाहुना भित्रिएका थिए।  

सन् २०२५ को सुरुको चारमहिनाको आगमन त अघिल्लो वर्षको भन्दा पनि कमजोर देखिएको बोर्डले बताएको छ। २०२५ को जनवरी–अप्रिलसम्म नेपालमा जम्मा ३६ हजार ९ सय ५४ जना मात्र चिनियाँ पाहुना भित्रिएका छन्। 

‘पोहोर भन्दा पनि योवर्ष चिनियाँ पाहुनाको आगमन कमजोर देखिएको छ। चीनले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष मनाउँदै गर्दा विभिन्न गतिविधि भएका छन। तर, पर्यटक आगमन भने खस्कँदो छ,’ पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने भन्छन, ‘चीनमा नेपाल भ्रमण वर्ष मनाउँदै गर्दा पर्यटन क्षेत्र हौसिएको थियो। तर, अहिले सोचेजस्तो पाहुना नआउँदा व्यावसाय क्षेत्र खुसी छैन। अघिल्लो वर्षको चारमहिना अवधिमा भन्दा पनि यो वर्षको त्यही अवधिमा कम पाहुना आए । हाम्रो अपेक्षा यो होईन।’

चीनले नेपाल भ्रमण मनाउँदै गर्दा पोखरामा विभिन्न पर्यटकीय गतिविधि भएका थिए। ती गतिविधिले चिनियाँ पर्यटकलाई पोखरासम्म ल्याउने आधार तय भएको थियो। त्यसबाहेक चिनियाँ पर्यटकलाई सहजै पोखरा ओराल्ने गरि पोखराबाट चीनको छेन्दु र ल्हासासम्म चार्टर र सेड्यूल उडान पनि सुरु भएका थिए। ती उडानले चिनियाँ पर्यटकलाई सिधै पोखरा ओराल्ने योजना अनुरुप चिनियाँ बजारमा प्रवद्र्धनात्मक गतिविधि पनि गरिएका थिए। तरपनि चिनियाँ पाहुानाको आगमन उत्साहजनक हुन नसकेको लामिछानेले बताए।  

‘पोखराबाट छेन्दु र ल्हासा उडान सुरु हुँदै गर्दा पर्यटन क्षेत्र निकै नै उत्साही बनेको थियो। पर्यटक भित्रिने माहोल पनि बनेको थियो। तरपनि ती उडानमा सोचेजति चिनियाँ पाहुना आएनन,’ उनले भने, ‘चीनमा बजारीकरण नभएको भन्न मिल्दैन। तर, चिनियाँ पाहुना नेपाल फर्किन सकेनन्।’ 

चैत पहिलो साताबाट सुरु भएको चार्टन उडानबाट गरेको अपेक्षा पनि नमिलेको उनले बताए। पोखरा–छेन्दु तीनवटा र छेन्दु–पोखरा १० वटा उडानको बुक भएको र ती उडान निरन्तर हुने भनिएपनि अपेक्षाकृत पाहुना नभित्रिएको लामिछानेले बताए।  

पोखरा–छेन्दु चार्टर उडान सुरु गर्दा पोखरामा १० वटा उडानमार्फत कम्तिमा १२ सय चिनियाँ पाहुना भित्रिने भनेर पर्यटन क्षेत्रले बताएको पनि थियो। ‘नेपालका दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल (पोखरा र काठमाडौं) सँग चिनियाँ सहरको सिधा हवाई सञ्जाल बिस्तार हुँदा समेत सोचेजति चिनियाँ पाहुना नेपाल आएनन,’ लामिछानेले भने, ‘चिनियाँका लागि बजारीकरणको अभाव होईन। चिनियाँ पाहुना तान्नेगरि कार्यक्रम भएका हुन । तरपनि पाहुना भित्रिएनन्।’

लामिछानेको अनुमानमा पर्याप्त चिनियाँ पाहुना भित्रिन नसक्नुमा कोभिडपछिको आर्थिक मन्दी मुख्य कारण हो। ‘चिनियाँ अर्थतन्त्र कमजोर भएकैले पाहुना घुम्न निस्कन नसकेको हाम्रो अनुमान हो। चिनियाँ पाहुनाको घुम्न जाने पुरानो ट्रेन्ड अहिले घटेको छ। नेपालमा मात्र नभई अन्य मुलुकमा पनि चिनियाँको उपस्थिति कोरोना अघिको जस्तो छैन,’ लामिछानेले भने, ‘चिनियाँहरु पहिलेजस्तो ठुलो आकारमा घुम्न निस्किएनन। त्यसको असर नेपालमा पनि राम्रैसँग परेको हो। नत्र पोखरासँग सिधा हवाई सञ्जाल बिस्तार हुँदा पनि सोचेको आकारमा चिनियाँको आगमन भएको छैन।’

पोखराले चिनियाँ बजारसँग अपेक्षा गरे अनुसार पाहुना भित्रिन नसकेको व्यावसायीको गुनासो छ। होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन, ‘कोरोनापछि चिनियाँको आगमन उकालो लाग्न सकेको थिएन। यो वर्ष पर्याप्त चिनियाँ पाहुना भित्रिने हाम्रो अपेक्षा हो। तर, त्यो अनुसार आएनन्। चिनियाँ पाहुना उकालो लाग्न नसक्दा पर्यटन क्षेत्र निराश छ।’ उनका अनुसार चिनियाँ पाहुना भित्रिन नसक्नुमा मुख्य कारण नेपालसम्मको महंगो हवाई भाडा हो। नेपालसम्म आउजाउको हवाई भाडाले चिनियाँ पर्यटक अन्य गन्तव्य घुमेर पनि फर्किन सक्ने अवस्था भएपछि चिनियाँ नेपाल आउन नचाहेको उनको भनाई छ।  

‘नेपालले आफ्नै वायुसेवा कम्पनिका जहाजबाट चिनियाँ बजारसम्म सस्तो प्याकेजमा उडान गर्न सकेको भए बल्ल चिनियाँ पाहुना भित्रिन्थे। विदेशी हवाई कम्पनिका भरमा पर्यटकको आश गर्नु उपयुक्त हुँदैन,’ उनले भने, ‘हाम्रो आफ्नो एयरलाइन्स नहुँदा चिनियाँ  बजारसम्म पहुँच पुगेन। त्यो नभएपछि पर्यटक भित्रिन सकेनन। नेपाल एयरलाइन्ले सस्तो प्याकेजमा पर्यटक ल्याउन सक्नेगरि उडान गर्ने हो भने पाहुना आउँछन।’ चीनले सन् २०२५ लाई नेपाल भ्रमण वर्ष भनेपनि त्यो अनुसार चिनियाँ पाहुनालाई ल्याउनका लागि कार्यक्रममा आकर्षण थप्न नसकेको उनले बताए। ‘पोखरा आएका चिनियाँको रोजाइमा प्याराग्लाइडिङ थियो। तर, त्यो पनि ओझेलमा छ। अब नयाँ गतिविधि गर्न सक्नुपर्छ, जसले पर्यटकलाई तान्न सकोस,’ उनले भने। 

प्रकाशित: २२ वैशाख २०८२ १५:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App