१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
अर्थ

हावाहुरीसहितको वर्षाले इँटा उद्योगमा क्षति

रौतहटको इँटा उद्योगमा क्षति भएको छ। वैशाख १४ गते आँधीहुरीसहित परेको पानीले इँटा उद्योगमा क्षति पुर्‍याएको हो। रौतहटका इँटा उद्योगमा करिब पाँच करोडको क्षति पुगेको अनुमान गरिएको छ।

जिल्लाको विभिन्न भागमा सञ्चालन भइरहेको ४० ओटा इँटा उद्योगमध्ये आधाभन्दा बढी उद्योगहरूमा क्षति पुगेको बताइएको छ। रौतहट इँटा उद्योग व्यवसायी संघका अध्यक्ष तथा एसपिएल इँटा उद्योगका सञ्चालक रामविनोद साहले रौतहटको इँटा उद्योगमा करोडौंको क्षति भएको जानकारी गराएका छन्।

रौतहटका विभिन्न इँटा उद्योगमा करिब ११ लाख काँचो इँटा नष्ट भएको छ। मजदुरले इँटा सुकाउँदासम्म उद्योगीलाई प्रतिइँटा करिब तीन रूपैया पर्न जाने हुन्छ। इँटा उद्योगमा अन्य क्षतिसमेत गरी करिब ४ करोड ४० लाख रूपैयाँ बराबरको क्षति भएको भएको अध्यक्ष साहले बताएका छन्।

अत्यधिक हावाहुरीले गर्दा इँटा उद्योगका केही छाप्राहरूलाई पनि उडाएको छ। हावाहुरीसँगै परेको ठुलो पानीले लाखौं इँटा गलेको छ। लाखौं इटा बिग्रिएको पनि छ। इँटामा वर्षाको पानीले दाग बनाएपछि इँटाको गुणस्तर नै कमजोर हुने र ग्राहकले मन नपराउने उद्योगीहरूको भनाइ छ। हावाहुरी र वर्षाले प्रभावित उद्योगहरूमा लाखौंको क्षति भएको उद्योगीहरूको भनाइ छ।

हावाहुरीले रौतहटको मध्यभागमा रुख र आँपबालीमा पनि निकै ठुलो क्षति पुर्‍याएको छ। सपेताका सयौं रुखहरू ढलेका छन्। हावाहुरीले भाँच्चिएर रुखहरू ढलेका हुन्। यसै गरी अत्यधिक ठुलो हावाहुरीले गर्दा आँपको चिचिलामा व्यापक क्षति भएको छ। धेरै मात्रामा आँपको चिचिला झरेपछि किसानलाई निकै धेरै घाटा भएको छ।

विगतका वर्षभन्दा यस वर्ष सुक्खा मौसमको कारणले आँप कम फल्ने आकलन गरिएको अवस्थामा हावाहुरीले झन् धेरै नोक्सानी गरेको पाइएको छ।

प्रकाशित: १८ वैशाख २०८२ १०:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App