२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
अर्थ

पर्यटक आगमन: २०२० अप्रिलमा १४ जना, २०२५ अप्रिलमा १ लाख १६ हजार

नेपालमा सन् २०२० अप्रिलमा जम्मा १४ जना विदेशी पाहुना भित्रिएका थिए। कोरोना भाइरस संक्रमणका कारण सरकारले लकडाउन गर्दा २०२० अप्रिलमा विदेशी पाहुनाको आगमन दुई अङ्कमा झरेको थियो। सरकारी तथ्याङ्क अनुसार अहिलेसम्म नेपालमा विदेशी पाहुनाको आगमन संख्या त्यो (२०२० अप्रिल) नै सबै भन्दा कम हो।  

कोरोना भाइरस संक्रमणले २०२० को सुरुवातदेखि नै पर्यटन क्षेत्रमा असर देखिन थालेको थियो। त्यो असर २०२० मार्च अन्तिम साता सुरु भएको लकडाउनका कारण बढी नै पर्न थालेको थियो। संक्रमण फैलने त्रासले सरकारले लकडाउन सुरु गरेपछि २०२० अप्रिलमा विदेशी पाहुना आगमन ठप्प जस्तै बनेको थियो। दुई अङ्कको त्यो आगमन २०२० मे पछि बल्ल तीन अङ्कमा उक्लेको थियो 

पाँच वर्ष अघि दुई अङ्कमा खस्केको आगमनमा पर्याप्त सुधार हुँदै जाँदा २०२५ अप्रिलको तथ्याङ्कमा विदेशी पाहुनाको आगमनमा अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको पर्यटन बोर्डले बताएको छ। पाँच वर्ष अघि (२०२० अप्रिल) १४ जनामा खुम्चिएको आगमन सन् २०२५ अप्रिलमा आकासिँदै एक लाख १६ हजार ४ सय ९० पुगेको पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले बताए।

‘२०२० को अप्रिलमा जम्मा १४ जना विदेशी पाहुना नेपाल आएका थिए। तर, त्यो आगमन २०२५ को अप्रिलमा एक लाख १६ हजार ४ सय ९० पुगेको छ,’ लामिछानेले भने, ‘अप्रिल महिनाको मात्र आगमन रेकर्ड हेर्दा यो पटक सबैभन्दा पाहुना भित्रिएका छन्। अप्रिल महिनाको आगमनमा अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको छ।’  

नेपालमा सबैभन्दा बढी विदेशी पाहुना भित्रिएको वर्ष २०१९ मानेर हेर्दा पनि यो अप्रिलको आगमन बढी रहेको उनले बताए। उनका अनुसार २०१९ अप्रिलको आगमन रेकर्डलाई २०२४ अप्रिलको आगमनले पनि उछिनेको थियो। २०२४ अप्रिलको आगमनलाई पनि उछिन्दै सन् २०२५ अप्रिलमा झनै बढी पाहुना नेपाल भित्रिएका छन्।  

यो अप्रिल (सन् २०२५) मा नेपालमा सबैगरि एक लाख १६ हजार ४ सय ९० जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२४ अप्रिलमा नेपालमा एकलाख ११ हजार ३ सय ७६ जना विदेशी पाहुना भित्रिएका थिए।  

लामिछानेका अनुसार २०२४ अप्रिलको तुलनामा २०२५ अप्रिलमा ४.६ प्रतिशत बढी पाहुना भित्रिएका छन्। त्यस्तै २०१९ अप्रिलको तुलनामा यो पटक ६.५ प्रतिशत बढी पाहुना भित्रिएका छन्।  नेपालमा २०२४ अप्रिलमा १ लाख ११ हजार ३ सय ७६ जना विदेशी पाहुना भित्रिएका थिए। त्यो संख्या २०१९ अप्रिलमा १ लाख ९ हजार ३ सय ९९ थियो। २०२३ अप्रिलमा भने ९८ हजार ७ सय ७३ जना विदेशी पाहुना नेपाल आएका थिए।  

२०२२ अप्रिलमा ६१ हजार ५ सय ८९ जना पाहुना नेपाल आएका थिए। २०२१ अप्रिलमा भने जम्मा २२ हजार ७ सय ३२ जना पाहुना नेपाल भित्रिएका थिए। ‘२०१९ अप्रिलको आगमनको तुलनामा २०२५ अप्रिलको पर्यटक आगमनमा १०६.५ प्रतिशत सुधार भएको छ,’ उनले भने, ‘कोरोना सुरु हुँदाको अनुमान अनुसार नै यो पटकको आगमनमा पर्याप्त सुधार देखिएको हो।’  

