९ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

चैतसम्म कटारीको पुँजीगत बजेट झण्डै आधा खर्च

चालु आर्थिक वर्ष सुरु भएको ९ महिना अवधिमा कटारी नगरपालिकाको पुँजीगत बजेट झण्डै आधा खर्च भएको छ । जिल्लाको अन्य स्थानीय तहको तुलनामा कटारीको पुँजीगत बजेट खर्च सन्तोषजनक छ ।

कटारीले साउनदेखि चैत मसान्तसम्मको पुँजीगत बजेट ४३.४२ प्रतिशत हिस्सा खर्च गरेको जनाएको छ । ५ महिनाअघि अर्थात मङ्सिर मसान्तसम्म १३.३३ प्रतिशतमा सीमित पुँजीगत बजेट खर्च त्यसयताको ४ महिनामा झण्डै दोब्बर बढीले खर्च गरेको छ । नेपाल सरकारको निर्देशन अनुसार सबै स्थानीय तहहरूले असारभित्रै आगामी वर्षको बजेट तथा नीति कार्यक्रम पारित गरिसक्नुपर्ने प्रावधान भए पनि आन्तरिक किचलोका कारण कटारीको नगर सभा तोकिएको मितिमा भएन ।

आन्तरिक विवादले समयमा नगर सभा गर्न नसकेको कटारीले साउन २७ गते मात्र ‘१३ औँ नगर सभा अधिवेशन’ सम्पन्न गर्दै चालु आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम पारित गरेको थियो । चालु वर्षका लागि सभाले पुँजीगततर्फm २२ करोड २ लाख ३१ हजार २ सय ६५ रुपैँया अनुमानित बजेट विनियोजन गरेको थियो । जसमध्ये हालसम्म ९ करोड ६१ लाख ८७ हजार ९ सय ८५ रुपैँया खर्च भएको लेखा अधिकृत परेतबहादुर बुढाले बताए ।

अधिकृत बुढाका अनुसार नगरले चालुतर्फको बजेट भने ६३.४२ प्रतिशत खर्च गरिसकेको छ । नगर सभाबाट विनियोजित ६४ करोड ७९ लाख ३३ हजार ५ सय ७८ रुपैँया चालु बजेटमध्ये चैत मसान्तसम्ममा ४१ करोड ९ लाख ७७ हजार ३ सय ८९ रुपैँया खर्चेको अधिकृत बुढाले बताए । ५ महिनाअघि अर्थात गत मङ्सिर मसान्तसम्म १८ करोड ३६ लाख ६८ हजार ४ सय ५८ रुपैँया अर्थात २८.२१ प्रतिशत हिस्सा चालु बजेट खर्च भएको थियो । त्यसयताको ४ महिने अवधिमा दोब्बर बढी खर्च भएको लेखा अधिकृत बुढाले बताए ।

पुँजीगतको तुलनामा चालु बजेट खर्च बढी नै हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाले बताए । उनका अनुसार चालु वर्षका लागि नगर सभाले पुँजीगत र चालु दुवैतर्फ गरी ८६ करोड ८१ लाख ६४ हजार ८ सय ४३ रुपैयाँको अनुमानित आयव्यय पारित गरेको थियो । जसमध्ये पुँजीगत बजेट खर्चको गति अलि कम भएको उनले बताए ।

पुँजीगत बजेट खर्च प्रतिशत कम देखिए पनि विकास निर्माणको काम भएकाले खास खर्च योभन्दा बढी नै भईसकेको भए पनि तथ्याङ्कमा भने नदेखिने हाकिम निरौला बताउँछन् । विकासे योजनाका कामहरू धमाधम भइरहेको र कतिपयको बीलभर्पाई भुक्तानी प्रक्रियामा रहेकाले देखिएको अङ्कभन्दा वास्तविक खर्च २०–३० प्रतिशत बढी भएको अनुमान हाकिम निरौलाको छ । 

पहाडी, खोँच र भित्री मधेसको भूभाग समेटिएको कटारी नगरपालिकाका १४ मध्ये धेरैजसो वडाहरू पहाडी भेगमा छन् । पहाडी भेगमा योजना सञ्चालन गर्न कच्चा पदार्थ ओसार पसार, निर्माण तथा अनुगमन गर्न भौगोलिक कठिनाइ हुँदा पनि योजना निर्माणमा ढिलासुस्ती हुने गरेको छ । नगरपालिकाले हरेक वडालाई न्यूनतम ७० लाखका दरले वडा सिलिङ तोकेर बजेट वितरण गरेको छ । 

नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले अन्य स्थानीय तहको दाँजोमा कटारीको पुँजीगत खर्च बढी नै भएको बताए । भौगोलिक कठिनाइ तथा गाउँघरमा स्थानीय कामदार जनशक्ति पर्याप्त नपाउने कारण पनि विकासे योजनाहरू सुस्त गतिमा काम हुने गरेको समस्या मेयर श्रेष्ठले सुनाए । सोँचेजसतो छिटो काम नभए पनि विकासे बजेट फ्रिज चाहिँ नहुने गरी काम गर्ने योजना मेयर श्रेष्ठले सुनाएका छन् । 

प्रकाशित: ८ वैशाख २०८२ १८:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App