काठमाडौं महानगरपालिकाले आगामी जेठ ७ गतेदेखि टुँडिखेलमा ‘सिप मेला २०८२’ आयोजना गर्ने भएको छ। मेलामा २ हजार ८२ जनालाई सहभागी गराउने लक्ष्य रहेको महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले जानकारी दिएका छन्।
विश्व मजदुर दिवस २०८२ को अवसरमा आयोजना हुने मेलाले सुरक्षित, व्यवस्थित र दिगो श्रम बजारको पक्षमा जनचेतना फैलाउने उद्देश्य लिएको छ। प्रमुख शाहले सिपयुक्त जनशक्ति भए मात्र सुरक्षित रोजगारी सम्भव हुने, उत्पादनमा वृद्धि हुने र देशको समृद्धिमा योगदान पुग्ने बताए।
पाँच हजार युवालाई स्वरोजगार बनाउने लक्ष्य
आर्थिक वर्ष २०८०/८१ देखि सञ्चालनमा आएको ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रम अन्तर्गत मेलाको आयोजना गरिँदैछ।
१५ हजार युवालाई सिपमूलक तालिम प्रदान गरी कम्तीमा ५ हजार जनालाई रोजगारी वा स्वरोजगारमा जोड्ने लक्ष्य रहेको छ। सिप नजानेकालाई सिप सिकाउने र आधारभूत सिप भएकालाई स्तरोन्नति गराएर बजारसँग जोड्ने उद्देश्य राखिएको छ।
मेलाको पहिलो संस्करण २०८१ को श्रमिक दिवसमा सुरु भएको थियो। त्यसबेला ६८ हजार ८ सय ६६ जनाले आवेदन दिएका थिए। जसमध्ये २ हजार ५ सय ७५ जनाले तालिम प्राप्त गरेका थिए।
तीमध्ये धेरैजसो रोजगारमा आबद्ध छन् भने केही स्वरोजगारमा लागेका छन्। बाँकी रहेका व्यक्तिहरूलाई ‘अन द जब ट्रेनिङ’ प्रणालीमार्फत उद्योग तथा कम्पनीहरूसँग समन्वय गरी सीप प्रदान गरिँदैछ।
महानगरका अनुसार श्रम बजारमा सिपयुक्त जनशक्ति र आवश्यकता बीच ठूलो खाडल छ। यही कारण धेरै युवा वैदेशिक रोजगारीतर्फ आकर्षित हुने अवस्था रहेको छ। यस्तो प्रवृत्तिलाई रोक्न सिप मेला महत्वपूर्ण हुने महानगरको विश्वास छ। यसका लागि मेलासँगै नियमित तालिम पनि सञ्चालन भइरहेको छ।
महानगरले सिप नभएका जनशक्तिलाई औपचारिक अर्थतन्त्रमा ल्याउने, सिप भएकालाई रोजगार र स्वरोजगारमा जोड्ने, तथा रोजगारमा भए पनि सिप नभएकाहरूको स्तर वृद्धि गरेर आम्दानी बढाउने लक्ष्य लिएको छ। ‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोड्ने अभियानअन्तर्गत तालिमहरु सञ्चालन भइरहेका छन्।
यसपटक फारम भरेर अघिल्लो वर्ष तालिम नपाएका आवेदक, काठमाडौं महानगरभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने नागरिक, स्यानिटरी ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति, सडक वा ठेला व्यवसायमा संलग्न व्यक्तिहरूलाई प्राथमिकतामा राखिनेछ। तालिममा सबै नेपाली नागरिकले सहभागिता जनाउन पाउनेछन्।
वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईका अनुसार धुनिवेँसी नगरपालिका–१, ३, ४ र ककनी गाउँपालिका–१, २, ३ नम्बर वडाहरू ल्याण्डफिल साइटबाट प्रत्यक्ष प्रभावित क्षेत्र हुन्। यस वर्ष १० वटा विधामा आधारित ३० पेशासँग सम्बन्धित तालिम सञ्चालन हुनेछ। तालिमका विषय उद्योग, श्रम बजार र समाजको मागअनुसार तय गरिएको हो।
मेलाबाट रोजगारी, उद्यमशिलता र सामाजिक समावेशीतालाई सशक्त बनाउन महानगरले अपेक्षा गरेको छ।
प्रकाशित: १८ वैशाख २०८२ १९:१९ बिहीबार