लामिछानेका अनुसार अप्रिल महिनामा नेपालमा विदेशी पाहुना भित्रिने उत्कृष्ट १० मुलुकको दसौँ नम्बरमा इजरायल परेको छ। ‘इजरायलको आगमन सङ्ख्याले उत्कृष्ट १० मा स्थान बनाउन सक्नु पर्यटनका लागि खुसीको कुरा हो। किनभने द्वन्द्वमा फसेका कतिपय मुलुकका पर्यटकको आगमन द्वन्द्वकै कारण प्रभावित थियो। तर, अब भने द्वन्द्व प्रभावित मुलुकबाट पनि पाहुना आएको देखियो,’ उनले भने, ‘पर्याप्त बजारीकरण गर्ने हो भने आगमन अझै बढाउन सकिन्छ। बजारीकरण गरेको खण्डमा अन्य मुलुकमा सकारात्मक सन्देश प्रवाह गर्न सकिने हुँदा पाहुना आउनेछन्।’

तर, भारतीय र चिनियाँको आगमनमा भने अझै पनि उत्कृष्ट सुधार हुन नसकेको लामिछानेले बताए। ‘चिनियाँ बजार त निकै नै कमजोर भएको छ। कोभिड पछि चिनियाँ बजार बढ्न सकेको छैन,’ उनले भने, ‘अरु मुलुकको तुलनामा भारतीय पाहुनाको आगमन पहिलो नम्बरमा भएपनि यो उत्कृष्ट आगमन होईन। किनकि भारतीय पाहुना आगमनको जुन गति थियो, त्यो अझै तीव्र हुन सकेको छैन ।’ गत वर्षका घटनाक्रमपछि भारतीय पर्यटन बजार प्रभावित भएको उनले बताए।  

लामिछानेका अनुसार सन् २०२४ जुनसम्म भारतीय पाहुनाको आगमन गति निकै नै तीव्र रहेकोमा यो पटक सोचेजस्तो बजार लिन सकेको छैन। उनले भने, ‘अघिल्ला वर्षका घटनाक्रमका कारण भारतीय बजारले अझै पनि सोचे अनुसार बजार लिन सकेको छैन।’ युरोपियन बजार भने तीव्र रहेकोले नेपालको आगमनले हरेक महिना गति लिएको उनले बताए।

यो अप्रिलमा सबैभन्दा बढी भारतीय पाहुना नेपाल भित्रिएका छन्। अप्रिलमा २५ हजार ९ सय ३३ जना भारतीय पाहुना आएका छन्। त्यस्तै दोस्रो नम्बरमा रहेको अमेरिकी पाहुनाको संख्या १० हजार ५३ रहेको छ । तेस्रो नम्बरमा रहेको चिनियाँको आगमन ९ हजार ३७ पुगेको छ । चौथो नम्बरमा रहेको बेलायती पाहुनाको संख्या ६ हजार ७ सय ३८ रहेको छ।  

पाँचौ नम्बरमा रहेको बङ्गलादेशी पाहुनाको संख्या ५ हजार ३ सय ९८ रहेको बोर्डको भनाई छ। छैठौं नम्बरमा रहेको अष्ट्रेलियाका ५ हजार ३ सय १९ जना पाहुना आएका छन्। सातौं नम्बरमा रहेको जर्मनीका ३ हजार ८ सय ३९, आठौंमा रहेको फ्रान्सबा ३ हजार २ सय ६५, नवौंमा रहेको रसियाका ३ हजार ५१ र दसौँमा इजरायलबाट २ हजार ६ सय ९८ जना पाहुना नेपाल भित्रिएका छन्।  

पर्यटन व्यवसायी पनि यति बेला पोखराको पर्यटन मध्यम गतिमा रहेको बताउँछन्। विदेशी पाहुनाको आगमनप्रति उत्ति सारो खुसी हुन नसकेका व्यवसायी अहिलेको चहलपहलका कारण केही राहत मिलेको बताउँछन्। होटल बाराहीका महाप्रबन्धक राजकुमार केसी भन्छन्, ‘यति बेला पर्यटकीय सिजन पनि हो। त्यही अनुसार चहलपहल राम्रै छ। यो बेलाको आगमनबाट निराश भइहाल्ने अवस्था होईन,’ केसीले भने। 

प्रकाशित: २० वैशाख २०८२ १५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App